३० चैत २०६२, जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर वा विमान चढेर नेपालगन्ज पुगेपछि मात्र गाडी देख्ने अवस्थाबाट गुज्रिरहेका जुम्लीका लागि आफ्नै आँगनमुनिबाट हर्न बजाउँदै गाडी कुदेको देख्नु सपनै जस्तो थियो, एक प्रकारले ।
जुम्लाको तिला–९ खोप्रीका स्थानीय टेकेन्द्र बुढा आफ्नो बाबु (बुबा)सँग २०६३ वैशाखमा विद्यालयका पोसाक र शैक्षिक सामग्री किनमेल गर्न खलंगा पुगे । त्यतिबेला उनी नौ वर्षका थिए । जुम्लाको सडकमा गाडी गुडेको देख्ने खोप्रीका पहिलो बालक थिए उनी । उनी घर फर्कंदै गर्दा उनको मनमा एउटा जिज्ञासा उत्पन्न भयो, मेरो गाउँमा पनि मोटर बाटो पुग्छ कि पुग्दैन ।’
सदरमुकामबाट झन्डै ६ घण्टाको पैदल यात्रापछि टेकेन्द्रको गाउँ खोप्रीमा पुगिन्छ । उनका बाबुले नुन, चामल बोके र टेकेन्द्रले आफ्नो झोला सम्हाले । तातोपानी गाउँपालिका–७ सर्मी गाउँबाट हिँड्दै गर्दा शिरको टोपी खस्ने उकालोमा बाबुको पिठ्युँमा बडेमानको भारी हेर्दै प्रश्न गरे, ‘बुबा, हाम्रो गाउँमा कहिले मोटर बाटो पुग्छ ? निधारमा नाम्लो कहिले छुट्छ, अनि गाउँमा गाडी कहिले आउछ ?’
उनका बाबुले जवाफ दिए, ‘आउँछ छोरा, आउँछ, हाम्रो पनि पालो आउँछ ।’ अहिले टेकेन्द्र २५ वर्षका भए । तर, उनको गाउँमा मोटरबाटो पुगेको छैन ।
जुम्ला सडक सञ्जालमा जोडिएको १६ वर्ष पूरा भयो तर जुम्लाको तिला गाउँपालिकाका दर्जनौं गाउँमा गाडी पुगेको छैन । अहिले पनि किसानका कृषिजन्य उत्पादन कुहिएर खेर जाने गरेका छन् । विगत सम्झँदै टेकेन्द्रले राजधानीसँग भने, ‘पर्खेरै बिते कैयौं हिउँद र वर्षा, सडक बनेन, अहिले पनि एकाबिहानै उठेर खाद्यान्न बोकेर त्यही उकालो चढेर राति घर पुग्नुपर्छ ।’