जसले सडकमा गीत गाएर गरीबकाे जीवन बचाइरहेका छन् [भिडियाे]

काठमाडौंस्थित बसन्तपुरको रोड। त्यही रोडको छेउमा चलिरहेको थियो, चन्दा (डोनेशन) कार्यक्रम। जहाँ केही युवाहरू गीत गाउने, बाँसुरी बजाउनेलगायत चाउचाउको कार्टुन लिएर उभिरहेका थिए।

उनीहरु मृगौला पीडित महिलाका लागि ‘डोनेशन’ उठाउँदै थिए। जुन ‘बस्किङ युथ क्लब’ ले सञ्चालन गरेको रहेछ।

बस्किङ युथ क्लब अर्थात् उपचार गर्न नसकेका पीडितलाई ‘डोनेशन’ उठाएर सहयोग गर्ने समूह।

सुरुमा त यो समूहले उपचार गर्न नसक्ने पीडितहरुलाई पत्ता लगाउँछन्। अनि उसैका लागि सडकमा गीत गाएर पैसा जम्मा पार्छन् र त्यही रकम पीडितलाई बुझाउँछन्।

केही वर्षअघि मात्र सुरुवात भएको यो क्लबले ८/९ जनालाई त सहयोग पनि गरिसकेको छ। अरुका लागि गीत गाउँदै ‘डोनेशन’ उठाउने सो क्लबमा १९ देखि २६ वर्ष उमेर समूहका युवा समावेश छन्। जो पीडितको सहयोग गर्न पाउँदा रमाइरहेका छन्।

आफूहरु संगीतप्रेमी भएका कारण सडकमा उभिएर गीत गाउँदै सहयोगको अपेक्षा गर्दा खुशी लागेको क्लबका उपाध्यक्ष सुशील गुरुङ बताउँछन्। ‘अरुलाई सहयोग गर्नुमा नै सन्तुष्टि रहेछ’, उनले भने।

कसरी भयो बस्किङ युथ क्लबको सुरुवात ?

केही वर्षअघि सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन्, सियोना क्षेष्ठ। जो ‘स्पाइनल मस्कुलर एट्रोफी’ (सास फेर्न र बोल्ने गाह्रो हुने) रोगबाट ग्रसित थिइन्।

जसको उपचारका लागि उनकी आमा विभिन्न भिडियोमार्फत् सहयोगको गुहार गरिरहेकी थिइन्। जुन भिडियोलाई उनीहरुले पनि फेला पारे।

जुन भिडियो देखेर  बस्किङ युथ क्लबले काखे बालिका सियोनालाई सहयोग गर्ने निधो गर्याे। तर, बालिकाको सहयोग कसरी गर्ने भन्ने कसैलाई थाहा थिएन। उनीहरूले आफूहरु संगीतको साेखिन भएकाले सडकमा गीत गााउने जुक्ति निकाले।

अनि गीत गाएर उठाएको रकम पीडितलाई दिने निर्णय भयाे। नभन्दै उनीहरुले सियोनाको लागि चार पटक चन्दा उठाएर ६० हजार सहयोग गरे। जसबाट उनीहरुमा थप आत्मविश्वास बढ्यो।

सडकमा उभिएर गीत गाउँदा के हुन्छ समस्या ?

उपचार गर्न नसक्ने बिरामीहरुका लागि सडकमा गीत गाएर सहयोग गर्न पाउँदा आफूहरुलाई रमाइलो लाग्ने उनीहरु बताउँछन्। तर, आफूहरुले गरेको काममा पनि रोक भएको उनीहरुकाे गुनासाे छ।

‘घरका मान्छेले बाटोमा बसेर के गरेको भन्दै गाली गर्नुहुन्छ, यसले त हामीलाई कमजोर बनाउँछ नि’, आफूहरुले परिवारबाट भोग्नुपरेको गुनासो सुनाउँदै गुरुङले भने।

समाजका लागि गरेको सहयोगमा परिवारहरुको पनि सपाेर्ट हुनुपर्ने उनको भनाई छ।

याे समूहलाई परिवारले मात्र होइन नगरपालिकाले पनि दुख दिने गरेको छ। ‘नगरपालिकाले पनि हामीलाई धपाउने गर्छ’, उनले भने, ‘नगरपालिकाले त्यसो नगरे हामीलाई सजिलो हुन्थ्यो।’

अबको उदेश्य के ?

जो बिरामी छन् तर उपचार गर्न पैसा छैन। त्यस्ता व्यक्तिहरूका लागि उपचार खर्च जुटाउन सहयोगको अपेक्षा गर्छन्। त्यस्ता मान्छेका लागि नै सुरु भएको यो समूह अगामी दिनहरुमा पनि सहयोग गर्ने सोचमा छ।

‘अरुको दुखलाई सुखमा परिवर्तन गर्नेमा सोचमा छौँ’, उनले भने, ‘यसैलाई निरन्तरता दिनेछौँ।’

आफूहरुको सानो सहयोगले अरुको ज्यान बच्न सक्ने भन्दै गीत गाएर चन्दा उठाउन नछाड्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2022-01-31 18:17:00

प्रतिकृया दिनुहोस्