प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले गत असोज १३ मा मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बाेर्डलाई संयुक्त पत्र लेखेर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनका लागि आफूहरुलाई चार/पाँच महिना उपलब्ध गराउन आग्रह गरेको खुलासापछि नेपाली राजनीति र कुटनीतिक वृत्तमा नयाँ छलफलले स्थान पाएको छ।
एकातिर, उनीहरु दुबैले पत्र लेखेको कुरा नबाहिरिदासम्म प्रचण्डले एमसीसी अनुमोदन गर्छौं भनी पत्र नपठाएको जिकिर गरिरहे भने अर्कातिर प्रष्ट रूपमै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिइरहे।
यतिमात्र नभई माओवादी केन्द्रको आठौं महाधिवेशनको दस्तावेजमा र अन्य सार्वजनिक मञ्चमा उनले बोल्दा एमसीसीलाई पठाइएको पत्रप्रतिकूल अभिव्यक्ति दिइरहे।
पछिल्लो समय एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमुद बाहले देउवा र दाहाललाई सम्बोधन गर्दै लेखेको प्रत्युत्तर–पत्रसहित अघिल्लो पत्रसमेत सार्वजनिक भएपछि प्रचण्डको दुईजिब्रे बोली र व्यवहार फेरि एकपटक नराम्ररी उदाङ्गिएको छ।
देशको प्रमुख सत्ता साझेदार दलको हैसियतका उनले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतालाई लिएर देखाएको दोहोरो चरित्रलाई कुटनीतिक मर्यादाको आँखाबाट हेर्दा जतिसुकै निन्दा गरे पनि कम हुन्छ। उनको बोली र व्यवहारमा देखिएको अराजनीतिक प्रवृत्तिले भविष्यमा देशले कुटनीतिक मामिलामा ठूलो मूल्य चुकाउनुपर्नेछ।
उनले लेखेको पत्र र त्यसले उदाङ्गिएको कुटनैतिक अमर्यादाले निम्तिने जोखिम त एकातिर छँदैछ त्यसमाथि उनको पत्रबारेको प्रष्टिकरणले नेपाली जनतालाई थप बिखलबन्दमा पारेको छ।
प्रथमतः उनले यसरी पत्र पठाएको कुरा स्वीकारेनन् र यथास्थितिमा एमसीसी पान नहुने देशभक्त अडान लिइरहे। तर, जब उनको ढोंगी चरित्रको खोल उत्रियो तब गठबन्धनको स्थायित्वका लागि भनेर दिएको अभिव्यक्तिले उल्टै उनको कट्टु खोलिदियो। यदि गठबन्धनको स्थायित्वका लागि हो भने माधवकुमार नेपालले किन पत्र लेखेनन् ? गठबन्धनका अन्य दललको सहभागिता खोई ? उनी र उनको पार्टीका नेता, कार्यकर्ताले एमसीसी यथास्थितिमा पास नहुने भनेर अभिव्यक्ति दिइरहे पनि उनले पठाएको पत्रमा आफ्नो प्रष्ट विचार किन राखेनन् ?
प्रचण्डको अभिव्यक्तिलाई मात्र लिने हो भने मित्र मुलुकहरुसितको सम्बन्ध तथा सहयोगका बारेमा उनको विवेकले जस्तोसुकै धारणा र दृष्टिकोण बनाउन सक्छ भने त्यस अनुसारको अडान लिन समेत उनी स्वतन्त्र छन्। यसलाई उनको व्यक्तिगत विचार र पार्टीको सिद्धान्तअनुसार स्वभाविक मान्न पनि सकिएला, यतिमात्र नभई एक जिम्मेवार राजनीतिक नेतृत्वले देश र जनताको लागि कतिपय कुरा गोप्य राख्न पनि सक्लान्। तर, खुलेआमा झुटो बोल्दै हिँड्नु जतिको लाजको पसारो अरु हुँदैन।
देउवा र प्रचण्डले पठाएको पत्र र उनले सार्वजनिक वृत्तमा दिएको अभिव्यक्ति आनका तान फरक छ। पत्रमा एमसीसीका केही प्रावधान संशाेधन गरिनुपर्छ भनिएको भए पनि त्यो गोप्य राखियोस् वा सार्वजनिक गरियोस् यसले कुनै अर्थ राख्दैन थियो। केवल वातावरण बनाउनका लागि मात्रै भनेर हदैसम्म गिरेर पत्र लेख्नु जतिको असोभनीय अरु के होला ?
नेपाली राजनीतिमा एमसीसीको विषय गिजोलिएको देख्दा अमेरिका एमसीसी फिर्ता लिने मनसायमा थियो। त्यही अनुसार नै एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण भएको हो। त्यहिबेला अमेरिकामा बस्ने केही नेपाली र दुतावसले समेत एकपल्ट फिर्ता नलिन आग्रह गर्ने भनेर पार्टी निकटकाले प्रचण्डसम्म कुरा पुगाएर अनुरोध गर्न लगाएका थिए।
तर, एमसीसी बोर्डले सजिलै समय थप्न मानेन। एउटा पत्रको आशा राख्यो। त्यही बेला मुलुकका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वले अर्थ मन्त्रालयका अधिकारीजस्तो बनेर कुनै मुलुकको एउटा कर्पोरेसनको प्रमुखलाई हास्यास्पद पत्र लेखे।
यसरी देउवा–प्रचण्ड कुटनीतिक मर्यादा विपरीत देखाएको चरित्रले देशको आन्तरिक राजनीतिमा असर पुर्याएको मात्रै छैन कि बाह्य सम्बन्धमा पनि अनावश्यक दरार उत्पन्न गरेको छ। यसले देउवा–प्रचण्डलाई अति कच्चा कूटनीतिक खेलाडी साबित गरेको मात्रै छैन कि देशको समग्र कूटनीतिलाई नै फिक्का बनाइदिएको छ।
एउटा सार्वभौम मुलुकले जुनसुकै मित्र राष्ट्रप्रति धारणा, द्विपक्षीय सम्बन्ध तथा विकास सहयोगबारे स्वतन्त्र व्याख्या गर्न मिल्छ। खासगरी कुनै सन्धि/सम्झौताबारे त स्पष्ट अडान लिन पनि पाइन्छ। चाहे त्यो एसीसी हो वा अन्य कुनै सम्झौता तर उक्त पत्रले अमेरिका जस्तो सात दशकदेखि सहयात्री मुलुसँगको सम्बन्ध चिसिने खालको कूटनीतिक कच्चापन देखाउन पाइदैन। सस्तो बचपना व्यवहारका जतिसुकै खेदजन्य छ।
यसरी दुशको नेतृत्व र प्रमुख राजनीतिक नेतृत्वबाट देखिएको दोहोरो चरित्रले राष्ट्रिय राजनीतिमा अविश्वास बढाएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध संचालनमा पनि अपरिपक्वता देखाएको छ। एमसीसी अघि बढे पनि नबढे पनि अमेरिकासितको सम्बन्धमा असर पर्न नदिएर गम्भीर हुनुपर्ने हो। तर, त्यसको विपरीत बचपना व्यवहार देखिनु देशका लागि चिन्ताजनक विषय हो।