स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन सहमत

सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन्।

बालुवाटारमा मंगलबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी सबै दलका नेताहरू स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाखमै गर्न सहमत भएका हुन्।

तर यस विषयमा थप छलफल गर्न बिहीबार फेरि बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाइएको हो।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले २०७९ असोज ७ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ।

सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच निर्धारित मितिमै निर्वाचन गर्ने सहमति भएको हो।

तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश २०७९ असार ७ र २१, असोज २१ र ७ मा सकिँदै छ।

आयोगले वैशाख १४ र २० मा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन। तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ। 

प्रकाशित मिति: : 2022-01-18 12:07:00

प्रतिकृया दिनुहोस्