चालकको आक्रोश : हाम्रो किस्ता सरकारले तिर्ने कि जोर-बिजाेरले ? (भिडियाे)

देशभर पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण बढ्न थालेको छ।

संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले जोर-बिजोर प्रणालीका आधारमा सवारीसाधन सञ्चालन गर्न आदेश दियो।

जसअुनसार अहिले काठमाडाैँ उपत्यकाका सडकमा जोर-बिजोर प्रणालीमा सवारीसाधनहरु चलिरहेका छन्। तर सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै लागु गरेको जोर-बिजोर प्रणाली गलत भएको सवारी चालकहरुको भनाई छ।

सरकारले जोर-बिजोर प्रणाली लागु गरेर जनतालाई दुःख दिएको चालक सूर्यबहादुर तामाङ बताउँछन्।

‘कोरोना रोक्न गरेको जोर-बिजोरले झनै संक्रमित बढाउने देखिन्छ’, उनले भने, ‘यसले सवारीसाधनलाई मात्र कम गरायो, मान्छेको भीडलाई कम गरेन।’

सिटको क्षमताअनुसार मात्र यात्रु चढाउन पाइने निर्णय सरकारले गरेता पनि यसलाई पालना गर्न नसकिने उनी बताउँछन्।

‘सबै जनालाई घर जान र कतै बाहिर जान हतार हुन्छ, भीड भएका गाडीमा नै यात्रुहरु चढ्ने गर्छन्’, उनले भने। सरकारले गरेको उक्त निर्णय यातायात व्यवसायीहरुका लागि असहज भएको तामाङको भनाई छ।

एकदिन गाडी गुडाएर आफ्नो गुजार नहुने भन्दै उनले भने, ‘गाडीको किस्ता र परिवारको पेट पाल्नै पर्यो।’

सरकारले गरेको ‘स्मार्ड लकडाउन’ र जोर-बिजोर प्रणाली ठिक नभएको चालक मोगार तामाङ बताउँछन्। जोर-बिजोर प्रणालीले कोरोना घटाउनुको सट्टा बढाउने उनको तर्क छ। ‘यसले साधन घटायो र मान्छेकाे चाप बढायो’, उनी भन्छन्, ‘यो ठिक होइन।’

जोर-बिजोर प्रणालीले कोरोना संक्रमण झनै बढ्ने उनले बताए। ‘यात्रुहरुलाई गाडीमा कोच्याएर लैजानु रहर होइन बाध्यता हो’, उनी भन्छन्।

सरकारले गरेको यस्ताे निर्णयले किस्तामा निकालेको पैसा तिर्न नसकिने भन्दै उनी भन्छन्, ‘न त हामीलाई सहज भयो, न यात्रुहरुलाई नै। यस्तो प्रणाली खारेज गर्नुपर्छ।’

सरकारले निम्न वर्गका नागरिकलाई मारमा पारेको चालक शुक्र तामाङको भनाई छ। ‘सरकारले जस्तो नियम लागु गरेपनि बेफाइदा हुने भनेको हामी जस्तालाई नै हो’, उनले भने, ‘धनीले जसोतसो आफूलाई उकास्छन्। सरकाले हामी जस्ताे निम्न वर्गका लागि सोच्नुपर्छ।’

सरकारले आफूहरुको कमाइ खाने भाडो खोसाउन लागेको भन्दै उनले भने, ‘एकतर्फ जोर-बिजोर प्रणाली, त्यसैमाथि पेट्रोलको मूल्य वृद्धि। यो हाम्रो लागि न्याय भएन।’ सरकारले लागु गरेको जोर-बिजोर प्रणाली तुरुन्तै फिर्ता हुनुपर्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2022-01-27 20:10:00

प्रतिकृया दिनुहोस्