पहिलो संवाद –
सर, दुर्गा दाईको खबर के छ ? दाई पनि एमालेको नेता भइसके। जे होस्, स्वास्थ्य क्षेत्रमा दाईले ठुलो योगदान गर्नु हुँदैछ। अब, राजनीति क्षेत्रबाट पनि दाईको योगदान हुने भयो। हामी झापाबासीको गौरव हो दाई। ए साच्ची सर, मेरो एउटा बिल अड्किएको निकै महिना भयो। तपाईंले यसो सहजीकरण गरिदिनुपर्यो। त्यो बिलको पैसा आयो भने निकै काम हुने थियो।
दोस्रो संवाद –
हेलो, सर के छ ? के हो, दुर्गा प्रसाईंको हर्कत ? मान्छेलाई सक्ने नै भयो, प्रसाईंले। दुनियाँ समाचार आइरहेको छ त। तपाईं पनि नजिकको मान्छे, बद्नाम नै भयो है। अलिक प्रेस्टिज भएको मान्छे, प्रसाईंको छेउछाउ नजाँदा हुने भो अब। खासमा के भको हो ? हर्कत त्यै हो त?
दुवै संवाद नयाँ हो। संवादको पात्र को हो भन्ने कुरा संवादकै भाषाले बुझियो होला। पहिलो संवाद बिएण्डसी अस्पतालले पत्रकार सम्मेलन गर्नु पूर्वको हो भने, दोस्रो संवाद पत्रकार सम्मेलन पछिको हो। यी दुई संवादले दुर्गा प्रसाईंलाई हेर्ने नजरिया स्पष्ट बोल्छ। यो लेख तयार गर्दै गर्दा पाठकहरुले लेखकलाई कतै दुर्गा प्रसाईंको मान्छे भन्ने छन्। त, कतै दुर्गा प्रसाईंबाट यसले केही पाएनछ भन्नेछन्। दुवै खाले टिप्पणी सहने गरी लेख तयार गरेको छु।
झापाको बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं राष्ट्रिय रुपमा परिचित छन्। उनलाई हरेक मान्छेले फरक–फरक बुझ्छन्। यसै साता पनि प्रसाईं चर्चामा आए। उनले बिएण्डसीमा पत्रकार सम्मेलन गरेर पत्रकारलाई धम्क्याए, हप्काए भन्ने कुराको चर्चा भयो। त्यति मात्र होइन, पत्रकार महासंघले हल्काफुल्का विज्ञप्ति पनि निकाले। जुन, विज्ञप्ति एउटा दवावपछि निकाएको औपचारिकता मात्र हो।
पत्रकार महासंघको विज्ञप्तिले के कति काम गर्यो ? मलाई थाहा छैन। विज्ञप्तिले पत्रकार ठिक, प्रसाईं बेठिक भन्ने बुझायो। वास्तवमा पत्रकार ठिक छन् ? कि दुर्गा प्रसाईं गलत छन् ? प्रसाईं र पत्रकारले सुधार गर्नुपर्ने केही बाँकी छ ? कि छैन ?
जुन समाचार आयो, त्यो समाचारका बारेमा खासै चर्चा गरिरहनु पर्दैन। किनभने, व्यापारीले आफू ठिक र आफ्नो मालसामान पनि ठिक छ भन्ने नै हुन्। दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर ठिक छु नै भने।
त्यसपछिका गतिविधिले अलि चर्चा पायो। समाचार भन्दा पनि पत्रकार सम्मेलनमा प्रसाईंले दिएको अभिव्यक्तिले राष्ट्रिय चर्चा पायो। अहिले पत्रकार महासंघ पनि चुप छ। प्रसाईं पनि चुपचाप छन्। त्यसो हुनुमा खास के छ पछाडि ?
प्रसाईंले पत्रकार सम्मेलनपछि बोलेका केही अभिव्यक्ति सबै जसो पत्रकारको कानमा परेको छ। पत्रकार महासंघका एक जिम्मेवार व्यक्तिले गुमनाम तरिकाले ४८ महिनाको तलब बुझेको प्रसाईंले सबै पत्रकारले सुन्नेगरी भने भन्ने कुरा मलाई पनि पत्रकारले नै सुनाए। पत्रकार सम्मेलनमा जाने एक जना पत्रकारले मात्र होइन, धेरै पत्रकारले भनेपछि विश्वास लाग्यो। केहीले त सामाजिक सञ्जालमा पनि लेखे।
पत्रकारले अघोषित रुपमा प्रेस संयोजक हुनुलाई के बुझ्ने ? त्यही पनि महासंघमा बसेर। त्यति मात्र होइन, भर्खरै एक जना पत्रकारलाई घर बनाइदिएको पनि भन्न भ्याए। अन्तिममा, एक जना पत्रकारले कोरोना संक्रमति भएर उपचार गरेको पैसा तिरेनन्। अर्थात, पैसा नभएको चेक दिएर अहिलेसम्म भुलाइरहेका छन्। प्रसाईं जे-जे बोलिरहेका छन्, त्यो पत्रकारकै कमजोरीले बोलेका हुन् कि ? होइन भने पत्रकारमाथि जुन किसिमको आरोप लाग्यो, त्यसकाविरुद्ध किन विज्ञप्ति आएन ? कि प्रसाईंले लगाएको आरोप सत्य हो। यदि हो भने, यस्तै यस्तै कारणले प्रसाईं यो तहमा आएर बोलिरहेका छन्।
विभिन्न समयमा आएका समाचार स्मरण गर्दै प्रसाईंले पत्रकार मसँग भिडेका भिडै छन्। अब, म पनि पत्रकारसँग भिड्छु भने। यो भनाईमा पत्रकार महासंघ आत्तिनुपर्ने थियो जस्तो लाग्दैन। प्रसाईंकै शैलीमा पत्रकारका बोली सुन्ने हो भने के हुन्छ? यसैले पत्रकार र प्रसाईमा भएका कमीकमजोरीलाई सच्याउन जरुरी छ।
अब, प्रसाईंले पक्कै पत्रकार सम्मलेनलाई सिकाईको रुपमा लिएको हुनुपर्छ। पत्रकार पनि सचेत भए कि त। जबसम्म यहाँका पत्रकार हल्का रुपमा प्रस्तुत भइरहन्छन्, तबसम्म पाँडे गाली खाइरहनेछन्।
माथिको संवादलाई फेरि स्मरण गरौं। भुक्तानीका लागि गरिएको संवाद र भुक्तानी पछिको संवाद। पाउनुपर्ने बेला को कसरी प्रस्तुत भइरहेको छ भन्ने स्पष्ट छ। अर्को, पाइसकेपछिको प्रस्तुति पनि स्पष्ट छ।
यसैले प्रसाईंलाई गाली गर्दै गर्दा, प्रसाईंका विरुद्ध विज्ञप्तिबाजी गर्दै गर्दा पत्रकारिता क्षेत्रमाथि आममान्छेले प्रश्न उठाइरहँदा समीक्षा गर्ने कि नगर्ने? पत्रकार ठिक छन्? पत्रकार र पत्रकारिता क्षेत्रलाई पनि फर्किएर हेरौं। पत्रकार सब ठिकठाक, बाँकी गलत भन्ने दृष्टिकोण अब बदल्नुपर्छ।