परेन कहिल्यै कुनै दिवसको पर्खाइमा बस्न
दुनियाँले के-के दिवश मनाए कुन्नि
हरेक दिन मनाइरहें मैले
सम्झना दिवस
रोपाईं सकेर खोला छेउमा पुर्याइएका गोरुलाई
पानी छ्याप्दै पखालेझैं
दैवले खुब पखाल्यो आँखाका परेली
तर पनि पखालिएन मनको कुना
जसरी छोडिनौ तिमीले
रातभर सपनीमा सताउन
अनि दिनभर यादका पल्लाभित्र बेरिन
सम्राटै सम्राटले भरिएकाे मुलुककाे एक कुनामा बसेर
चोया मिलाउँदै गर्दा लाग्छ अचेल
अब त डोकोभरी तिम्रो याद बोकेर
पश्चिमको घामझैं सुटुक्क हिँड्न पाए हुन्थ्यो