मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले चार महिना अगाडीदेखि श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापागाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए।
गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरे पनि अहिलेसम्म केही पत्ता लागेको छैन। घरमा दुई वटा छोरा छन्, उनीहरूको बिचल्ली भएको छ।’
माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए। उनीहरूको एउटा चार वर्ष र अर्को ६ वर्षको छोरा भएको उनले जानकारी दिए। उनले श्रीमती तास खेल्ने र आफूले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए।
असोज ३० गते चापागाउँबाट हराएर एक हप्ता पछाडि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफूलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफूलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे। ‘चाँडै नै घर आउँछु भनेको बुढी आजसम्म पनि फर्केकी छैन। उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो। अरू मलाई केही चाहिएको छैन,’ उनले भने।