के कोरोना महामारीबाट स्थानीय रोग बनेको हो?

नागरिक दैनिक

श्रीराम सुवेदी

तीन वर्षअघि चीनबाट सुरु भएको कोरोना महामारीको विश्वव्यापी कहर अझै जारी छ। एकपछि अर्काे लहरका रुपमा देखिएको यो रोगलाई सधैं महामारी (पान्डेमिक) तथा जनस्वास्थ्यका लागि आपत्काल मानिरहने अथवा यसलाई बेलाबेलामा देखिने स्थानीय रोग (इन्डेमिक) मान्ने भन्ने विषयमा विश्वमा बहस सुरु भएको छ।  

महामारीको तेस्रो लहरका कारण नेपालमा दिनहु संक्रमणको ग्राफ बढेको, अस्पतालमा भर्ना हुने बिरामीको संख्या उकालो लागिरहेका बेला यहाँ यो विषयको सान्दर्भिकता कम प्राथमिकतामा पर्न सक्छ। तर महामारीको प्रसारण रोक्न लकडाउन र अन्य कडा निषेधात्मक व्यवस्था जारी राख्ने अथवा पहिचान, रोकथाम र उपचारको यथेष्ट व्यवस्थासहित भाइरससँगै बाँच्ने भन्नेमा विश्वव्यापी बहस सुरु भएको छ।

यो शृंखलामा स्पेनलगायतका केही युरोपेली राष्ट्रले यो रोगलाई फरक हिसाबले हेर्नुपर्ने दृष्टिकोण अगाडि सारेका छन्। यी राष्ट्रले यो रोगलाई इन्डेमिक रोगको हिसाबले परिभाषित गर्नुपर्ने र सोही अनुसार उपचार गर्नुपर्ने तर्क अगाडि सारेका छन्। गत मंगलबार विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले तत्काल महामारीको अन्त्य हुने संकेत नरहेको र ओमिक्रोन भेरियन्टलाई हलुका रुपमा लिँदा रोगविरुद्धको प्रतिकार्य प्रभावित हुने चेतावनी दिएका थिए। 

तर स्पेन, पोर्चुगल, बेलायतलगायतका राष्ट्रले अगाडि सारेको अवधारणाअन्तर्गत रोगलाई संकटको अवस्था (क्राइसिस मोड) बाट नियन्त्रणको अवस्था (कन्ट्रोल मोड) मा रुपान्तरण गर्न आवश्यक छ। रुघाखोकी (फ्लु) र दादुरालाई जस्तै यो भाइरसको नियन्त्रणमा प्राथमिकता दिनुपर्ने तर्क उनीहरूको छ। रोगको संक्रमण बारम्बार बल्झिरहने तथ्यलाई स्वीकार गर्दै जोखिममा रहेका वर्ग र जटिल अवस्थामा रहेका बिरामीलाई विशेष ध्यान दिनुपर्नेमा यी राष्ट्रको जोड छ।  

गत साता स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड–१९का कारण मृत्युदर अत्यन्त कम रहेको तर्क गर्दै युरोपियन युनियनले यो रोगलाई इन्डेमिक रोगको परिभाषाअन्तर्गत राख्न सुझाएका थिए। स्पेनको यो प्रस्तावअनुसार कोभिड–१९ का हरेक बिरामीको रेकर्ड राख्न आवश्यक छैन र लक्षण भएकालाई अपरिहार्य रूपमा परीक्षण गर्न पनि आवश्यक छैन। तर बिरामी भएको खण्डमा उपचारलाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई स्पेनिस प्रस्तावमा जोड दिइएको छ। 

प्रकाशित मिति: : 2022-01-21 08:18:00

प्रतिकृया दिनुहोस्