२०७२ सालमा आएको भुइँचालो अनि नाकाबन्दीले तहसनहस पारेको अर्थतन्त्र बिस्तारै तंग्रिँदै थियो। तर, २०७६ सालमा आएको कोरोना महामारीका कारण नेपालको अर्थतन्त्र तहसनहस नै भयो।
दैनिक उपभोग्य खाद्य वस्तुहरूको मूल्य वृद्धि भयो भने माफियाहरु सल्बलाए। बजारमा कृतिम अभाव सिर्जना गरेर दैनिक उपभोग्य सामानहरूको मूल्य वृद्धि गरियाे। कोरोना महामारीकै कारण धेरैकाे रोजीरोटी खोसियो भने कतिपयकाे सडक बास भयाे।
महंगीले आकाश छोइसक्यो। दैनिक मजदुरी गरेर हुँदा खानेहरूको चुलो बल्न छोडिसक्यो। पुस/माघको कठ्याङ्ग्रिदो चिसोमा न्यानो कपडा नपाएर कतिले आफ्नो ज्यान गुमाइसके। तर, मेरो सरकार राजनीति गर्नमै व्यस्त छ। न त महामारीको बारेमा बोल्छ, न त मूल्य वृद्धिको बारेमा नै।
हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर सोझा जनताहरूको ढाडसेक्ने रणनीति सरकारले गरिरहेको छ। यसको बारेमा न ठूला–ठूला नेताहरुले बोल्छन् न त बुद्धिजीवीहरुले नै। आफ्नो राजनीतिक कुरा हुन्थ्यो भने ज्यानकै बाजी थापेर सडकमा उत्रिन तयार हुने हाम्रा नेताहरु महंगीले आकाश छुँदासम्म पनि बजारमा अनुगमन गर्नपर्छ भन्ने निर्देशन दिन तयार भएका छैनन्।
बुढापाखाले भन्ने गर्थे,‘नेपालको कानुन, दैवले जानुन्’ मलाई अहिले आएर त्यस्तै लागिरहेको छ। प्रतिलिटर १५० रुपैयाँ पर्ने खाना पकाउने तेल ३०० रूपैयाँ पुगिसक्यो, पेट्रोलियम पदार्थको मूल्य १०० रुपैयाँबाट करिब १५० को नजिक पुग्न लागिसक्यो। दैनिक खाद्यान्न वस्तुहरुको मूल्य बजारमा छोइनसक्नु भइसक्यो तर सरकार कानमा तेल हालेर आनन्दका साथ मूल्य वृद्धि गर्दै बसिरहेको छ। दुःखी जनताहरूको ढाडमा टेकेर माथि पुगेकाहरु जनताको लागि केही गर्लान् कि भनेको त सरकार एमसीसी र चुनावको लक्षमण रेखाभित्र रुमल्लिरहेको छ।
खाना पकाउने तेलको मूल्यले आकाश छोइसक्दा नि चुइँक्क बोल्न नसक्ने विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा तीन रूपैयाँ बढ्दा के–के न गरौंला झैँ गरेर बन्द हडताल नारा–जुलुस गर्छन्। आफ्नो आमाबाबुले कति दुःख कष्ट गरेर आफ्ना छोराछोरीहरु भोकै बस्न नपरोस् भनेर १० नग्रा खियाएर खाद्यान्न वस्तुहरुको जोहो गरेका हुन्छन् तर विद्यार्थी भनाउँदा छोराछोरीहरु महंगीको बारेमा कहिले बन्द हडताल नारा–जुलुस सडक बन्द गर्दैनन्, बरु राजनीतिज्ञ भनाउँदाहरूको इसारामा नाच्छन्।
एक्काइसौँ शताब्दीमा आएर पनि विद्यार्थी संगठनहरुले नारा–जुलुस बन्द हडताल गरेको देख्दा हामी निकै पछि छौं भन्ने प्रष्ट देखिन्छ। देश विकासको मेरुदण्ड नै मानिएका विद्यार्थीहरु पढ्नुपर्ने हो तर नारा–जुलुस गर्नमा व्यस्त देखिन्छन्।
विद्यालय कलेजहरुमा पढ्न जाने हो राजनीतिक गर्न होइन। राजनीति गर्ने काम राजनीतिज्ञको हो, विद्यार्थीको होइन। विद्यार्थीको संस्कार धर्म र धन भनेकै पढ्नु हो, राजनीति गर्नु होइन। सडकमा गएर बन्दहडताल राके जुलुस गर्नाले देशको विकास हुँदैन, विद्यालय कलेजहरुमा ताला लगाउँदैमा पनि देशको विकास हुँदैन बरु विनाश हुन्छ। त्यसैले किताबमा लेखिएका सिद्धान्तहरुले मात्र हो देशलाई विकास गर्न सक्ने त्यसैले देश बनाउने हो भने विद्यार्थीले आन्दोलन बन्द हडताल होइन किताबका सिद्धान्तहरू पढेर शिक्षा हासिल गर्न सक्नुपर्छ।
फेरि मैले यो पनि भनेको छैन, हामी चुप्प लागेर बसौँ भनेर बन्द हड्ताल मात्र त विकल्प होइन ? हामीले अरू पनि विकल्प खोज्नुपर्छ। जसको दायित्व उसैलाई गर्न दिनुपर्छ। आफ्नो अमुल्य समय बन्द हडतालमा खेर फाल्नु हुन्न बरु केही सीपमुलक कामहरू गर्नुपर्छ। ज्ञान हासिल गरेर जनताहरुलाई जनचेतना दिनुपर्छ।
व्यावसायीक सीपमूलक तालिमहरु दिनसक्नु पर्छ। स्वास्थ्य शिक्षाको बारेमा जानकारी दिन सक्ने हुनुपर्छ। महत्वपूर्ण कुरा त के भने हामीले शिक्षा हासिल गरेर आफ्नो देशलाई विकास गर्नसक्ने दक्ष शिक्षित दूरदर्शी राजनीतिज्ञलाई चयन गर्नुपर्छ भन्ने जनतालाई शिक्षा र जनचेतना दिन सक्ने हुनुपर्छ।
देशलाई राजनीतिज्ञको होइन असल इमान्दार दक्ष जनशक्तिको आवश्यकता छ। ज्ञानले भरिपूर्ण भएको मान्छेले नै देश चलाउन सक्छ भन्ने कुरा अहिलेको युवा पुस्तामा हुनुपर्ने हो। तर, त्यस्तो देखिंदैन। जसको शक्ति उसकै भक्ति भनेझैँ अहिलेका युवा पुस्ताहरु भक्ति गर्नमै बेस्त रहेर पढ्नुपर्ने आफ्नो अमुल्य समय खेर फालिरहेका छन्।
हामी भन्छौं देशमा बेरोजगारहरु बढी भए। हामीले कहिले सोचेका छौं ? हाम्रो दायित्व र कर्तव्य के हो भनेर ? विद्यार्थीहरुले पढ्ने बेला राम्रोसँग नपढेर आन्दोलन बन्द हडताल गर्दै हिँडेपछि बेरोजगार न जन्मिएर के जन्मिन्छन् त ? त्यसैले पहिले आफ्नो सोच बदलौं आफूलाई बदलौं अनि देशलाई बदलौं। हामीले जे सिक्यौँ, जस्तो सिक्यौँ, त्यस्तै बन्छौं। त्यसैले ढुङ्गामुढा गरी बन्द हड़ताल गरेर मूर्ख बन्नुको सट्टा ढुङ्गामुढा बटुलेर आफ्नो घर बनाऊ।