बुढो गोरु मियोको वरिपरि फनफनी घुमेझैं एउटै वृत्तमा दशकौँदेखि घुमिरहेकोजस्तो लाग्ने नेपालको वर्तमान राजनीतिमा भर्खरै सकिएको महाधिवेशनको मौसमले सर्वसाधारणलाई उत्साहित बनाउने दुई नतिजा हासिल गर्यो– राप्रपामा राजेन्द्र लिङदेनको जित अनि कांग्रेसमा गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्माजस्ता ‘नयाँ’ अनुहारको उदय। कहीँ–कहीँ त पूरै कर्मकाण्डीजस्ता देखिएका अधिवेशनबीच यी दुई नतिजाले पलाएको पुस्तान्तरणको आसले सबैथरी राजनीतिक झुकाव भएका नेपालीहरूलाई तरंगित पार्यो। सबै महाधिवेशन नेतृत्व चयनमै केन्द्रित रहे। विचार र नीतिमा धेरै समय ‘खेर’ फालिएन। माओवादीतर्फ दस्ताबेज त देखिए, तर नेतृत्वको कथनी र करनीबीच खाडल भर्ने विरोधाभासहरूको डंगुर झन्–झन् ठूलो हुँदै गएकोबाहेक नयाँ केही देखाएनन्। कांग्रेसतर्फ गगन थापाको एकल प्रयासजस्तो देखियो।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा र त्यसको व्याख्याले कांग्रेस महाअधिवेशन पूरै विचारशून्य रह्यो भन्नबाट जोगियो। समुन्नत र समृद्ध कतिसम्म एकअर्काका पर्याय हुन् भन्ने कुराले हल्का चर्चा पायो। थप बहस–विश्लेषण हुँदै गर्ला। ‘वृद्धि’ले कुल गार्हस्थ उत्पादन (जिडिपी) जस्ता मानकले इंगित गर्ने अर्थतन्त्रको आकारको वृद्धि जनाउने र ‘उन्नति’ले नागरिकका जीवनस्तर, आशा–प्रत्याशा, आकांक्षा आदि थप आयाम समेट्ने प्रगतिको अलि फराकिलो व्याख्या गर्न खोजिएको हो कि जस्तो पनि बुझियो। समृद्ध देश समुन्नत नहुन सक्छ भने समुन्नत देश स्वतः समृद्ध पनि हुने भइहाल्यो।