हाम्रो लक्ष्य विश्वकप पुग्ने हो: कप्तान सन्दीप

photo: CAN
photo: CAN

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन्।

आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै कप्तान सन्दीपले नेपाली टोलीको लक्ष्य नै विश्वकप छनोट हुनु भएको र त्यसका लागि टोलीको तयारी पुरा भएको बताए। 

‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं। खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं। सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो।’ २१ वर्षीय सन्दीपले भने। 

नेपालले प्रतियोगितामा भोलि (बिहीबार) घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ। खेल नेपाली समय अनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरुहुनेछ। 

समूह ‘बी’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स छन्। समूहको शीर्ष दुईमा रहे नेपाल ग्लोबल छनोटमा स्थान बनाउनेछ।  

नेपाल दोस्रो पटक विश्वपकमा छनोट हुने लक्ष्यमा छ। जसका लागि नेपाली टोलीले ओमानमै चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। 

यस शृंखलालाई नेपालले आफ्नो तयारीका लागि महत्त्वपूर्ण मानेको थियो। यस खेलबाट खेलाडी र टिम समेट सन्तुष्ट छन्। 

‘चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोट तयारीका लागि महत्त्वपूर्ण थियो। यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो।’ सन्दीपले भने। 

यस्तै सन्दीपले नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा बिस्तारै राम्रो भइरहेको र खेलाडीको प्रदर्शन अनुसार छनोट हुन नेपाल सक्षम रहेको बताए। 

यता, टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए। 

‘चारदेशीय शृंखला खेल्यौं। त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं। यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने।

प्रकाशित मिति: : 2022-02-17 18:18:00

प्रतिकृया दिनुहोस्