सबैको हुन खोज्दा कांग्रेस कसैको भएन, उर्लाबारीमा एकपछि अर्को हार

मिलन के राउत

उर्लाबारी
File Photo
File Photo

पूर्वी मोरङको उर्लाबारीमा स्थानीय स्तरमा प्रभावी बनेका आधा दर्जन बढी संघ/संस्थामा नयाँ नेतृत्व आएपनि दलीय रुपमा कांग्रेसको प्रतिनिधित्व टिठ लाग्दो बनेको छ।

चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएका सबैजसो संस्थामा कांग्रेस इतर दलका उम्मेदवारले जित हात पारेका छन्।

चालू आर्थिक वर्षको प्रारम्भमै भएको व्यवसायीहरुको छाता संगठन उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कांग्रेसबाट प्रस्तावित उम्मेदवारले हार बेहोरेका थिए। कांग्रेस हारको शिलशीला पछिल्लो पटक बेतिनी सामुदायिक वनको चुनावसम्म जारी छ।

शनिबार सम्पन्न बेतिनी सामुदायिक वनको १९ औँ चुनावी साधारणसभामा माओवादी निकट भीमबहादुर राईले भारी मत ल्याएर अध्यक्षमा जित हात पार्दा कांग्रेसका ज्योति थापा तेस्रो स्थानमा रहे।

पूर्वी मोरङकै अग्रणी र पर्यटकीय वनका रुपमा परिचित बेतिनीमा नेतृत्व हात पार्न तीन प्रमुख पार्टीले आ-आफ्ना उम्मेदवार खडा गरेपनि कांग्रेस उम्मेदवारको लज्जास्पद हार भएको हो।

राई ५३७ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद दाहालले ३१२ मत प्राप्त गरेका छन्। कांग्रेसका ज्योति थापा १८५ मत ल्याउँदै तेस्रो स्थामा सिमित भएका हुन्। त्यसो त चुनाव भएको कार्यसमिति पदाधिकारीकाे कुनैपनि पदमा कांग्रेस उम्मेदवारले जित हासिल गर्न सकेनन्।

सो वनको उपाध्यक्ष (पुरुष कोटा) मा राप्रपा निकट श्याम ढकाल, सह-सचिव पदमा माओवादी निकट मित्रप्रसाद आचार्य र कोषाध्यक्षमा एमाले निकट अर्जुन बास्तोला निर्वाचित भए।

बेतिनी वनको मतदानमा ११ सय ४३ जना उपभोक्ता मतदान प्रक्रियामा भाग लिएका थिए। उत्साहप्रद मतदानले मिनी स्थानीय चुनावको झल्को दिएको उर्लाबारी-४ का पोषण आचार्यले बताए।

यसअघि हाम्रो बचत, सुनपकुवा र राजघाट बचत तथा ऋण सहकारी गरी उर्लाबारीका अग्रणी तीनवटा सहकारीकाे सञ्चालक समिति चुनावी प्रक्रियाबाटै छनौट गरिएको थियो। तर, स्थानीय शासनको नेतृत्व गरिरहेको उर्लाबारी कांग्रेसले उम्मेदवार प्रस्ताव गर्नु त परै जाओस् ती सहकारीको साधारणसभा नै भेउ नपाएको स्थानीय एकजना कांग्रेस कार्यकर्ताले बताए।

विराटनगर बाहिरका पत्रकारहरुको छाता संगठन सञ्चार क्लबमा पनि एमाले निकट पत्रकारले बर्चस्व जमाउन सफल भए। क्लबको उपाध्यक्ष बाहेक सबै पदमा एमाले निकट प्रेस चौतारीका सदस्य चुनावी प्रक्रियाबाटै निर्वाचित भए।

सर्वसम्मत नेतृत्व चयन गर्दै आएको उर्लाबारी जेसीजमा पनि यसपटक कांग्रेस इतरका व्यक्ति चयन हुन सफल भए।

‘प्रायः जसो कांग्रेस निकटका व्यक्तिलाई यो वा त्यो बहानामा उर्लाबारी शाखा नेतृत्वमा क्रेनले तानेर ल्याइने गरिएको थियोे’, जेसीज गतिविधिमा संलग्न एक व्यवसायी भन्छन्, ‘उनीहरू(कांग्रेस)को यसपटक दाल गलेन, गैरकांग्रेसीलाई अध्यक्ष बनाउन बाध्य बने।’

उर्लाबारी जेसीजका अधिकांश पूर्वअध्यक्ष कांग्रेस निकट छन्। उर्लाबारी जेसीजको अध्यक्ष कसलाई बनाउने उनीहरुकै निर्णायक भूमिका रहने गर्छ। सन् २०२२ का लागि तारानाथ दाहाल उर्लाबारी जेसीज अध्यक्ष भएका हुन्।

नेपाली कांग्रेसको जनाधार बलियो हुँदै गएपनि नेतृत्वको अकर्मण्यताका कारण उर्लाबारीमा कांग्रेस कमजोर हुँदै गएको नेता मुक्तिप्रकाश न्यौपाने बताउछन्। उनका अनुसार ब्राह्मणका दाने गाईजस्तो चारतिर फर्किएका कार्यकर्तालाई एकत्रित बनाउन नसक्दा कांग्रेस संगठन अस्तव्यस्त बन्दै गएको छ।

खानेपानी संस्था र क्याम्पस उर्लाबारीका महत्वपूर्ण निधि हुन्। यी संस्थामा पनि नयाँ नेतृत्व चयन भए। यद्यपि भागबन्डामा समिति चयन हुँदा एउटा संस्थामा कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ।

उर्लाबारी खानेपानी उपभोक्ता समितिमा कांग्रेसका चिन्तामणि पौडेल र उर्लाबारी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा एमालेका पुष्पलाल ढकाललाई चयन गरिएको छ। उर्लाबारी कांग्रेसको गतिविधिमा सरोकार राख्दै आएका एक स्थानीय भन्छन्, ‘एकले अर्काको अस्तीत्व नस्वीकार्ने कारण कांग्रेसको उपस्थिति सबैतिर फिन्ताङ हुँदै गएको हो।’

गत अधिवेशनको गुटगत प्रभावले स्थानीय कांग्रेसजनमा हार्दिकताको अभाव देखिएको न्यौपाने स्वीकार्छन्। यद्यपि कांग्रेस कलह उनले भनेजस्तो तहमा मात्रै सीमित छैन। जानकारहरुका अनुसार पार्टीभित्र फरक विचार राख्नेलाई भौतिक रुपमै ‘टप्काउन’ पनि कतिपय तम्तयार देखिन्छन्।

यसअघिको कार्यसमितिमा बेतिनी सामुदायिक वनमा कांग्रेसका ज्योति थापा र कृष्णराज गिरीले भारी मत सहित क्रमशः कोषाध्यक्ष र सह-सचिव पदमा जित हात पारेका थिए। यसपटक नेतृत्वमा परिस्कृत हुँदै अध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका दुवैजना पराजित बनेका हुन्।

पार्टी नेतृत्वको अनिच्छाका कारण उनीहरुलाई कार्यकर्ताको एउटा पंक्तिले भोट नै नहालेर असहयोग गरेकोे विश्वस्त सुत्रले बतायो। कतिसम्म भने उर्लाबारी नगरपालिकामा कांग्रेसबाट निर्वाचित खड्ग फागो मेयर छन्।

उनै फागो वनको साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि निम्तयाइएका थिए। कार्यक्रममा मन्तव्य राख्ने क्रममा फागोले प्रतिकुल अभिव्यक्ति दिएकोले पनि कांग्रेस उम्मेदवारको हारको कारक बनेको बताइएको छ।

कांग्रेस प्रदेश १ का सह-महामन्त्रीसमेत रहेका फागोले ‘म कांग्रेसलाई भोट हाल्नुस भन्दिन’ भन्दै उद्घाटनमा भाषण गरेका थिए। प्रसंगबाहिर उनले त्यसो भन्नुको तात्पर्य उनको व्यक्तिगत लाभहानीलाई धेरैले अर्थ्याएका छन्।

फागो नजिकिँदै गरेको स्थानीय चुनावमा पुनः मेयरको उम्मेदवार बन्ने दौडमा छन्। ‘म यो पार्टी उ पार्टी हेर्दिन’ भन्नाले सबको मान्छे हुँ भनेर विपक्षी मतदातालाई रिझ्याउन खोजेको सहजै बुझ्न सकिन्छ।

प्रकाशित मिति: : 2022-01-30 11:02:00

प्रतिकृया दिनुहोस्