ढुङ्गा खोपेर भविष्य कोर्दै २४ वर्षीय अर्जुन [भिडियो]

काठमाडौंको चक्रपथ सडकअन्तर्गतकाे व्यस्त ठाउँ हो चाबहिल। त्यहि व्यस्त चाबहिल सडकखण्डको छेउमै भेटिन्छन् अर्जुन कुचबडिया।

उनले काठमाडौँकाे खाल्डो टेकेको एक वर्ष पनि नाघेको छैन। काठमाठौँ, त्यसमाथि यो रिङरोडको धुलोसँग उनी अभ्यसस्त मात्रै भैसकेका छैनन्, ढुङ्गा खोपेर सुन्दर भविष्य बनाउने सपना पनि देख्न थालिसकेका छन्। उनी भन्छन्, 'मेरा ३ जना परिवारको पालन पोषण यहि कर्मले गरेको छु।'

सानै उमेरमा उनले यो सिप सिके। 'परिवारको पेट पाल्नलाई बाध्यतामा यो सिप सिकको हुँ, उनले भने, 'अहिले आफ्नै सिप हेरेर खुसी लाग्छ।'

परिवारको पेट पाल्न उनले सानैदेखि ढुङ्गा कुँदेर विभिन्न आकारमा घरायसी प्रयोजनको लागि प्रयोग हुने सामग्री बनाउँदै आफ्नो सिपलाई तिखारेका थिए। अहिले उमेरले दुई दशक पार गरेका उनी आफ्नो काममा पोख्त भैसकेका छन्।

बुट्टेदार सिलौटाहरु बनाउन हरेक दिन धुलाम्मे सडकको छेउमा बसेर एकोहोरो स-साना ढुङ्गा अनि साथमा छिनो चलाउँदै गरेका भेटिन्छन् चाबहिलमा। सिलौटो बनाएर बेच्ने उनको पुर्ख्याैली पेशा हो। त्यसैले पनि यहि सिपमै होमिए सानैदेखि।

‘ढुङ्गा र छिनो मेरो सानैदेखिको साथी हो,उनी भन्छन्, ’हजुरबुवाहरुबाट सिकेको अहिले त यही सबैभन्दा पौरखी सिप जस्तो लाग्छ।'

२०५५ सालमा बुटवलमा जन्मिएका अर्जुनले अध्ययन गर्न भने पाएनन्। उनलाई आफ्नो नामसमेत लेख्न आउँदैन। घरको जेठो छोरा हुन् अर्जुन। घरको अवस्था र जेठो छोरा भएकाले सबै जिम्मेवारी अर्जुनकै काँधमा थियाे, त्यसैले विद्यालय जाने अवसर पाएनन्।

सानैमा परिवारिक र कामको बोझ आइपर्यो उनीमाथि। उनी सानै छँदा बुबाआमा बितिसकेका थिए। 'पढ्ने रहर मात्रै रह्यो, ढुङ्गा खेलाउने बाध्यता', उनी बाल्यकाल सम्झिन्छन्, 'बुटवलमा राम्रो कमाइ थिएन, त्यसैले जे होला होला भनेर काठमाडौँ पसेँ।'

अर्जुन भन्छन्, 'हाम्रो पुर्ख्याैली पेशा यहि हो, मैले पनि सानैदेखि सिकेँ र काम पनि गरें। तर, सिलौटो बनाउन त्यति सजिलो भने छैन। सिलौटो बनाउन राम्रो ढुङ्गा भेटाउन मुस्किल पर्छ। आफैंले खोज्न सकिन्न।' अर्जुनले बुटवलबाट ढुङ्गा मगाएर सिलौटो तयार गर्ने गरेको बताए।

'उताबाट जति पैसामा ढुङ्गा किन्यो काठमाडौँ आइपुग्दा त्यति नै अर्को खर्च लाग्छ, उनी भन्छन्, 'मैले बनाएको सिलौटाको मूल्य सात सयदेखि २५ सयसम्मको छ।' उनी बिहान नौ बजेदखि साँझ पाँच बजेसम्म सिलौटा बनाउन खटिन्छन्।

ढुङ्गालाई विभिन्न आकार दिएर मसला पिस्ने सिलौटो, लोहोरालगायत घरायसी प्रयोगका सामग्री बनाउन निकै सिपालु छन् अर्जुन। उनले बनाएको सिलौटोले हालसम्म राम्रै कमाइ दिएकाे उनी बताउँछन्।

उनले दिनमा ३/४ वटा सिलौटा बनाउँछन्। उनले बनाएको सबै सिलौटा कहिले बिक्री हुन्छ, कहिले हुँदैन। अहिले आधुनिक मेसिन मिक्स्चर, मिल आएपछि पहिलाको तुलनामा व्यापार अलि घटेको उनी बताउँछन्।

उनीसँगै साथमा एक छोरी र श्रीमती पनि काठमाडौंमै बस्दै आएका छन्। बुटवलमा राम्रो व्यापार हुन् छोडेपछि काठमाडौं छिरेका उनले यता पनि धेरै राम्रो व्यापार भने गर्न नसकेको बताउँछन्।

'मेहनत अनुसारको चित्त बुझ्दो कमाइ छैन, अब अर्को काम गर्न पनि आउँदैन। दुख सुख गरेर जीवन धान्दैछु', उनले भने, 'अहिले कमाइले कोठा भाडा तिर्न र तीन जनाको परिवार पाल्न ठिक्क हुन्छ।'

प्रकाशित मिति: : 2022-01-14 17:30:00

प्रतिकृया दिनुहोस्