अनिश्चिततालाई अंकमाल गर्दै मानव भविष्यलाई थप सुन्दर बनाउन अनवरत प्रयास गर्नु नै सही अर्थमा उद्यमशीलता हो
उद्यमशीलता अहिले एक ‘ग्ल्यामरस’ शब्द भएको छ। उद्यमीका रूपमा आफ्नो परिचय दिनु एउटा गौरवको विषय बनेको छ। राजनीतिमा समेत तीव्र आर्थिक विकासको आकांक्षा पूरा गर्न सक्ने अचुक अस्त्रका रूपमा उद्यमशीलतालाई हेर्न थालिएको छ। हार्वर्ड युनिभर्सिटीको स्कुल अफ बिजनेसमा सन् १९४७ सालमा व्यवस्थापन संकायमा प्रवेश पाएको एउटा विषय आज विश्वभरका अधिकांश विश्वविद्यालयमा अध्यापन गरिन्छ। एउटा विषय मात्र नभएर स्नातकोत्तर तहमा उद्यमशीलताको डिग्री नै हासिल गर्न सकिन्छ। यसरी तीव्र रूपमा औपचारिकता पाएर विश्वभरका विश्वविद्यालयमा फैलिएको यो विषय निकै लोकप्रिय बनेको छ।
संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीमा जब सूचना प्रविधिको उल्लेख्य विकास भयो, त्यसले उद्यमशीलताको लोकप्रियता अहिलेको तहमा पु¥याउन ठूलै भूमिका खेल्यो। स्टिभ जब्स, बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोस, सर्गे ब्रिन, ल्यारी पेज, पिटर थिल, एलन मस्कलगायत उद्यमीको जुनस्तरको लोकप्रियता छ, त्यसले उद्यमशीलताको लोकप्रियतालाई विश्वभर सञ्चार गर्न मद्दत ग¥यो। फलस्वरूप उद्यमशीलता अहिले ‘टक अफ द टाउन’ भएको छ। ‘उद्यमशील समाज बनाउने शिक्षानीति’ अबको आवश्यकता हो भन्ने मर्मसहितको मिलन पाण्डेको नयाँ पत्रिकामा हालै मात्र प्रकाशित आलेख यसको एक दृष्टान्त हो।
अस्ट्रेलियाको ‘ला ट्रोब युनिभर्सिटी’बाट ‘उद्यमशीलता र नवीनता’ विषयमा स्नातकोत्तर डिग्री हासिल गर्ने सौभाग्य पाएको र हाल यही विषयको अध्यापक भएको नाताले उद्यमशीलताको एक रोचक सिद्धान्त पेस गर्ने उद्देश्यले यो लेख लेख्दै छु। सन् २००० को दशकमा प्रतिपादन भएको ‘इफेक्चुयसन थ्योरी’ले तपाईंको उद्यमशीलताको बुझाइमा एक नयाँ आयाम थप्नेछ भन्ने मेरो विश्वास हो।