फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी थियो।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए। खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए। त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए।