राजनीतिक दललाई धक्का दिन म सफल भइसकेँ
लेखक गनेस पौडेलले फेसबुकमार्फत बुधबार आउँदो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा चुनाव लड्ने घोषणा गरे। पोखरा महानगरको मेयर पदका लागि पौडेलको उम्मेदवारी पहिलो हो।
अलग विचारका पौडेलको सार्वजनिक अभिव्यक्तिसँगै राष्ट्रिय रुपमा ठूलो तरंग पैदा भयो। जित वा हारभन्दा पनि व्यवस्थाविरुद्ध अटेरी बनेका पौडेलले मेयर भएर शक्तिमा रहनेभन्दा पनि राजनीतिक दललाई खबरदारी दिन आफूले उम्मेदवारी दिएको बताउँछन्।
एउटा मेयरले गर्न सक्ने काम र राजनीतिक दलहरुलाई घचघच्याउने गरी आफ्नो उम्मेदवारी दिएको बताउने पौडेलसँग बिएल नेपाली सेवाकाे लागि श्याम मगरले गरेकाे कुराकानी प्रस्तुत छ:
कलम चलाइरहने मान्छे, एक्कासी अटेरी निर्णय सार्वजनिक गर्नुभयो। मेयर हुने लाइनमा राजनीतिक दलका प्रतिनिधिहरु छन्। तपाईंले आफ्नो उम्मेदवारी किन जरुरी ठान्नुभयो ?
पूर्वनिर्धारित योजना नै हो यो। अरुलाई नसुनाइञ्जेल आकस्मिक लाग्ने हो। मैले त पहिलेदेखि नै प्लान गरिरहेको थिएँ।
अहिले स्थानीय चुनावको मिति सार्वजनिक भइसकेपछि कि पहिलो चुनावकै योजना हो ?
पहिलेको स्थानीय चुनावमा नै तयारी गरेको हो। तर, अघिल्लोमा दिइनँ। अहिले दिनु पर्यो भनेर तयारी गरिरहेको छु।
मेयर भएपछि पोखराका लागि तपाईंले सोच्नु भएकाे योजना के-के छन् ?
मेयर भइसकेपछि के गर्ने भन्दा पनि जो सुकै मेयर होस्, मेयरले यो-यो काम गर्न सक्छ भन्ने प्लान गर्ने हो। आफैंले मेयर भइसकेपछि गर्न सक्छु भनेर प्रतिबद्धता देखाउने होइन। भएपछि गर्ने त जो सुकै होस् न.. पोखरामा विकासको अवधारणा नै गलत तरिकाले व्याख्या भइरहेको छ। बाटो पुल बनाउनु, स्कुल खोल्नु, कलेज बनाउनु। अस्पताल खोल्नुलाई विकास भन्ने गरिएको छ। तर, यो विकास होइन। यी त विकासका पूर्वाधार हुन्।
मानौं उदाहरणका लागि कुनै एउटा ठाउँमा सामुदायिक स्कुल खुल्यो। तर, त्यसले क्वालिटी एजुकेशन दिएन भने त्यो विकास होइन। अस्पताल खुल्यो, तर त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिएन भने त्यो विकास होइन।
धाराको लागि पानीको पाइप बिच्छाइयो। तर, त्यहाँ पर्याप्त पानी, शुद्ध पानी, पिउन योग्य पानी आएन भने त्यो विकास होइन। जारको पानी नै खानु पर्यो भने त्यो विकास होइन। विकास भनेको विकासका पूर्वाधारले दिने गुणस्तरीय सेवा हो।
सार्वजनिक सेवा गुणस्तरीय भयो भने त्यो विकास हो। त्यसले के गर्छ भन्दा मान्छेको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक बृद्धि। यी चिजमा उसको गुणस्तर हुनु हो। विकासका अनेक मोडलमध्ये पर्यावरणीय विकास, ग्रिन डेभलपमेन्ट, इकोलोजिसँग रिलेटेड भएर पर्यावरणसँग जोडिएर पर्यावरण जोगाउँदै गर्ने विकासलाई पर्यावरणीय विकास भन्छ। दिगो विकासको अवधारणा हो यो।
हाम्रो पोखरा भन्नाले उदाहरणका लागि- कति वटा चौतारा थिए, अहिले कति छन् ? कति पोखरी थिए? अहिले कति बाँकी छन्? साँस्कृतिक सम्पदा कहाँ गए ? पोखरा भनेको के हो त साँस्कृतिक रुपमा ? साँस्कृति भनेको विन्ध्यवासिनी हो। साँस्कृति भनेको एउटा धर्मको मात्रै आस्थाको केन्द्र हो।
सबैलाई पोखरेली भन्ने चिज त होइन नि त। पोखरेली भन्नाले बुझिने सँस्कृति त यहाँका साँस्कृतिक सम्पदाले निर्धारण गर्ने हो। ती साँस्कृतिक सम्पदा भनेका के हुन् त? हाम्रो ठूलो सभ्यता, काठमाडौं जस्तो धेरै लामो सभ्यता बसेको सहर त होइन। जति छोटो सँस्कृति छ। कृषि सँस्कृति, यहाँको प्रधान सँस्कृति हो। कृषि सँस्कृतिले जोगाएका सम्पदा कहाँ पुगे?
यहाँ त विकासको नाममा के छ भने- असम्भव प्राय देखिने, ठुला ठुला कुरा हाँक्ने प्रकारको देख्यो भने राम्रो। जस्तै : मोनोरेल ल्याउँछु, चाइनाको कोरोला नाकाबाट रेल कुदाउँछु। काठमाडौं-पोखरा सुरुङ मार्ग बनाउँछु। यस्तो खाले घोषणापत्र आउँछन्। ती भनेको मेयरको कार्यक्षमता र महानगरको बजेटभन्दा बाहिरका हुन्। त्यसको लागि राष्ट्रले केन्द्रले बनाउने आर्थिक नीति। पञ्चवर्षीय अथवा दश वर्षे, १५ वर्षमा हुने योजनालाई यहाँ मेयरका घोषणापत्रमा राख्नुको कुनै तुक छैन। हामीले त यहाँका स्थानीय मुद्दासँग केन्द्रित भएर दिने हो। हामीले यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी सरसफाई, आवाससँग सम्बन्धित भएर मानवीय जीवनस्तर यी पाँच ह्युमन डेभलपमेन्ट इन्डेक्स बढाउन लागि पर्ने हो।
यी पाँच ह्युमन डेभलपमेन्ट इन्डेक्सलाई कसरी बढाउन सकिन्छ? भनेर लाग्ने हो। शिक्षा हेरौं, महानगर मातहत शिक्षा आइसकेको छ। डिस्ट्रिक्ट लेभल एक्जाम। यसलाई अहिले बेसिक लेभल एक्जाम भन्छ। ८ कक्षाको परीक्षा महानगरले लिन्छ। बेसिक लेभलको शिक्षाको सम्पूर्ण कोर्स नै चेञ्ज गर्ने अधिकार महानगरलाई छ। तर, पाँच वर्षमा के भयो त भन्दा कतिवटा दरबन्दी छ सामुदायिक स्कुलमा ? थपिएकामा पनि कुन आधारले थपिए। प्रतिस्पर्धाबाट थपिए कि राजनीतिक नियुक्ति, राजनीतिक दलको सिफारिसको आधारमा थपियो ? गुणस्तर कसरी डेलिभर भइरहेको छ ? सरकारी अस्पतालको हालत के छ ? कसरी सुधार भयो ?
शिक्षामा के भयो ? स्वास्थ्यमा के भयो ? खानेपानीमा के भयो ? जाइकाले ल्याएर खानेपानीको पाइप त बिच्छायो। तर, खानेपानीको गुणस्तर। जहाँ पानी आइरहेको छ। त्यहाँको खानेपानीको गुणस्तर धाराको खानेपानी खान सक्ने अवस्थामा छ कि छैन ? महामनगरको पानी डाइरेक्ट खान मिल्छ कि मिल्दैन छ ? पाइपमा आएको सबै पानी शुद्ध खानेपानी हुन्?
सरसफाइमै हेरौं, २/३ सय त स्वीपर नै छन् पोखरामा। महानगरमै फोहोरको थुप्रो छ। रोडको हालत उस्तै छ। जहाँतही फोहोर छ। ल्याण्डफिल्ड साइटको अहिलेसम्म निर्णय गर्न सकि रहेको छैन। राजनीतिक दबाबको कारणले। भन्नुको अर्थ विकाससम्बन्धी अवधारण नै गलत छ यहाँ। खास, मुद्दा स्थापना गर्नु प्रमुख कारण हो भन्ने हो।
शक्तिको लागि गरिँदै आएका चलखेलबारे त यहाँलाई अवगत नै छ। काम गर्न खोज्नेको खुट्टा तान्ने प्रवृति त पूरानै हो। तपाईंको उम्मेदवारीले यी सब मान्यता स्थापित गर्न सक्लान् ?
लोकतन्त्र भनेको के हो भन्दा, लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आवधिक निर्वाचन मात्रै होइन। सबै निर्वाचन दलिय निर्वाचन हुँदैन। जहाँ दलिय निर्वाचन हुन्छ, त्यहाँ समानुपातिक सिटको व्यवस्था हुन्छ। जस्तो संघमा प्रदेशमा समानुपातिक भोट दललाई दिने हो। स्थानीय चुनावमा व्यक्तिलाई भोट दिने हो।
भलै, उनीहरुले नेपालमा पार्टीको नामबाट उठ्छन्। अन्यत्र त्यस्तो हुँदैन। स्थानीय चुनावलाई दलविहीन बनाउने। व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवारी दिने। दलको समर्थन त हुन्छ। तर, चुनाव चिन्ह हुँदैन। सूर्य वा रुख हुँदैन।
लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारीको व्यवस्था लोकतन्त्रमा किन राखेको हो त ? दल मात्रै कुनै पनि चुनावमा उठ्ने अथवा दल दर्ता गरेर मात्रै चुनावमा उठ्नु पर्ने भनेर राखेको भए पनि हुन्थ्यो। एउटा संविधानले मलाई दिएको प्रदत्त अधिकार नागरिकलाई दिएको अधिकारको प्रयोग गरेको हो। त्योभन्दा ठूलो अर्थले यसलाई बुझ्नु जरुरी छैन।
तर, एउटा स्वतन्त्र नागरिकले कुनै एउटा दलमा अबद्ध नभई स्वतन्त्र रुपमा उठ्न खोज्छ ? जबकी, उसलाई थाहा छ यो देशमा सबै दलिय भागबण्डामा छन्। दलमा नलागेको कोही पनि छैनन्। दलमा नालगे त सामान्य स्वीपरको जागिर पनि पाइँदैन। यस्तो छ अवस्था।
कुनै पनि दलमा लागेका वा कुनै दलको भातृ संगठनमा सामिप्य नदेखाई प्राइभेट सेक्टरमा पनि जागिर नपाउने अवस्था आइसक्यो। यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारी किन भन्ने प्रश्न अहिलेको हो।
स्वतन्त्र उम्मेदवारी किनभने, मुख्य कुरा दलले सबै भोट मेरो कार्यकर्ताले मात्र हाल्ने हो। लौरो उठाए पनि जिताउन सकिन्छ भनेर, जसले धेरै चन्दा दिन सक्छ। जसले धेरै चन्दा उठाउन सक्छ। जसले धेरै खुसामद् गरेको छ। क्वालिटी, जसले महानगरलाई हाँक्न सक्छ, क्षमता इमानदारीता भन्दा पनि कत्तिको कर्मठ छ ? कत्तिको अध्ययनशिल छ भन्दा पनि, राजनीतिमा कहिलेदेखि लागेको हो ? जेलनेल कति खाएको छ ? अथवा उदाहरणका लागि चन्दा कति उठाउन सक्छ ? जस्ता मापदण्डका आधारमा चुनावमा जनप्रतिनिधिहरु उठाउने गरियो। कहिलेकाहीँ झुक्किएर इमानदार त पर्ला। तर, क्षमता नभएपछि गर्न सक्ने कुरा आएन।
स्वतन्त्र उम्मेदवारी भनेको के हो भन्नुहुन्छ भने राजनीतिक दलहरुप्रति नागरिक वितृष्णा। राजनीतिक दलहरुप्रति कतिसम्म वितृष्णा छ भने नागरिकहरुप्रति, उम्मेद्वारी उठ्न हिम्मत चाहिन्छ। सानोतिनो आँटले हुँदैन। एक त च्यालेञ्ज पनि हो यो। राजनीतिक दलबाट उठ्दा कोही रिसाउला भन्ने पनि हुँदैन।
फलाना उठेछ भनेर काँग्रेसले एमालेलाई पनि बधाई दिन्छन्, एमालेले काँग्रेसलाई पनि। स्वतन्त्र उम्मेदवार अनेकको तारो हुन्छ। काँग्रेस पनि भोट काट्ने भयो भनेर रिसाउँछन्, एमाले पनि भोट काट्यो भनेर रिसाउँछन्। माओवादी पनि रिसाउँछन्। यसले कसको भोट काट्ने हो भनेर सबैको तारो हुन्छन् स्वतन्त्र उम्मेदवार। त्यसकारण स्वतन्त्र उम्मेदवारी दिन साहस चाहिन्छ। यसको लागि ठूलो साहस चाहिन्छ। र, निर्दिष्ट योजना चाहिन्छ।
अब, काँग्रेस र एमाले जित्नेवाला, अहिलेसम्म जित्दै आएका पनि यिनीहरु नै। एमाले पनि काँग्रेस पनि दुई पटक विजयी भयो, मैले थाहा पाएसम्म। धेरै त चुनाव नै भएन। यिनीहरुलाई अब के दबाब हुन्छ भने खराब उम्मेदवार उठाए भने गनेसले भोट काट्छ। यसलाई दिनभन्दा त गनेसलाई दिन ठिक छ भनेर दिन्छन् भन्ने उसलाई हुन्छ। सबै कार्यकता डेडिकेटेड त हुँदैनन्।
राजनीतिक दलहरुले खराब उम्मेदवार उठाए भने गनेसले भोट कट्छ भन्ने डर हुन्छ। उत्कृष्ट उम्मेदवार उठाउन मेरो उम्मेदवारीले दबाब दिन्छ। उनीहरुले खराब उम्मेदवार उठाए भने चुनाव जित्ने मैले हो। म र म जसतै अटेरी युवाहरु छन्, पोखराका विभिन्न वडामा पनि उठाउने कुरा छ। संगठन होइन। स्तस्फूर्त रुपमा आह्वान गर्ने हो। आए आउँछन्। नत्र एक्लै हुने हो। मैले ठूला पार्टीहरुलाई धक्का दिएँ नि त। मैले दुई महिना अघिदेखि प्रयार गर्छु नि त आफ्नो प्रभाव, आफ्नो काम।
मुद्दा, दर्शन राखिरहेको हुन्छ। यो त यसरी पो गयो त। चुनावी माहोल पहिला राजनीतिक दलले उठाएका मुद्दाले स्थापित हुन्थे। राजनीतिक दलले उम्मेदवारको चयन कम्तिमा पनि एक महिनाअघि गर्दैनन्। एक महिनासम्म त मेरो मुद्दा मात्रै चल्छ यहाँ।
एक महिनासम्म राजनीतिक दलले उठाउने उम्मेदवार र उनीहरुले उठाउने एजेण्डामा केही न केही प्रभाव पार्छ। मेरो उद्देश्य त आफ्ने माग, मुद्दा असल उम्मेदवार उठाउन् भन्नेमा केन्द्रित हो नि त। मैले मात्रै खान्छु संसार भन्ने होइन नि त। जितियो भने आफ्नो ठाउँमा गर्ने त छँदै छ। स्वतन्त्र उम्मेदवार एक्लैले के गर्न सक्छ भन्दा पनि ५/१० हजार मत काट्न सक्ने क्षमता छ। स्वतन्त्र उम्मेदवार उठ्नुपर्छ। यसले के गर्छ भन्दा राजनीतिक दलहरुलाई डर, दिनु सबैभन्दा पहिलो मरो पहिलो उद्देश्य हो। म त्यसमा सफल भइसकेँ।
यदी, पोखरा महानगरको मेयरमा निर्वाचित हुनु भयो भने तपाईंको पहिलो एक्सन के हुनेछ ?
मैले भन्दै आइरहेको छु। सबैभन्दा पहिला सार्वजनिक जग्गा १५ हजार रोपनी हाराहारीका जुन मिचिएका छन्, ती महानगर अथवा सरकारी निकायको मातहतमा आउनुपर्छ। यसमा महानगरले भूमिका खेल्ने छ।
दोस्रो राजनीतिक नियुक्ति पाएका, बिनाप्रतिस्पर्धा नियुक्त भएका जति पनि कर्मचारी छन्, तिनीहरुलाई घोक्रेठ्याक लगाएर निकालिन्छ। आवश्यक समायोजन हुन सक्ने हदसम्मका लागि सोच्न सकिन्छ। अन्यथा घोक्रेठ्याक लगाएर सकिन्छ।
पहिलो दोस्रो गरेर पनि नभनौँ। मेरो पहिलो त शिक्षासँग सम्बन्धित छ। सामुदायिक विद्यालयको स्तरोन्नति मेरो पहिलो प्रयास हुने छ। मैले सोचेको हरेक सामुदायिक विद्यालयका योग्य क्यान्डिडेट जो प्रतिस्पर्धाबाट आएका छन्, अझैं पनि १०/१५ वर्ष समय बाँकी रहेका २/३ जनाका दरले हरेक स्कुलबाट तालिमका लागि विदेशमा पठाउने।
अमेरिकाबाट कसरी पढाइ हुँदो रहेछ। युरोपमा कसरी हुँदो रहेछ ? युगको आवश्यकता के रहेछ ? गुणस्तरिय शिक्षा भनेको के रहेछ ? भनेर हरेक देशमा बुझ्न पठाउने, महानगरको खर्चमा। आलोपालो १००, ५० कति सक्छ, महानगरले। शिक्षामा सबैभन्दा ठूलो बजेट खर्च गर्ने। शिक्षाको गुणस्तरलाई माथि लैजाने। दोस्रो कुरा हरेक वडामा २०/२५ रोपनी जग्गामा फैलिएको चौर। अधिग्रहण गरेर हुन्छ कि भइरहेकोलाई नै विस्तार प्रयोगमा ल्याउन सकिन्छ अथवा सार्वजनिक जग्गा हडपेर बसेका जग्गा मातहतमा ल्याएर हरेक वडामा दुई, तीन किलोमिटर हिँडेपछि, ५/१० मिनेट हिँडेपछि बच्चाहरु खेल खेल्न चौरमा पुगोस्। पोखरा त खेलकुद्को सहर हो। खेलकुद्मा नाम कमाएको सहर हो।
पोखरा पाटनको सहर हो। मझेरीपाटन, कोलपाटन, बाँझापाटन। पाटन भनेको चौर। हामी केटाकेटी हुँदा यति ठूला चौरहरु थिए। सार्वजनिक चौरहरु थिए। तर, अहिले ति सबै सार्वजनिक चौर कब्जामा छन्। अमरसिंहको त्यत्रो ठूलो सार्वजनिक चौर पनि व्यापारिक प्रयोजका लागि आधा जति त भाडामा गइसक्यो। चौरहरु विस्तारै व्यवसायीकरण हुँदै जाने। ठूला चौरहरु खारेज हुँदै जाने। भएका रुखहरु काटिँदै जाने। मेरो पहिलो प्राथमिकता शिक्षा र खेलकुदलाई हुने छ, सार्वजनिक जग्गा भनि हाले।
स्वास्थ्यमा हेर्ने हो भने हेल्थ कार्ड अनिवार्य गर्ने। महानगरभित्र बसेको मान्छे। जो सुकै होस् बाहिरबाट आएको होस्। तर, यहाँको बासिन्दा होइन। महानगरमा बसि रहेको छ रेकर्डेड हुनपर्यो। महानगरमा को-को बसिरहेको छ ? के प्रयोजका लागि बसि रहेको छ ? रेकर्ड हुनुपर्यो। जस्तो तपाईं बाहिरबाट आउनुभएको हो भने यहाँ बसिरहनु भएको छ। महानगरमा रेकर्ड हुने, महानगरले दिने सेवा सुविधा पनि लिन पाउने हुनुपर्छ। यो संसारभरि हुन्छ। जस्तै अमेरिकामा क्यालिफोर्नियाबाट न्युओर्क जानुभयो भने। म न्युओर्कमा छु है भनेर देखाउनु पर्ने हुन्छ।
सामाजिक सुरक्षाको लागि पनि यो जरुरी छ। करको दायरा पनि बृद्धि गर्छ। महानगरको पूर्वाधार प्रयोग गरेबापत कर तिर्नुपर्छ। महामनगरको उदाहरणको लागि भोटर संख्या उदाहरणको लागि एक लाख हो। स्थायी बासिन्दा १ लाख छ। तर, अस्थायी बासिन्दा ४ लाख छ। अस्थायी बासिन्दाले पनि महानगरले खर्च गरेको पूर्वाधारको उपभोग गरिरहेको हुन्छ। उनीहरुको न रेकर्ड हुन्छ, न योगदान हुन्छ। अथवा उनीहरुले पाउनुपर्ने सुविधा पनि पाइरहेको हुँदैन।
मानौँ, सरकारी डकुमेन्ट केहीमा मिस्टेक भयो। नागरिकतामा समस्या आयो भने त यहाँको बासिन्दा होइन भने जहाँ हो त्यही जानुपर्यो। स्थानीय निकायसँग समन्वय गरेर महानगरले यहीँबाट त्यो काम हुने व्यवस्था गर्यो भने त त्यो रकम यही तिर्छ। त्यस्तो खाले विकास गर्न सकिन्छ।
उदाहरणको लागि पर्यटन भन्ने बित्तिकै लेकसाइड भन्ने मात्रै छ। दसैं लाख टुरिष्ट आए पनि मझेरीपाटनले के पाउछ ? कुँडहरको मान्छेले के पाउँछ ? १२ नम्बरले के पाउँछ ? बाटुलेचौरको मान्छेले के पाउँछ ? भन्नुको अर्थ पर्यटकीय पूर्वाधारको निर्माण, पोखरामा यति धेरै पर्यटकीय युनिक ठाउँ छ। हरेक वडा हरेक ठाउँमा पर्यटकीय सम्भावना भएका ठाउँहरु छन्। तिनीहरुको विकास गर्न छोडेर हामी एकै ठाउँमा अल्झिरहेका छौं।
पोखरामा तालहरु यति धेरै छन्। तिनीहरुको व्यवसायीकरण हुन सकिरहेको छैन। पार्कहरु ठूला पार्कहरु बन्न सक्थे होला। खेलकुद् पर्यटकको लागि विभिन्न ठाउँमा लैजान सकिन्थ्यो। स्वदेशी होस् या विदेशी उनीहरुलाई त्यो ठाउँमा लैजान सकिन्छ। यस्ता धेरै कामहरु गर्न सकिन्छ जुन महानगरको बजेट क्षमताभित्र छ। यहाँ त रिंगरोड बनाउँछु भनेर भनिन्छ। पोखरा महानगरको बजेटले बन्छ अर्बौंको रिंगरोड। योजना बन्ला, त्यो त संघले प्रदेशको मातहत बन्ने योजना हुन्। दीर्घकालीन योजना बनाउन योजना आयोग छन्। महानगरको मेयरले ४ वर्षभित्र गर्न सकिने मान्छेको जीवनमा चेञ्जेज ल्याउने खालका आर्थिक बृद्धिदर गर्न सकिन्छ।