मान्छे हुनुको सबैभन्दा ठूलो कुरा नै ऊसँग रहेको बुद्धि, विवेक र ज्ञान आर्जनको क्षमता हो। मान्छेको जन्म हुनासाथ उसले आफ्नो जन्म, संसार र मृत्युको रहस्य बारेमा खोतल्न थाल्यो। त्यस उसले कतिपय कुरा यथार्थ पहिचानद्वारा, कतिपय कुरा तर्कद्वारा र कतिपय कुरा कल्पनाद्वारा पनि सत्यको नजिक हुने प्रयास ग¥यो, जुन अहिलेसम्म पनि कायम छ । आफ्ना सोचाइ, चेतना, प्रमाण, यथार्थ, निष्कर्ष र कल्पनाजस्ता कुरा र आफ्ना आग्रह, पूर्वाग्रह जस्ता कुरा मान्छेले चित्रद्वारा, मूर्तिहरूद्वारा र सबैभन्दा ठूलो कुरा अक्षर र लिपिको माध्यमद्वारा प्रकट गर्न थाल्यो।
कतिपय कुरा श्रवणका माध्यमबाट पनि एकबाट अर्कोमा प्रसार गर्दै गयो । समाज र संसारका बारेमा रचिएका कृति ‘साहित्य’ नामले फैलिए। साहित्यले समाजलाई ऐनाको रूपमा परावर्तन गराउन थाल्यो। यस हिसाबले हर साहित्यमा जीवन, जगत् र समय प्रकट हुने भएकाले त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा प्राणी र जगत्को सृष्टि, सञ्चालन, विकास र भावि परिणामका बारेमा समेत अड्कन हुनु स्वाभाविक हो।
माथि भनिएझैँ सृष्टिको सुरुवात र सभ्यताको प्रादूर्भावदेखि नै समाज भौतिक र आध्यात्मिक चिन्तनमा बाँडियो। यसैको असर साहित्य सिर्जनामा समेत प¥यो। सभ्यताको सुरुमा मान्छेमा संसारको सृष्टि, स्थिति र लयका बारेमा त्यति ज्ञान थिएन। त्यसैले त्यसबेला कल्पनाको आधारमा ईश्वर र धर्मको बारेमा असंख्य कृति रचिए। वैज्ञानिक एवं यथार्थपरक भावमा लेखिएका कृतिमा समेत धार्मिक गाता ओढाउने प्रयास गरियो। समयको अन्तरालमा विज्ञान, अर्थशास्त्र, खगोलशास्त्र, वनस्पतिशास्त्र, प्राणीशास्त्र, इन्जिनियरिङ, भूगोल, सामाजिक शास्त्र, गणितजस्ता विषयमा मान्छेले धेरै कुरा जान्यो, बुझ्यो र सोही मुताविकका साहित्यिक कृति पनि रच्ने र प्रकाशमा ल्याउने क्रमले तीव्रता पायो। यस हिसाबले संसारको सुरुको अवस्था र मध्ययुगीन अवस्थासम्म साहित्यमा धर्मको बोलवाला बढी भएको देखिन्छ भने त्यसपछिको साहित्यमा विज्ञान, गणित, भूगोल, इन्जिनियरिङ पक्षले यथार्थता पहिचान गरिएका विषयहरूलाई उजागर गर्ने किसिमका साहित्य सिर्जना अधिक हुने गरेको पाइन्।