पछिल्ला केही दिनभित्र भारतको उत्तर प्रदेश सरकारका तीन मन्त्रीहरू– स्वामी प्रसाद मौर्य, दारासिंह चौहान र धरमसिंह सैनीले आफ्नो पदबाट राजीनामा दिए। उनीहरूले सरकार मात्र छाडेनन्, पार्टीसमेत छाडेर समाजवादी पार्टी प्रवेश गरेका छन्। उत्तर प्रदेशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अरू विधायकले पनि सोही बाटो पछ्याए । यो संख्या बढ्ने आशंका गरिँदै छ। प्रदेशमा भाजपा छाड्ने लहरको नजिकिँदै गरेको चुनावमा असर पर्न सक्छ।
उत्तर प्रदेशमा भाजपामाथि हिन्दू–मुस्लिमबीच तनाव सिर्जना गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ। पछिल्लो समय पार्टीले हिन्दू समुदायभित्रको जातिमा आधारित सम्प्रदायमा खेल्ने गरेको बताइन्छ। यस रणनीतिअन्तर्गत, पार्टीले सफलतापूर्वक उच्च जातका मतदाता, गैरयादव पिछडिएका जाति र गैरचमार अनुसूचित जातिका मतदाताको समीकरण बनाएको छ । भाजपाको जातिगत उम्मेदवार चयन प्रक्रियाको विश्लेषणबाट पनि यही प्रस्टिन्छ।
यो सामाजिक गठबन्धनलाई सुदृढ पार्न भाजपाले गैरयादव ओबिसी जाति, विशेष गरी अति पिछडिएका जातिहरू (एमबिसी)का नेतालाई अगाडि सारेको छ। स्वामीप्रसाद मौर्य, दारासिंह चौहान र धरमसिंह सैनी यही समुदायका नेता हुन्। तिनको मौर्य, कुशवाह, शाक्य, सैनी र नोनिया जातिका मतदातामाझ विशेष प्रभाव छ। उत्तर प्रदेशका पूर्वाञ्चल, अवध, बुन्देलखण्ड, रुहेलखण्ड, ब्रज र पश्चिमी भेगमा यी जातिको बाक्लो उपस्थिति छ।