खेत छ, खेती गरिन्छ, तर वर्ष दिन खान पुग्दैन। केही महिना आफ्नै खेतबाट उत्पादन भएको (धान, गहुँ, तोरी) खायो, बाँकी महिनाका लागि बेसायो (साहुबाट अन्न किन्नु)। यस्तै अवस्थाबाट हुर्किएका थिए, दाङ राप्ती गाउँपालिका–६ का प्रेमबहादुर चौधरी।
प्रेमबहादुरको विघा जमिन थियो। उनी माध्यमिक शिक्षा पढ्ने समयसम्म घरमा बुवाआमाले खेती गर्ने गरेपनि वर्ष दिन खान पुग्ने अवस्था थिएन।
उनी कोठा लिएर पढ्ने समयमा साहुबाट बेसाएर प्रेमलाई बुवाआमाले चामल पठाइन्थे। कक्षा १० सम्म पढेका उनले घरमा खानका लागि पनि बेसाउने अवस्था आएपछि पढ्न छाडेर कृषि पेशामा लागेको बताउँछन्। ‘घरमा खेत छ, तर खान पुग्दैन। बेसाउने अवस्था आएपछि मैले पढ्न छाडेर कृषिमा लागेको हुँ,’ प्रेम भन्छन्।
प्रेमले कृषि पेशा गर्न थालेको दुई दशक बढी भइसकेको छ। ०४१ सालमा एसएलसी दिएपछि कृषि पेशा गर्न थालेको उनी बताउँछन्। एक दशकसम्म तरकारी उत्पादन गरी बिक्री गरेर जीवन निर्वाह गरेका उनले अहिले भने बीउ उत्पादन गर्न थालेका छन्।
व्यवसायिक तरकारी खेती गरेका प्रेमले आफूलाई परिवर्तन गर्दै अहिले धान, गहुँ र राज्माको बीउ उत्पादन गर्ने गर्छन्। एक दशकदेखि उनले बीउ उत्पादन गर्न थालेका हुन्। अहिले उनले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, रुपन्देही, तनहुँसँगै भारतसम्म पुग्ने गरेको छ।
पहिले थोरैबाट बीउ उत्पान गर्न थालेकाे बताउँदै प्रेमले माग बढ्दै गएपछि हाल ६ विघा जमिनमा बीउ उत्पादन गर्ने गरेको बताए। उनले उत्पादन गरेको बीउ पूर्वको चितवनसम्म पुग्ने गरेको थियो। तर माग धान्न नसकेर पठाउन छाडेको प्रेमले जानकारी दिए।
‘चितवनसम्म पनि जान्थ्यो मैले उत्पादन गरेको बीउ, तर उत्पादनभन्दा माग बढी भयो। मेरो उत्पादन यतै सकियो। पछि पठाउन छाडेँ,’ प्रेमले भने, ‘अहिले यतै नेपालगञ्ज हुँदै भारतसम्म पनि बीउ पठाउने गरेको छु।’
मकैको बीउसमेत उत्पान गर्ने सोच बनाएका उनले जमिन अभावमा मकैको बीउ उत्पादन गर्न सकेका छैनन्। उनले भने, ‘मकैका लागि जमिन धेरै आवश्यक पर्ने भयो। बीउ उत्पादनका लागि मकैलाई टाढा–टाढा रोप्नुपर्छ। जमिन अभावमा मकैको बीउ उत्पादन गर्न सकिएन।’
उनले आफ्नै एक विघा जमिन र बाँकी ५ विघा जमिन लिजमा लिएर विभिन्न अन्नवालीको बीउ उत्पादन गर्दै आएका छन्। बीउ उत्पादनसँगै आम्दानीसमेत राम्रै हुने गरेको उनी बताउँछन्।
तरकारी खेतीमा भन्दा बीउ उत्पादनमा सहज रहेको बताउँदै उनले बीउ उत्पादनलाई थप व्यवस्थित गर्ने योजनामा रहेको बताए। उनले बार्षिक धानको बीउ २०० क्विन्टल, गहुँ १०० क्विन्टल, राज्माको बीउ ५० क्विन्टल हाराहारीमा उत्पादन गर्ने गरेका छन्। बीउ बेच्नलाई समस्या नभएको भन्दै उनी आम्दानीबाट सन्तुष्ट रहेको बताउँछन्।
०७६ सालमा भने कोरोना महामहारीका कारण बीउ बेच्न केही समस्या सृजना भएको प्रमेले बताए। उनले भने, ‘प्युठान पनि जान्थ्यो मैले उत्पादन गरेको बीउ तर पहिलो कोरोना लहरमा केही समस्या भयो, प्युठान जान पाएन। भारतमा पनि नाका बन्दी भएकाले केही समस्या भयो।’
उनले उत्पादन गरेको बीउ सहकारीमार्फत बजारीकरण हुने गरेको छ। लमही नगरपालिका २ मा रहेको हरित क्रान्ति कृषि सहकारीले संस्थाले उनले उत्पादन गरेको बीउ खरिद गर्दै आएको छ। यस सहकारीको प्रेमबहादुर कोषाध्यक्षसमेत हुन्।
बंगुरका पाठापाठी उत्पादनमा प्रेम
कृषि पेशासँगै पशुपालनमा पनि सकृय छन् प्रेमबहादुर चौधरी। उमेरले ६० पुग्न लागेका उनी कृषि तथा पशु व्यवसायलाई नयाँ सोचका साथ अगाडि बढाएका छन्। छिटो उत्पादन दिने बंगुर पालन गरेर उनले बंगुरका पाठापाठी उत्पादन गर्न थालेका छन्।
विगत दुई वर्षदेखि बंगुरपालन गर्दै आएका उनले मासुका लागि भन्दा पनि पाठापाठी उत्पादन गर्दै आएका छन्। मासुभन्दा पाठापाठी बिक्रीबाट बढी फाइदा देखेका प्रेमबहादुर भन्छन्, ‘बंगुर मासुका लागि भन्दा पाठापाठीका लागि पाल्दा फाइदा हुन्छ। यसकै उत्पादनमा लागेको छु।’
अहिले उनको बंगुर फर्ममा १५ बढी बंगुरहरु छन्। यसलाई बढाउँदै लैजाने सोचमा रहेको उनले बताए। कृषि तथा पशुपालनमा सरकारबाट भनेअनुसार सहयोग पाउन नसकेको भन्दै उनले राप्ती गाउँपालिकाबाट केही सहयोग मिलेको पनि बताए।
प्रेमबहादुर कृषिदेखि पशुको हेरचाहमा आफैँ खट्ने गरेका छन्। तर मौसमी रुपमा स्थानीयलाई पनि रोजगारी दिने गरेका छन्। ६ विघा जमिनमा काम गर्न घरमा ठूलो परिवार छैन। सामान्य हेरचाह आफैँ गर्दै आएको बताउँदै उनले धान, गहुँ रोप्ने समयमा तथा काट्ने समयमा स्थानीयलाई रोजगारी पनि दिने गरेका बताए।
‘धेरै ठूलो रोजगारी दिन त सकेको छैन, ‘प्रेमबहादुरले भने, ‘धान रोप्ने समयमा १५/२० दिन काम हुन्छ, त्यस समयमा स्थानीय केहीले रोजगार पाउँछन्।’ त्यस्तै गहुँ, राज्माको मौसममा पनि केहीले रोजगारी पाउने गरेका छन्।
राष्ट्रिय खेलाडी पनि हुन् प्रेम
प्रेमबहादुर चौधरी (५७) राष्ट्रिय स्तरका खेलाडीसमेत हुन्। उनले त्रिपल जम्प प्रतियोगितामा राष्ट्रियस्तरको खेलाडीका रुपमा भाग लिइसकेका छन्।भलिबल, दौड प्रतियाेगिता पनि थुप्रै खेलेको बताउँदै उनले कृषिमा केही गर्नुपर्छ भन्दै खेलमा निरन्तर लाग्न नसकेको बताए।
साँस्कृतिक कार्यक्रममा सहभागी हुन प्रेमबहादुर जर्मनसम्म पुगिसकेका छन्। नेपाल सरकारले थारु संस्कृतिको नाच लिएर पठाएको बताउँदै गाउँमा थारु संस्कृति जगेर्ना गर्न थुप्रै कार्यक्रम गरेको उनी बताउँछन्।