हुनेखानेका छोरीहरू मात्रै स्कुलसम्म पुग्ने र उनीहरूको पनि कलेज नपुग्दै विवाह गरिदिने मधेशी समाजको आम चलनमा अहिले व्यापक परिवर्तन आएको छ । समाजमा छोरी पढाउनुपर्छ भन्ने चेतना जागेको छ र त्यसको प्रभाव स्कुल तथा कलेजका कक्षा कोठामा देख्न सकिन्छ ।
वीरगञ्जमा जुद्धशमशेरका पालामा नै स्कुल खुलेको थियो । १९९४ सालमा खुलेको त्रि–जुद्ध हाईस्कुल नेपालकै पुरानो स्कुलका रूपमा परिचित छ । तर त्यो बेला छोरीलाई पढ्न स्कुल पठाउने चलन नै थिएन भने हुन्छ । छोरी शिक्षित भए परिवार नै शिक्षित हुन्छ भन्ने चेतना त्यसबेलाको समाजमा थिएन ।
वीरगञ्जका उद्योगी बाबुलाल चाचान (६८) आफूले त्रि-जुद्धमा पढ्दा एकजना केटी मात्रै त्यहाँ पढ्ने गरेको स्मरण गर्छन् । चाचान भन्छन्, ‘तिनी बाहेक कसैका छोरी पढ्न आउँदैनथे, बाँकी हामी केटाहरूमात्रै थियौं ।’ चाचान २००९ सालमा एसएलसी बोर्ड फष्ट भएका थिए ।
यसरी तराई मधेशमा धेरै अघि स्कुल खुले पनि छोरी पढाउने ‘संस्कार’ भने धेरै पछि भित्रिएको हो । ‘अर्काको घर जाने जात’ भन्ने सोच अहिले पनि बाँकी छ । त्यसमा पनि मधेशमा ‘जति पढायो उति बढी दाइजो दिनुपर्ने’ कुसंस्कारले लामो समयसम्म घर गर्यो । त्यो अझै पनि गइसकेको छैन ।
त्यसो भएर यहाँ धनीमानीका छोरीहरू घरमै बसेर स्वेटर बुन्ने, आमालाई सघाउने जस्ता काममा अल्झिन्थे भने गरिबका छोरीहरू गाई–बाख्रा चराउने, घाँस काट्ने, मेलापात जाने, भाइबहिनीको हेरचाह गर्ने काम गर्थे ।