कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेकाे सम्पत्ति विवरणअनुसार उनको काठमाडौं, हुम्ला र बाँकेसहितका जिल्लामा प्रशस्तै जग्गा देखिएको छ।
मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्।
उनले आफ्नो नाममा चिलिमे हाइड्रोपावरको २६ सय कित्ता साधारण सेयर, ज्योति विकास बैंकको संस्थापक सेयर १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता साधारण सेयर रहेको जनाएका छन्।
शाही तथा उनका परिवारको नाममा विभिन्न बैंक, सहकारी संस्थाहरुमा १ करोडभन्दा बढी बचत रहेको देखिएको छ।
शाहीको नाममा सिटिजन बैंकमा पारिश्रमिकबाट पाएको २५ लाख रुपैयाँ, सानिमा बैंकमा ३८ लाख, एनआइसी एशिया बैंकमा १४ लाख, शुभचिन्तक सहकारीमा ६ लाख रुपैयाँ रहेको देखिएको छ।
उनकी पत्नी बसन्ती शाहीको नाममा शुभचिन्तकमा ६ लाख, सिटिजन्स बैंकमा १५ लाख र एसबीआई बैंकमा १६ लाख रुपैयाँ रहेको छ।
शाहीले आफ्नो सम्पत्तिमा ५६ तोला सुन, २ किलो चाँदी रहेको जनाएका छन्। यस्तै उनीसँग सवारीसाधनको नाममा ९५ लाखको कार, हुम्लाको सिमकोट– ६ मा ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर क्षेत्रफलको जग्गा, काठमाडौँ महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर, बसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट–६ मा ५४८.२५ वर्गमिटरमा क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन्।
उनले काठमाडौं चन्द्रागिरीमा १० रोपनीभन्दा बढी जग्गा खरिद गरेकाे बताएका छन् भने आफूसँग चौँरी, जुमा, गाई, गोरु १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको विवरणमा खुलाएका छन्।
यसअनुसार उनी औसत नागरिकभन्दा राम्रो प्रतिव्यक्ति आम्दानी भएका, सुखसयलकाे जीवन बाँचिरहेका कराेडपतिमा पर्छन्।
समग्र नेपालकाे बहुआयामिक गरिबीकाे दर २८.६ प्रतिशत हुँदा कर्णालीकाे ५१.२ प्रतिशत छ। प्रदेशको आधाभन्दा बढी जनसंख्या गरिब हुँदा उनी धनी नेपालीमा सुचित छन्। प्रतिव्यक्ति आय ४७४ डलर हुँदा उनकाे आम्दानी लाख डलरमा देखिन्छ।
उनले नेतृत्व गरेकाे कर्णाली प्रदेशका नागरिककाे औसत आयु, शैक्षिकस्तर समेत निकै कमजाेर देखिन्छ। समग्र नेपालकाे औसत आयु ६८.८ वर्ष हुँदा कर्णालीकाे ६६.८ वर्ष छ। त्यस्तै मानव विकास सुचकांकमा नेपालकाे ०.४९ अंक छ भने कर्णालीकाे ०.४२७ मात्रै छ।
कर्मचारीमा सिमित पहुँच, वैदेशिक राेजगारी (त्यसमा पनि भारत) बाहेक अन्य सम्भावना नरहेकाे कर्णाली विकास निर्माणमा अन्य प्रदेशकाे तुलनामा पछि छ।
त्यस्तै लगानीकाे हिसाबले निकै पछि रहेकाे कर्णालीका मुख्यमन्त्रीकाे क्षेत्रमा व्यक्तिगत लगानी उल्लेख्य देखिन्छ। यसमा राज्यकाे नीतिले प्रभाव पारेकाे छ।
उत्पादनका साधनमा स्वामित्व, धनकाे वितरण, शिक्षा प्राप्ति, स्वास्थ सेवाकाे उपभाेगलगायत मामलामा राज्य केही सिमित मुठ्ठीभर पहुँचवालाकाे पक्षमा हुँदा कर्णालीका मुख्यमन्त्री जस्तै केही सिमित व्यक्ति धनी भइरहन्छन् भने बहुसंख्यक जनता झन् झन् गरिब बन्दै जान्छन्।