तपाईले कतै एमपी केयरलेस त कतै महेन्द्र उपाध्यायकाे नाममा प्रकाशन भएका कथाहरू पढ्नुभएकाे छ? छैन भने एकपल्ट अवश्य पढ्नुहाेला। धेरैजसो कथाका लिंक इन्टरनेटमा भेटाउन सकिन्छ।
दुई पटक बाह्रखरीकाे कथा प्रतियोगितामा उत्कृष्ट २५ मा पर्न सफल लेखकले थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर कथाहरू लेख्दै आएका छन्।
कथामा मात्रै हाेइन उनकाे यात्रा वर्णनमा समेत आख्यानकाे स्वाद पाइन्छ। लेखककाे सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकाे उनी जहाँ जान्छन् त्यहाँकाे संस्कृति र ती संस्कृति भित्र छुटाइएका सिमान्तका कथाहरू बाहिर ल्याउने काेसिस गर्छन्। नपत्याए एकपल्ट पढि हेर्नुस् त, 'किंङ्स ल्याण्ड'।
'किङ्स ल्याण्ड'मा भएका सिंजाका कथाहरू हुन् या कालिकोट संस्मरण, सबैमा तपाईं आख्यानकाे स्वाद लिदै सिमान्तका कथाहरू पढ्न पाउनुहुनेछ।
यदि तपाईंले एमपी वा महेन्द्र पढ्नुभएकाे छैन भने पनि बिग्रेको केही छैन। अब केही समय मात्रै कुर्नुस्, उनकाे उपन्यास 'मिन्झारी' आउँदैछ। म लेखेर दिन्छु, त्यसपछि तपाईं उनका कथाहरू खाेजीखाेजी पढ्नुहुनेछ।
उनका उत्कृष्ट कथाहरूमध्ये एक हाे, 'टेबुल नम्बर सात'। कालिकोटकाे एउटा हाेटेलकाे अध्याँराे काेठालाई पृष्ठभूमि बनाएर लेखिएकाे कथाकी मुख्य पात्र छ, 'जिराे कुमारी'।
महिलाहरूले लगाउने सबैजसो गहनाहरू, 'जिराे' आकारमा हुने हुनाले नै कथाकी मुख्य पात्रको नाम जिराे कुमारी रहन गएकाे लेखककाे भनाई छ। लेखक एक कदम अगाडि बढेर भन्छन्, 'गहनामा जिराे आकार देखिने महिलाहरूलाई समाजले सधै जिराे बनाइरहयाे।'
जब समाजमा पुरूष सत्ता हावी भयाे, त्यसयता महिलाहरू जिराे हुन थालेका हुन। महिलाका गलामा लगाइने मालाहरूमा नाैगेडी, तिलहरी, मुगा, माेती, पुली, तुथाेका एक गेडे र दाेलडी, नाककाे नथनी, बुलाकि, फुली, हातका बाला र खुट्टाका कल्लीकाे विकास सजाय स्वरूप लगाइएका जिराे आकारका नेलहरू थिए। जो दास युगमा दासहरूलाई फलामका नेल बनाएर लगाइएका हुन्थे।
फलामका हतकडी लगाउने युग त सकियो तर त्यसको नयाँ संस्करण 'जिरो कुमारीका' रूपमा देखिएका छन्। पछि त्यसैलाई कार्पाेरेट हाउसले फेसन बनाइदिए। जसले आजकाे समयसम्म आइपुग्दा समेत महिलाहरूलाई 'जिराे' नै बनाइरहेकाे छ।
त्यस बाहेका समाजले चलाएका प्रथा र परम्परामा समेत महिलाहरू जिराेबाट बढेर एक हुने खाली ठाउँहरू छाेडिएकाे छैन। त्यसैले लेखकले कथामा सूक्ष्म ढंगले पात्रकाे नाम 'जिराे कुमारी' सृजना गरेका छन्।
त्यस बाहेक तराईका आदिवासी थारूहरूका सिमान्त कथा त्याे पनि मालिककाे आँखाबाट, मालिककै साेचबाट र मालिककै रबैयाबाट कमैयाहरू माथि गरिने व्यवहारकाे दुरूस्त चित्रण भेटिन्छ। जाे पढ्दै गर्दा पाठक आफू पनि पात्रसँगै भएकाे महसुस गरिरहन्छ।
पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाइदैन थियाे। जब पहाडियाकाे प्रवेश भयाे तब तराईको समाज शंका उपशंकाकाे उब्जाउ भूमिमा परिणत भयाे। तराईको उर्बर भूमिमा पहाडियाका आँखा गाडिए। एक मानाे भैसीकाे घ्यू दिएर जमिन खाेस्न थालियाे। बिस्तारै तराईकाे फाँटिलाे भूभाग र जंगलका मालिक थारूहरू भूमिहीनताकाे दुस्चक्रबाट पिसिन थाले। परिणाम तराईका फाँट जस्तै फराकिला मन भएका थारूहरू संकुचित घेरामा बाँधिन थाले। अनि सुुरू भए कमैया, हरूवा, चरूवा जस्ता दास युगिन आधुनिक प्रथा, जसले थारूहरूकाे मन फाट्दै जान्छ।
त्यहि बीचमा सिमान्तकृत समुदायकाे पक्षमा भएकाे शसस्त्र द्वन्द्वमा समेत घुमाइफिराई तीनै पहाडियाहरू नेता बन्छन् र शासन गर्छन्। अनि थारूहरूकाे फाेटेका मन सिउन कठिन बनिदिन्छ। जसले निम्त्याउँछ, टिकापुर घटना।
'मिन्झारी' समाजले थारूहरूमाथि एकाेहाेराे आराेप मात्रै लगाइरहेको टिकापुर घटना र त्यसमा जबर्जस्त दाेषी ठहर्याइएका रेशम चाैधरीलाई नायक बनाएर व्यवस्थित रूपमा लेखिएका उपन्यास हाे। जसकाे कथा सुदूरपश्चिमकाे समथल भूभाग टिकापुरबाट सुरू भएर कर्णालीकाे उबडखाबड भूभाग दैलेखसम्म पुग्छ।
टिकापुर घटनामा मारिएका नागरिकहरूप्रति खेद प्रकट गर्दै रेमश चाैधरीकाे पक्षमा सामाजिक संजालमा खगेन्द्र संग्राैलाहरूले वकालत गरिरहँदा एक तहका लेखकहरू घटनास्थल नपुगी, घटनाकाे सतही विश्लेषण गरेर संग्राैला लगायत लेखकलाई 'कथित प्रगतिशील'काे ट्याग लगाइरहेका थिए। मिडियाहरू सत्यतथ्य नबुझेर 'रे' मा समाचार बनाइरहेका थिए। जसकाे असर थारू र इतरकाे समाजमा परिरहेको थियाे।
पहाडियाहरू थारूका पसल र हाेटलमा जान छाेडेका थिए। थारूहरू उनीहरूसँग आँखा जुदाएर बाेल्न सकिरहेका थिएनन्। घटना र त्यसकाे असरकाे मुल जराे लेख्ने आँट कसैले गरेकाे थिएन वा कसैले लेख्न नै चाहेन। पेसाले ईन्जिनियर लेखकले समाते, त्यही विषय। जाे उपन्यास बन्याे।
'मिन्झारी' थारूहरूकाे मुल देउता बाघ हाे। तर उसलाई गाइकाे दुधकाे भाेग चड्छ। अनाैठाे देउताकाे नामबाट न्वारान गरिएकाे उपन्यासकाे प्रकाशन मिति माघ एक गते ताेकिएपनि प्रकाशक संस्थाका कारण केही समय ढिलाे हुने भएको छ।
प्रकाशक संस्था 'रेडपाण्डा'ले, माघ एक गते सूचना निकालेर 'माघीको दिनलाई 'मिन्झारी डे' बनाउने रहर थियो। सकिएन। मिन्झारीका लेखक महेन्द्र ऊपाध्याय र नयाँ किताबको प्रतिक्षा गर्नु भएका शुभचिन्तक पाठकहरू, माफ गर्नुहोला। मिन्झारी बिमोचनको नयाँ दिन तोकेर खबर दिनेछौं,' भन्याे। उक्त सूचनासँगै लेखक उपाध्यायकाे उपन्यास 'मिन्झारी' बजारमा आउन केही ढिलाे हुने भएकाे छ। जसबाट पाठकहरूले पठन भाेक मेटाउन अझै केही समय कुर्नुपर्नेछ।
उपन्यास तपाईको हातमा आउँदासम्म केही ढिलाे हाेला तर त्याे पक्कै पनि स्वादिलो पठन सामग्री बन्नेछ। स्वाद लिनलाई पर्खि बस्नुस है! हाम्राे कर्णालीतिर एउटा उखान छ, 'धिर गर्यापै खिर खान पाइन्छ!'