चन्दननाथ- ३ खाेलीकाेटका गाेविन्द खत्री बिहान छ बजे उठेर बाइकमा बजार निस्कन्छन्। दिनभरिलाई पुग्ने, तरकारी र मासु लिएर हाेटेलमा पुग्छन्।
त्यतिञ्जेल हाेटेलमा कामदारहरु चिया बेचिरहेका हुन्छन्। त्यसपछि खाना खाजाकाे तयारी हुन्छ। उनका नियमित ग्राहक त छैनन्। तर, ग्राहक नभेटिएलान भन्ने चिन्ता छैन। किनभने उनकाे हाेटेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे मुल गेटकाे ठिक विपरीत दिशामा छ।
भर्ना भएका बिरामी र तीनका आफन्तहरु गाेविन्दका ग्राहक हुन्। न्युनतम दरभाउमा खाना खुवाउँदा पनि उनकाे आम्दानी राम्राे छ। उनले हाेटेल संचालनका लागि सुरुमा जग्गा भाडामा लिएका थिए। हाल उनी त्यही जग्गाको मालिक बनिसकेका छन्। त्यस अलावा दुई ठाउँमा जग्गा समेत किनेका छन्।
हाेटेल व्यवसयमा लागेका उनकाे लक्ष्य प्रहरी बन्ने थियाे। पढाइ भने फार्मेसी विषयकाे भयाे। यसरी जीवनकाे लक्ष्य एक, अध्ययन एक र नियमित काम अर्काे भएपछि उनी भन्छन्,'जिन्दगी साेचेजस्ताे रहिनछ।'
उनी माध्यमिक तहमा पढ्दै गर्दा उमेर पुगेपछि प्रहरीकाे जागिर खाने भनेर कुरिरहेका थिए। त्यसमा उनकाे लाेभ थियाे, 'प्रहरी भएपछि देशभर घुम्न पाइन्छ।' एक जना पुलिसले उनलाई त्यस्तै सुनाएका थिए।
२०६१ सालमा उनले एसएलसी दिए। नतिजा एक विषय लागेकाे आयाे। पुरकमा पास भए। जुम्ला बहुमुखी क्याम्पसबाट आइए सकाए। पुलिस हुने रहरले उग्र रुप लिएकाे थियाे। संयाेग त्यही बेला उनका बुबा कालिबहादुर खत्रीसँग राम्राे मित्रता भएका एसएसपी सुरेश केसीले उनलाई असही बनाउने प्रस्ताव गरे। उनी खुसीले गदगद भए। तर, त्याे खसी एक निमेसमै फुटिजाने पानीकाे फाेकाजस्ताे भयाे।
कडा स्वभावका बुबाले माओवादी शशसत्र द्वन्दकाे बेला उनलाई पुलिस जागिर खान दिएनन्। 'त्यसपछि मैले पुलिस हुने सपना त्यागिदिएँ। अब काठमाडौं गएर बिएमा आर्डी र साेसाेलाेजी पढ्छु साेचेकाे थिए,' उनले ती दिन सम्झिदै भने, 'तर बुबाले जागिर खाए पनि पैसा कमाउने हाे, व्यापार गरेपनि पैसा कमाउने हाे भनेर २०६३ सालमा फेन्सी पसल खाेलिदिनु भयाे।'
यसरी पुलिसकाे जागिर खाने साेचेका उनी साउजी बने। २०६९ सालसम्म साउजी भनेर परिचित उनलाई फेरि बुबाले नै अर्काे लाइनमा लगाए। उनका जेठा दाइले अस्पताल नजिक फार्मेसी संचालनमा ल्याएका थिए। त्यसकाे लाइसेन्स आफ्नाे नाममा थिएन। उनले भने,'बुबाले आफ्नै लाइसेन्स भएकाे फार्मेसी खाेल्नुपर्छ भन्नुभयाे। तेराे उमेर छ, तैं पढ्न जा भनेर मलाई भन्नुभयाे। मैले नाई भन्न सकिन।'
उनी दुई महिना अगाडि नेपालगञ्ज गएर तयारी कक्षा लिए। ४० जनामा ३७ नम्बरमा नाम निस्कियाे। तीन वर्ष फार्मेसी पढे। रिजल्ट आउनुञ्जेल चार वर्ष बित्याे। २०७२ सलमा उनका बुबा बिते। उनले कडा स्वभावका बुबालाई सम्झदै भने,'फार्मेसी पसलमा बसेर छाेराले ओैषधि बेचेकाे बुबाले हेर्न पाउनुभएन।'
त्यसपछि घरकाे जिम्मेवारी उनकै काँधमा आयाे। सहमतिमा उनका तीन भाइले छुट्टिने निर्णय गरे। उनी आमासँग बसे। २०७१ साल कार्तिकमा उनकी श्रीमती उमाकाे स्थायीमा नाम निस्कियाे। त्यही बेला नर्सिङमा पनि नाम निस्किएको थियाे। तर, काेलेनिकाकाे जागिबाट स्वच्छिक अवकास लिएका उनका बुबाकाे मासिक पेन्सन तीन सय मात्रै आउने हुनाले पढाउन सक्ने स्थिति बनेन र उनले जागिर खानुपर्ने भयाे। पछि घर व्यवहार चलाउन सहज हुन थाल्याे।
उमा सिएमए पढ्नुभन्दा अगाडि नै बिहे गरेर आएकी थिइन्। सिएमए घरले पढाएकाे थियाे। त्यसमा गाेविन्दका उनका दाइ, भाउजुले सहयोग गरेपछि उनकाे भविष्य राम्राे हुन सक्याे। पढाइ सकिएपछि गाेविन्दले फार्मेसीकाे लाइसेन्समा निकाले। 'स्वास्थ्यकर्मी भइहाले फार्मेसी नै चलाउँला' साेचेका उनलाई कसाेकसाे ओैषधि पसलमा बस्ने संयाेग मिलेन।
२०७५ साल साउनमा एक जना महिला बितेर मलामी गएकाे बेला चिहान घाटमा कुरै कुरामा प्रतिष्ठान अगाडिकाे जग्गा मालिकले भाडामा लिन्छु भनेकाे मान्छेले जग्गा भाडामा लिन नआएकाे बताए। त्यसपछि उनले, 'उसाेभए मलाई दिनुस् न' भने।
पछि त्याे जग्गा अरुले पनि भाडामा लिने मान्छे थपिए। भाडा बढी दिने बीचमा माेलमालाई भएर महिनाकाे १४ हजार भाडा तिर्ने गरी सम्झाैता भयाे। साउनमा सम्झाैता गरेकाे उनले पाँच महिनाकाे भाडा फाेकटमा तिरे। सँधै पैसा खर्च मात्रै हुनेजस्ताे देखेपछि २०७७ मंसिर १४ गतेबाट उनले हाेटल संचालनमा ल्याए।
'हाेटल संचालनमा ल्याएपछि स्वास्थ्य पढेकाे मान्छे हाेटेलतिर लाग्याे भनेर थुप्रैले आलोचना गर्नुभयाे,' उनले भने, 'याे पछिकाे सेन्टर हाे भन्ने मलाई लागेकाे थियाे। नभन्दै पुल बन्यो र मेरा दिन सुरु भए।'
हाेटेलले नै उनकाे घर व्यवहार चलायाे। हाेटेल व्यवसायबाट साेचे भन्दा राम्राे आम्दानी लिन सकिएकाे उनले बताए।
सुरुमा १ हजार १५ सय व्यापार हुन्थ्यो। जब पुल बन्याे व्यापार ह्वात्तै बढ्यो। दिनमा पचास हजारसम्मकाे काराेबार भएकाे उनले सुनाए। 'त्यसबेला उनले आठ जनालाई राेजगारी दिएका थिए। अहिले छ जना कामदारले राेजगारी पाइरहेका छन्। मासिक ८० हजार तलबमा खर्च हुन्छ,' उनले भने, 'अहिले ११ लाख जति उदाराे उठ्न बाँकी छ। महिनामा एक दुई जना मान्छेलाई सित्तैमा खुवाउनुपर्छ। टाढाबाट आएका बिरामीसँग पैसा सकियाे भने कर गर्न सकिदैन।'
गाेविन्द आफूलाई प्रतिष्ठानले जन्माएकाे हाेटेल व्यवसायी भन्छन्। 'प्रतिष्ठान आफूले दिन सकेकाे दिइहाल्याे। आफूले दिन नसकेको यस्तै व्यापार व्यवसायबाट दिइरहेकाे छ,' उनले भने, 'जुम्ला, हुम्ला, कालिकोट, दैलेख, डाेल्पा, एक्सिडेन्ट्ल केस आयाे भने बाहिरकालाई प्रतिष्ठानले उपचार गर्छ। हामी उनीहरुलाई खाना, खाजा दिन्छौं। यसरी हाम्राे राेजिराेटी चलिरहेको छ।'
उनले अब अब हाेटेल र फार्मेसी दुबै चलाउने साेचेकाे बताए। हाल उनी कर्णाली प्रदेशकाे फार्मेसी महासंघका प्रदेश सदस्य पनि छन्।
यस वर्ष उनी घर बनाउन लागेका छन्। उनका अरु तीन जना कर्मचारी पनि घर बनाउँदैछन्। उनले भने,'काम मेराेमा गर्ने उनीहरुलाई पैसा खाेज्न अर्काेमा जानु कसरी भन्नू? त्यसैले मैले नै घर बनाइदिने हुनाले याे वर्ष पैसाकाे सर्टेज हुनेवाला छ।'