मतदाता नामावली बनाउन उत्साहित : कष्ट सहेरै लाइनमा बस्छन् नागरिक 

उमेरले ८१ वर्ष पुगेकी निमा बस्नेत आइतबार फोटोसहितको मतदाता नामावली बनाउन घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा आइन्। घोराही-८ दुन्द्रा बस्ने बस्नेत आफन्तसँग मतदाता नामावली बनाउन आएकी हुन्।

उनी बिहानै मतदाता नामावली बनाउन प्रशासन कार्यालयमा आएपनि दिउँसो मात्रै फोटो खिचिन् र मतदाता परिचय पत्रमा आफ्नो नाम दर्ता गराइन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ज्योति चौधरी पनि आइतबार साँझ अबेरसम्म जिल्ला प्रशासनमा मतदाता नामावली बनाउने लाइनमा भेटिए। 

बिहानै साथीहरुसहित घरबाट निस्किएका उनले दिनभरको प्रतिक्षापछि बल्लतल्ल साँझ पालो आयाे र मतदाता परिचय पत्रमा नाम दर्ता गराए। ठूलो भीड सकिएपछि आफ्नो पालो आएको चौधरीले बताए।

अर्का तुलाराम चौधरी पनि उनीसँगै लाइनमा भेटिएका थिए। ‘पहिलो गाउँपालिकामा गएको टोलीका बारेमा कसैले भनेनन्। त्यहाँ गएको रहेछ, भनि दिने कोही नुहँदा घोराहीसम्म धाउने अवस्था आयो’, चौधरीले लाइनमा उभिँदै भने, ‘काममा जाने हामीलाई यो बनाउनुपर्छ भन्ने पनि हेक्का भएन, अर्को वडामा पनि जानकारी गराइएन।’

यस्तै प्रदेश निर्वाचन कार्यालय परिसरमा सोमबार दिउँसो घोराही-११ हापुरका ७३ वर्षीय डिल्ली बहादुर रोका मतदाता नामावली बनाउने लाइनमा नै भेटिए। उनी आफ्नी श्रीमती लालमती रोकासँगै मतदाता परिचय पत्र बनाउन आएका थिए।

‘पहिले बनाइएन, के काम होला भन्ने थियो। अब चाहियो भनेर सबैले दिनदिनै भन्न थाले। नबनाए सेवा सुविधा नपाइने भन्छन्। वडाबाट पनि केही पाइँदैन भनेपछि हामी बुढाबुढी आएका हौँ’, रोकाले भने, पहिले त केही चाहिँदैनथ्योl अब त के- के हो के-के, सायद यही हो क्यो हो नयाँ नेपाल।’

बंगलाचुली गाउँपालिकाका ५६ वर्षीय सुर्यबहादुर बोहरा लामो समय कतार बसे। उनी घर आएको एक वर्ष भयो। अहिले उनलाई मतदाता परिचय पत्र बनाउनु परेको छ।सोमबार लाइनमा भेटिएका बोहराले सबैले बनाउनुपर्छ भनेपछि बनाउन आएको बताए। उता, घोराही ११ हापुर, गणेशपुरका ७० वर्षीया पानसरी घर्तीले बुढेसकालमा मतदाता परिचय पत्र बनाउन आएको बताइन्।

अर्की घोराही १६ की कल्पना भण्डारीले पनि २ वर्षे छोरा काखमा च्यापेरै मतदाता परिचय पत्र बनाउन आएकी थिइन्। ‘सबैले भोट हाल्नुपर्छ, हाम्रो अधिकार हो भनेपछि आएको हुँ’, भण्डारीले भनिन्,  ‘यो पटक बनाएको परिचय पत्रले अरु ठाउँमा पनि काम गर्छ भनेको सुनेको छु।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा फोटोसहितको मतदाता नामावली बनाउनेको उत्साहपूर्ण सहभागिता रहेको छ। जिल्ला प्रशासन, प्रदेश निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालयमा दैनिक मतदाता नामावली बनाउने भिड देखिन्छ।

लामाे समय लाइन बसेर कष्ट रहेरै भएपनि मतदाता नामावली बनाउने संख्या दिनप्रतिदिन बढ्दै गएको छ। कोरोना महामारीको त्रास भएपनि आफ्नो नाम मतदाता परिचय पत्रमा दर्ता गर्न नागरिकहरु उतसहित देखिएका छन्।

केही दिन अघिसम्म पालिकास्तरका केन्द्रहरुमा पनि यस्तै भीड लागेको थियो तर नामावली दर्ता नसकिँदै पालिकास्तरमा दर्ता कार्य अभियान सकिएपछि प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश, घोराहीको कार्यालयमा ठूलो भीड लागेको देखिन्छ।

कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दैनिक एक हजारभन्दा बढीले मतदाता परिचय पत्रका लागि आवेदन दिने गरेका छन्। उनले भने, ‘निर्वाचनको मिति तोकिएको छैन। नागरिकहरु मताधिकार सुरक्षित गर्न उत्साहित देखिनुभएको छ। यसरी एकै पटक नआएर बिस्तारै नाम दर्ता गराउन आउँदा पनि हुने हो तर स्थानीय राजनीतिक दलले पनि हतार गरे जस्तो देखिन्छ। उहाँहरुले नै गाडी रिजर्भ गरेर गाउँगाउँबाट ल्याउने गर्नुभएको छ।’

राजनीतिक पार्टीहरुले यसमा सहजीकरण गरेपनि एकै पटक हुँदा कार्यालयमा चाप परेको उनले बताए। सीमित कर्मचारी र स्रोत साधनका बीच धेरै चाप बढेपछि काम गर्न हम्मेहम्मे भएको उनको भनाई छ। 

पालिकामा १० हजार बढीले नाम सूचीकरण गरे

दाङमा मंसिर १७ गतेदखि पुस २ गतेसम्म तथा पुस ४ गतेदेखि १८ गतेसम्म ७ वटा पालिकामा संचालन गरिएको मतदाता परिचय सूचीकरण अभियानमा साढे १० हजारले सूचीकरण गरेका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका कार्यालय प्रमुख निमराज भट्टराईका अनुसार सबैभन्दा धेरै बबई गाउँपालिकामा सूचीकरण भएको छ भने सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा सूचीकरण भएको छ।

उनका अनुसार मंसिर १७ गतेदेखि पुस २ गतेसम्म भएको अभियानमा दंगीशरण गाउँपालिकामा १ हजार १ सय ८१, बंगलाचुली गाउँपालिकामा ५ सय ५४, बबई गाउँपालिकामा २ हजार २ सय २३, शान्तिनगर गाउँपालिकामा २ हजार १ सय ३ जनाले मतदाता परिचय पत्रका लागि सूचीकरण गरेका छन्।

यस्तै, दोश्रो चरण अन्तर्गत गढवा गाउँपालिकामा १ हजार ५ सय ७६, राजपुर गाउँपालिकामा १ हजार १ सय ६९ र राप्ती गाउँपालिकामा १ हजार ७ सय ५० जना गरी पालिकामा १० हजार ५ सय ५६ जनाले आफ्नो नाम सूचीकरण गरेका निर्वाचन अधिकारी भट्टराईले बताए।

यस्तै, प्रदेश निर्वाचन कार्यालयबाट मंगलबारसम्म १९ हजार बढीले मतदाता परिचय पत्रका लागि आवदेन दिएको उनले बताए। यसरी हेर्दा जिल्लामा पछिल्लो समय करीव ३० हजार बढी मतदाता थपिएका छन्।

फोटो सहितको मतदाता नामावली संकलन जारी रहँदा डेढ महिनाको अवधिमा साढे ३० हजार बढी मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

यो संख्या भदौबाट सुरु भएको मतदाता परिचय पत्र बनाउनेको संख्या बाहेकको हो। ती संख्या जोड्ने हो भने अझ बढ्ने देखिएको छ। दाङमा अहिले पनि दैनिक ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता हुँदै आएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

विशेष अभियान शुरु हुनुपूर्व दाङमा तीन लाख ७७ हजार ५ जना मतदाताले आफ्नो नाम दर्ता गराएको तथ्यांक छ। जिल्लामा अब कुल चार लाख ७ हजार बढी मतदाता भइसकेको सूचना अधिकारी कुँवरले बताए।

इलाकाबाट लिइएको विवरणको यकिन तथ्यांक आउन बाँकी रहेकाले यो संख्या अझ बढ्ने उनले बताए। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति नतोकुञ्जेल मतदाता परिचय पत्र बनाउने कार्यक्रम जारी रहने भएकाले छुटेका कुनै पनि योग्य नागरिकले मतदाता परिचय पत्र बनाउन प्रदेश निर्वाचन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2022-01-14 16:50:00

प्रतिकृया दिनुहोस्