रचनाको सांगीतिक यात्रा : प्रतिस्पर्धामा ‘आउट’, दर्शकको मनमा ‘इन’

तेजन खड्का

काठमाडौँ
Photo : Breaknlinks
Photo : Breaknlinks

नेपाली संगीत क्षेत्रमा छोटो समयमा चर्चा कमाएको नाम हो रचना रिमाल। ‘फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, सुनन पियारी’ जस्ता थुप्रै गीतले अहिले रचनालाई चर्चाकाे शिखरमा पुर्‍याएको छ।

टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रेमीहरुको मनमनमा अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् रचनाले। छोटो समयमा एक हजार बढी गीतमा स्वर दिइसकेकी छिन्।

उनलाई हामीले सोध्यौ,तपाईंको जिन्दगीको सबैभन्दा खुशी क्षण के थियो नि ? 

नेपाल आइडलको अडिसनमा छनौट हुनु।

अनि दुखको क्षण नि ?  उनले फ्याट्टै जवाफ दिइन्,‘आउट’ हुनु।

छोटो, मिठो, रमाइलाे र तत्काल जवाफ दिने चर्चित गायिका रचना रिमालको यो स्टाइललाई धेरै दर्शक/श्रोताले रुचाएका छन्। झापाको ग्रामिण भेगमा मध्यम परिवारमा हुर्किएकी रचनालाई लाखौं दर्शकको अगाडि प्रस्तुत हुन त्यति सहज थिएन। नेपाल आइडलको ‘सिजन थ्रि’ को अडिसनमा ‘जाउँ कि नजाउँ’ उनलाई दोधार थियो। कारण थियो, नजिकिँदै गरेकाे एसईई।

त्यहाँ जाँदा उनलाई पढाई बिग्रिने र भाग लिनेभन्दा संगीत सिक्ने समय भएको भन्दै धेरैले सुझाएका थिए। तर उनको उत्कट चाहना रोकर कहाँ रोकिन्थियो र! अडिसनबारे थाहा पाएपछि उनले एकपटक कोसिस गर्ने जमर्को गरिन्। आमाले हात समाएर नेपाल आइडलको मञ्च चढाएपछि निक्कै तारिफ बटुल्न सफल भइन् रचना। र टप ८ सम्मको यात्रा गरिन्।

रचना प्रतिस्पर्धाबाट आउट भइन् भने दर्शक/श्रोताको मनमा ‘इन’।

धेरै जसो मानिसहरु आफ्नो सफलताको प्रतिक ‘जित’लाई ठान्छन्। तर रचनाको लागि हार नै सपना साकार बनाउने माध्यम बन्यो। उनलाई जान्ने बुझ्नेहरु भन्छन्,‘हार होस् त रचनाको जस्तो। प्रतिस्पर्धामा आउट भएपनि पनि चलेकी रचना नै छिन्।’ तर यो कुरामा रचनाको फरक मत छ।

बिएल नेपालीसँग कुराकानी गर्दै रचनाले भनिन्, मैले प्रतिस्पर्धामा हारे पनि संघर्ष जारी राखेँ। कसैले मेरो स्वर मन पराउनुहुन्छ, कसैले अरुको। हारेको फिल भएको छैन, जितेकै फिल भएको छ। आउट भएपनि धेरैले माया गर्दिनुभएकाे छ। धैरै गीत गाउन पाएँ, त्यहि नै मेरो लागि ठुलो कुरा हो। आउट भए पनि दुखी छैन।’

नेपाल आइडलको यात्रापछि रचनालाई पछाडि फर्किनु परेको छैन रे। ‘रेकर्डिङ र कन्सर्टमा बिजी थिएँ, रचनाले बिएल नेपालीसँग भनिन्, ‘अहिले कोरोना कहरको तेस्रो चरण माहामारी फैलिएका कारण सबै कुरा ‘स्टप’ भएको छ।’

रुमाल चिनो भन्ने रचनाको पहिलो गीत १० कक्षामै हुँदा रेकर्डिङ भएको थियो। उनको जिन्दगी गीतसंगीतकै भरमा टिकेको छ। उनको पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ हो। सो गीतले उनको करियरको बाटो मात्र खोलिदिएन, देशविदेशमा कार्यक्रम गर्न हवाईजहाज सयर गरायो। ‘फोटो फिरिममा’ काे भ्यूज झण्डै डेढ करोड छ।

पहिलो कमाई २५ सय

सानो छँदा गाउँमा साप्ताहिक रुपमा हुने भजनकिर्तनमा गीत गाउँदागाउँदै रचनाकाे स्वर मिठास बन्दै गएको थियो। उनका बुबा पुरोहित थिए। उनी आरतीमा भजन गाउन बुबासँगै जान्थिन्, जहाँ भजन किर्तन हुन्थ्यो। उनी गाउँथिन्, अरु स्वरमा स्वर मिलाउँथे। सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने रचनाले पहिलो कमाई २५ सय पाएको बताइन्। ‘कभर गीत गाउँदा एकजनाले मलाई २५ सय रुपैयाँ दिनुभएको थियो। अहिले त चित्तबुझ्दो रकम पाएको छु। डिमाण्ड गर्न पाएको छु’, उनले भनिन्।

झापा घर भएकी रचनाले पहिलो ‘हवाईयात्रा काठमाडौं टु भद्रपुर’ गरेकी थिइन्, त्यो पनि पहिलो गीत रेकर्डको क्रममा। ‘चटपटे बेच्ने यी बाल प्रतिभाको यति राम्रो स्वर’ भनेर युट्युबमा अन्तर्वार्ता भाइरल भएपछि सांगीतिक क्षेत्रका हस्तीहरुको ‘नोटिस’ भएकी थिइन्। यो कुरा नेपाल आइडलमा भाग लिनु अगाडिकै हो।

उनलाई बसन्त सापकोटाले आफ्नै शब्द संगीतमा ‘रुमाल चिनो’ बोलको गीत रेकर्डिङ गर्ने अवसर दिएका थिए। एउटा भजनमा भाग लिँदा गाउने अवसर नदिएपछि गायिका बन्ने हुटहुटी रचनामा जागेको थियो। सोही कारण गायनमा लाग्नुअघि उनले केही गीतहरु गाएर फेसबुकमा राखिन्, ‘संगीतकार बसन्त सापकोटा अंकलले मेरो फेसुबकका केही गीतहरु सुन्नुभएछ। मेरो स्वर मिठो लागेपछि मलाई काठमाडौं बोलाउनु भयो र गीत रेकर्ड गराउनुभयो।’ यसरी गायनमा आफूलाई पहिलो पटक बसन्त सापकोटाले ब्रेक दिएको उनले बताइन्।

आफूलाई लक्की ठान्छु

सुरु सुरुमा रचनालाई सांगीतिक क्षेत्रमा लागेर केहि हुँदैन जस्तो लाग्थ्यो रे। तर त्यस्तो होइन रहेछ। रचना अनुभव सेयर गर्छिन्, ‘कति जना बिचमै छोडिदिनुहुन्छ। तर न छोड्नु एकदिन अवश्य सफलता मिल्छ। संगीत साधना चाहिँ चाहिन्छ है।’

अरुको तुलनामा तपाईंलाई सफलता छिट्टै मिल्यो हैन र ? भन्ने प्रश्नमा उनले भनिन्, ‘हो नि, धेरै जना अग्रजहरु लामो समयदेखि संघर्षरत हुनुहुन्छ। म छोटो समयमा चिनिन पाएँ। माया पाएँ। त्यो देख्दाखेरी मलाई लक्की फिल हुन्छ।’

प्रेम होइन करिअर बनाउने बेला हो 

रचनालाई प्रेम प्रस्तावहरु धेरै आउँछ रे। तपाईंलाई प्रेम प्रस्ताव कत्तिको आउँछ भन्ने प्रश्नमा रचनाले लजाउँदै भन्छिन्, ‘माया गर्नेहरुलाई, प्रेम प्रस्ताव गर्नेहरुलाई धन्यवाद भन्छु। ‘रिलेसन’ को नजरले सोचेका छैन। भर्खर त १९ पुगेँ। धेरै कामहरु गर्न बाँकी छ। सफलता चुम्नु छ।’

उनले अहिले प्रेम गर्नेभन्दा पनि आफ्नो करिअर बनाउने समय भएको बताइन्।

रचनाले अहिलेसम्म आफ्नो धेरै राम्राराम्रा फ्यान पाएकी छिन्। ‘कसैले धेरै मेहनत गरेर स्केच बनाएर ल्याइदिनुहुन्छ। कति त टाढाटाढाबाट भेट गर्न भनेर आउनुहुन्छ। त्यो देख्दा धेरै खुशी लाग्छ,’ रचना भन्छिन्, ‘तर कसैलाई व्यक्तिगत भेटेको छैन।’ कलाकारहरुको अटोग्राफ लिन खोज्ने रचना अहिले आफैँ अटोग्राफ दिन पाउँदा खुशी छिन्।

गीत गाउन छोड्दिम जस्तो लाग्थ्यो 

गाउँघरमा भजन धेरै गाउँथिन्, रचना। स्कुलमा ‘क्लास’ चढ्दै गएपछि गीत गाउन थालिन्। स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गतका कार्यक्रमहरु हुन्थे। उनलाई गीत गाएर सुनाउन भित्री इच्छा हुन्थ्यो। ‘स्कुलमा हुने प्रतियोगीतामा नाम टिपाएर पनि गीत गाउन नपाउँदा, उद्घोषकले नाम लिई कार्यक्रम सकिँदा गीत गाउनै छोड्दिउँ जस्तो लाग्थ्यो’, रचनाले बिगत सम्झिन्, ‘अबदेखि गीतसंगीत गाउँदिन भन्थेँ। तर मेरो मन कहाँ मान्थ्यो र। तीन/चार दिनपछि गीत गाउन मन लागिहाल्थ्यो।’

ममिको प्रेरणा

रचनालाई सांगीतिक क्षेत्रमा आउने प्रेरणा दिने धेरै छन्। ‘मलाई सांगीतिक क्षेत्रमा प्रेरणा दिने धेरै हुनुहुन्छ। गाउनुपर्छ, गाउन छोड्नु हुँदैन भन्ने धेरै हुनुहुन्छ’, रचना भन्छिन्, ‘विशेष चाहिँ मेरो ममी हो। ममीले नै नेपाल आइडलको स्टेजसम्म पुर्याउनु भएको हो। गाउन सिकाउनु भएको हो। मलाई सपाेर्ट गर्ने देशविदेशमा हुनुहुन्छ।’

रचनाको भर, बन्यो पक्की घर

रचनाको परिवारमा पाँच जना सदस्य छन्, रचनासहित बाबाममी, दिदी र बहिनी। रचनाले चिटिक्क परेको नयाँ पक्की घर परिवारलाई उपहार दिँदैछिन्। यो कुराले उनलाई औधी खुशी लागेको छ। आफ्नो संघर्षको सन्तुष्टि मिलेको छ। ‘रचनाको धमिराले खाएको घर थियो, मक्किएको। कहिले सर्प आएर दुख दिने, सिलिङबाट सर्प झर्ने। डरैमर्दो’, उनले भनिन्।

त्यो देख्दा मलाई दुख लागेको थियो। जसको पनि चाहना हुन्छ नि आफ्नो परिवार राम्रो होस्, सुखी होस, खुशी होस भन्ने। त्यसैले जसरी नि विदेशमा काम गर्न गएर भएपनि घर बनाउँछु भन्ने सोच्थेँ। तर आज गीत गाएर नै नयाँ घर दिन पाएँ’,उनले भावुक हुँदै आफ्नो अठोट पुरा भएको सुनाइन्।

‘अब बनाएर सकिनै लाग्यो नि’, खुशी हुँदै रचनाले भनिन्,‘कोरोना कहरले स्थिति सहज भयो भने घर पूजामा सबैलाई बोलाउँछु नि।’

कुरा काट्नेहरु अहिले प्रशंसा गर्नुहुन्छ

सुरुवाती दिनमा रचनाको कामको कुरा काट्नेहरु नभएका होइनन्। कुरा काट्नेहरु गाउँमा भेटिए, गाउँ पर पनि। तर रचनाले यस कुराको कुनै प्रवाह गरिनन्। ‘सबैले सपोर्ट गर्नुहुन्छ भन्ने पनि छैन’, रचनाले भनिन्, ‘कसैले कुरा काटेनन् भने कसरी अगाडि बढ्ने?’ कुरा काट्नेहरु नै सफलताको सिँढी भएको उनी स्वीकार गर्छिन्। ‘त्यो कुरामा चिन्ता गर्ने कि काम गरेर अघि बढ्ने, आफूमा भर पर्छ। पहिले मेरोबारे जे पायो त्यहि भन्नेले अहिले केहि पनि भन्न सक्नुहुन्न’, रचनाले भनिन्, ‘त्यसमा मलाई ‘प्राउडफिल’ हुन्छ।’

म्युजिकमै ब्याचलर गर्न खोज्दैछु

पढाईमा खासै समय दिन नभ्याएकी उनले उकृष्ट नतिजासहित कक्षा १२ पास गरेकी छन्। रचनाले म्युजिकमै ब्याचलर गर्न खोज्दैछिन्। किनकि उनलाई थाहा छ, आफूले जान्नुपर्ने, सिक्नुपर्ने कुराहरु धेरै छन्।

‘सधैँ एकै किसिमको शैली नचल्न सक्छ। त्यसैले आफूलाई समयसंगै ‘अपग्रेड’ गर्नुपर्ने हुन्छ’, रचना भन्छिन्, ‘राम्रो गर्ने हो, मेहेनत गर्दै जाने हो, पछिको दिन त कसले देखेको छ र।’

अनि आफ्नै रचनामा नयाँ गीत ल्याउने योजना छैन त? भन्ने प्रश्नमा रचनाले भनिन्, ‘छ नि। गीतहरु लेखेको छु। सबैलाई देखाएर सुनाएर ल्याउँछु। प्रतिक्रिया त चाहियो नि।’ 

प्रकाशित मिति: : 2022-01-19 18:57:00

प्रतिकृया दिनुहोस्