स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ, स्वदेशी उत्पादकलाई प्रोत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्छ भन्ने चेतना र जागरण जनतामा आएको दिन मात्रै ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सार्थक हुनेछ
वैदेशिक व्यापारमा बढ्दो असन्तुलन चिन्ताको विषय बनेको छ । निर्यातको तुलनामा आयातको परिमाण अत्यधिक बढ्दा व्यापारघाटा चुलिँदो छ। व्यापारघाटा बढ्दै जाँदा अर्थतन्त्र परनिर्भर, थप कमजोर र जोखिमयुक्त बन्दै जान्छ। यसो त विश्वका कुनै पनि मुलुक सबै वस्तुका लागि पूर्ण रूपमा आत्मनिर्भर छैनन् र हुन पनि सक्दैनन्। बरु अन्तरनिर्भरचाहिँ हुन्छन्। आयात त विश्व अर्थतन्त्रमा अग्रपंक्तिमा रहेका अमेरिका र चीनले पनि गर्छन्। तर, उनीहरूको आयात र निर्यातमा सन्तुलन हुन्छ।
नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा निर्यातभन्दा आयातको परिमाण व्यापक रूपमा बढी हुँदा अर्थतन्त्र नै परनिर्भर र कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापारमा निर्यात र आयातको हिस्सा क्रमशः ८.४० प्रतिशत र ९१.६० प्रतिशत रहेको छ। चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो पाँच महिनामा पनि निर्यात र आयातको हिस्सा क्रमशः १०.९३ प्रतिशत र ८९.०७ प्रतिशत रहेको छ। तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार कहालीलाग्दो देखिन्छ।