२० वर्षदेखि क्यानभासमा पाेखिइरहेका श्याम [भिडियाे]

सिंहदरबारकाे छेउमा छ, हनुमानथान। त्यही हनुमानथानमा छ, थ्री डी आर्ट। जुन आँखा लोभ्याउने पेन्टिङहरुले सझिएकाे छ। विभिन्न फ्रेममा अनेकाैँ कथा बाेकेका आकृतिहरू छन्। यी चित्रहरु र पेन्टिङहरुको चाङमा आँखामा कालाे चस्मा लगाएर हातमा ब्रस लिई क्यानभासमा चित्र कोरिरहेका छन्, श्याम फुयाल, ४०।

बाल्यकालदेखि नै चित्रकलाकाे दुनियाँमा रमाउने उनले यसरी चित्र काेर्न थालेकाे २० वर्ष बढी भयाे। माेरङमा जन्मिएका उनी त्यहाँ हुँर्किदै गर्दा विभिन्न किसिमका साइन बाेर्ड, सवारी साधनका नम्बर प्लेट तथा ब्यानर लगायतका कामहरू गर्थे।

उनले काठमाडाैँ छिरेर चित्रमय जीवन बिताउन थालेकाे भर्खर ८ वर्ष पुगेकाे छ। माेरङमा रमाइरहेका उनी काठमाडाैँमा थन्किनुकाे पनि कारण छ। उनी आफ्नो कान्छाे छाेराकाे उपचारकाे लागि काठमाडाैँमा आएका थिए। ब्लड क्यान्सरले ग्रस्त छाेराेकाे उपचारकाे क्रममा उनी लामाे समय काठमाडाैँमा बस्नु पर्‍याे। त्यही बेला उनले राजधानीमा पेन्टिङकाे कामलाई निरन्तरता दिए।

उनले ठूलाे प्रयत्न गर्दा पनि छाेरालाई बचाउन सकेनन्। छाेराले धर्ती छाडे, उनकाे गाउँ फर्किने मन मर्‍याे। त्यसपछि उनले काठमाडाैँमै बसेर संघर्ष गर्ने निर्णय गरे।

काठमाडाैँकाे बसाइँ अन्य सन्तानलाई पढाउनुपर्ने, परिवार पाल्नुपर्ने उनले निक्कै संघर्ष गर्नुपर्‍याे। उनले बढाे लगनशील भएर पेन्टिङकाे कामलाई निन्तरता दिए। उनले जानेकाे सीप पनि त्यही थियाे र खुशी पनि। ‘बाल्यकालमा रहरै रहरमा चित्र काेरिन्थ्याे, अहिले त्यही रहर जीवन चलाउने माध्यममा परिणत भएकाे छ,’ उनले भने।

साेही समयमा उनले नेपाल ललितकला क्याप्पसबाट फाइन आर्टमा स्नातक गर्न समेत भ्याए। छोरालाई पनि फाइन आर्ट पढाउँदै छन्। फुर्सदमा छोरा पनि पसलमा आउँछन र पेन्टिङ गर्न सघाउछन। उनले पनि आफ्नै थुप्रै पेन्टिङ गरिरहेका छन्।

उनी पेन्टिङका धेरै जसाे विधामा कूची चलाउँछन्। गाउँमा जन्मे, हुर्केका उनकाे दिमागमा, मनमा प्रकृतिका अनेकाैँ चित्रहरु छन्। उनको मस्तिष्कमा हिमाल, पहाड, गाउँघर, झरना, वन जङ्गलका प्रतिविम्बहरू घुमिरहन्छन्। जसलाई उनले आफ्नो पेन्टिङमा उतारिरहेका छन्। त्यस्तै उनले पत्रपत्रिका तथा किताबहरूमा समेत कार्टुन बनाउने काम गर्छन्।

उनका धेरै जसाे पेन्टिङ ठमेलका पसलहरू हुँदै नेपालका विभिन्न गाउँमा तथा संसारका अनेकाैं देशहरूमा पुग्ने गर्छन्। तर, काेराेना महामारीले ठमेल बजार सुनसान बन्याे, उनकाे व्यापार सुस्तायाे।

‘मैले यहाँ पेन्टिङ गरेका अधिकांश आर्ट ठमेलका विभिन्न पसलबाट विक्री हुन्थ्याे। अहिले त काेराेनाले ठमेल पनि सुनसान छ, हाम्राे व्यापार पनि राम्राेसँग चलेकाे छैन्,’ काेराेना महामारीले आफ्नाे जीवनमा परेकाे प्रभाव सुनाए उनले।

उनले अहिले हनुमानथानमा नयाँ पसल खाेलेका छन्, जहाँबाट पेन्टिङकाे विक्री वितरण गर्छन्। लामाे समयकाे बन्दाबन्दीले सुस्ताएकाे उनकाे व्यापार अहिले विस्तारै चलाएमान हुँदैछ।

प्रकाशित मिति: : 2022-02-14 21:07:00

प्रतिकृया दिनुहोस्