सयौं कलाकृति जलाएर खरानी पारेका लाहुरे कलाकार...

Breaknlinks
Breaknlinks

मीम राना मूर्तिकार हुन्। मूर्तिकारभन्दा पहिले लाहुरे थिए। जवान छँदै पेन्सन पकाएर आफ्नै घर, गाउँ फर्किएका मीमको पोखरा पर्वतीय संग्रहालय जाने बाटो छेवैमा घर छ। आँगनसम्म राखिएका बुढो रुखका जरा, अनेक कलाकृतिका नमुना तपाईंको आँखामा परिहाल्छ।

हो, त्यही हो कलाकार मीम रानाको घर, कलाघर। लाहुरे मान्छे कलाकर्ममा कसरी तानिएछन्? हामीले जान्न खोज्यौं। ‘पल्टनबाट फर्किसकेपछि पनि बाहिर जान रेडि भएको थिएँ। फाइन आर्ट ग्यालरीका चन्द्र भुर्तेल सरले कलामा भएको मान्छे जानुहुन्न, बस्नुस् भन्नुभयो,’ उनले भने, ‘अलि अलि काम पहिले पनि गर्थेँ। जराहरु खेलाउँथे, चराहरु बनाउँथे। बनाउँदै गएँ, बिक्री भएपछि हौसला पनि बढ्यो। काम गर्दै, सिक्दै आएँ।’

मीमले कलाको विश्वविद्यालय टेकेकै छैनन्। बरु, मेहेनतले आफैँ कलाको विद्यालय बने। लेखपढ गरेर भन्दा मेहेनतले यहाँसम्म आए। भन्छन्, ‘मनमा त थियो तर, काम गरेको थिइनँ। पल्टनमा खुकुरी बनाएर साथीहरुलाई पनि दिन्थेँ, खाली भएपछि।’

मीमले बुढो रुखका जरालाईकलाका विविध आयाममा ढालेका छन्। रुखकै जराबाट बनेका अनेक कलाकृति उनको ग्यालरीभरी देखिन्छ। मूर्तिकार हुनुअघि चित्र बनाउन तिर पनि जान खोजका थिए, मीम। जराको प्रयोग गरेर चरा बनाउन कलामा उम्दा देखिएपछि धेरैले मूर्तिकार हुन सल्लाह दिए।

रुखको जराबाट सुरु भएको उनको कलाकृति पछि काठको धुलो, सिमेन्ट र फाइबरसम्म पुग्यो। पेन्सन पकाएर आएको पनि २५ वर्षै भयो, यो क्षेत्रमा लागेको पनि त्यति नै भयो मीम। १७ वर्षको उमेरमा भर्ती भएका लाहुरे रिटायर्ड भएपछि कास्की चापाकोट पूरानो घर छाडेर रातोपैह्रोमा घर बनाएका छन्।

विशेष चराचुरुंगीको मूर्ति बनाउन उनको रुचि छ। मीमलाई बाल्यकालदेखि नै राचुरुंगी असाध्यै मन पर्थ्याे। ‘गाईगोठमा बस्दा पनि मनपर्ने। लामपुच्छ्रे चराहरु साथी जस्तो भएको चराहरु। गाईबस्तु दिनभर छोड्ने, खोज्न जाँदा चराहरु भेट्ने। गाईबस्तुले किरा फट्यांग्रा उडाउने। चराहरु त्यही किरा फट्यांग्रा खान जाने, अनि गाईबस्तु पनि भेटी हाल्ने। अनि मलाई साथी जस्तो लाग्ने,’ उनी भन्छन्। मीमलाई जीवनभर उही चराको चित्र बनाउन सके पनि कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो रे !

उनलाई बाल्यकालदेखि नै लामपुच्छ्रे चरा खुब मन पर्थ्याे। अहिले उनले त्यसैको आकृति धेरै बनाएका छन्। उनको ग्यालरीमा बनाएर झुण्ड्याइएका छन्। ‘मलाई त्यो देख्ने बित्तिकै बाल्यकालको याद आइहाल्छ,’ मीम भन्छन्।

यति मात्रै कहाँ हो र मीमको चरासँग जोडिएको छुट्टै याद पनि छ। पल्टनमा आर्मी हुँदा मीमको बटालियन श्रीलंका पुगेको थियो।

मीम जीप चलाउँथे। ‘जीप लिएर म बसेको थिएँ। अरु साथी थिएनन्। म त्यसरी बस्दा मजुर आयो। नजिकबाट मैले मजुर हेरेको पनि थिइनँ। त्यो बिरालो जसरी कराउँदो रहेछ, त्यो त आउँदैन भनेको त आस्ते आस्ते आम्दै म बसेको गाडीमै आयो,’ उनी भन्छन्, ‘सिटमै आएर बोनटको अगाडी आएर हेर्यो। मैले पनि केही गरिनँ। उसले पनि केही गरेन। ओहो चराले मलाई किन यसरी माया गरेको होला जस्तो लाग्यो। किन हेरेको होला जस्तो लाग्यो। मैले छोएँ पनि, कसैले पालेको पनि होइन। यसले किन यसरी हेरेको होला भन्ने जस्तो पनि लाग्यो। मलाई अचम्म लागेको हो त्यो बेला। कोही सन्देश दिन आएको होला भन्ने पनि लाग्यो। त्यो त लडाईंमा थियो। त्यहाँबाट झरेर पर गएर बसेर हेर्‍यो।’

पछि उनले साथीहरुलाई सुनाए। साथीहरुले पनि अचम्मै माने। ‘ए आउँदो रहेछ तिमीसीत हामीसँग त आएन’ भनेर भनेका थिए साथीहरुले।चराचुरुंगीसँगै मीमलाई कल्चरसँग जोडिएका कलाकृति बनाउन पनि मन पर्ने, ढिकी जाँतो, घाँस काटेको, हलो जोतेको पनि मनपर्ने। राष्ट्रिय प्रदर्शनीमा पनि उनको कलाकृति प्रदर्शनमा राखियो।

अहिले उनको ग्यालरीमा काठमाडौं ललितकला प्रतिष्ठानबाट पनि अवलोकनमा आउँछन्। विदेशी कलाप्रेमी पनि उनैलाई खोज्दै आइपुग्छन्। हौसला दिन्छन्। विभिन्न कार्यशालामा उनको कलाकर्म प्रर्दशनी भइसकेको छ।

‘स्टेज पनि पाएँ। मेरो सामान धेरै थिएन। त्यो देखाउँदा धेरै राम्रो देखियो। ढिकी, जाँतोहरु राखेको थिएँ, आमाले दुध चुसाइरहेको,’ उनी भन्छन्, ‘घाँस काट्दै गरेको। डोको बोकेर हिंड्दै गरेको। बच्चा साइडमा उभिएको।’

यी सोझा लाहुरे कलाकारका कुरा पनि सोझा। एकचोटी प्रर्दशनीकै क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अवलोकनमा आएका रहेछन्। अवलोकनमा मीमको कलाकृतिमा उनको आँखा परेछ।

‘ढिकी जाँतो हेरेर दंग पर्नुभएछ। उसले उठाउँदै हेरेछ। को हो यो बनाउने मान्छे, कहाँ छ भन्नुभएछ?’, उनले भने, ‘यहीँ छ भनेर अनि म गएँ। नमस्कार पनि गरिनँ। टाउको मात्रै हल्लाएँ। अनि, तपाईंले यस्तो बनाउँदो रैछ। किन नबोली बसेको भन्नुभयो। मलाई के भन्न आयो भने तपाईंहरु देश बनाउछु भनेर यहाँसम्म आउनुभएको छ। म पनि कल्चरसम्बन्धि केही बनाउँछु भनेर यहाँसम्म आएको त हो नि भनेर हात मिलाएँ।’

एकपटक स्वर्गीय रविन्द्र अधिकारीसंग पनि त्यस्तै ठट्यौली परेको थियो उनको। कार्यक्रममा जो पनि फोटो खिच्न आउने। केटीहरु बढी फोटो खिच्न खोजेको उनको आँखामा परेछ। ‘अनि, मैले धेरै नजिक नपर्नु फेरि अप्ठ्यारो पर्ला भनेर भनेकाे थिएँ’, मीमले भने।

कलाकर्ममा निमग्न मीमको ग्यालरिमा लहरै सामग्री छन्। कहिलेकाहीँ फाट्टफुट्ट बिक्री पनि हुन्छ। एकपटक धेरै मूर्ति भएर राख्ने ठाउँ पनि रहेन। छिमेकको आँगनसम्म पनि मूर्ति नै मूर्ति भरिएपछि मीमलाई उठाउन भनिरहे। ‘अनि, मैले ती सबै सामान जलाएँ, मेरो छिमेकीको कारण। म त फोहोरी धुलोमैलोसँग खेल्ने। धेरै भएर जलाएँ,’ मीमले सुनाए।

कलाकर्ममा अनवरत लागि परेका मीमलाई धेरै होइन, सरकारले आफ्ना कलाकृति संग्रहालयमा लगेर राखिदिए हुन्थ्यो जस्तो लाग्छ। ‘सरकारले लगेर राखे जलाउनु पर्ने थिएन,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2022-01-16 19:10:00

प्रतिकृया दिनुहोस्