जत्ति बुद्धिमत्ता पृथ्वीनारायणमा थियो, त्यो अरूमा भएन। त्यसैले पनि अरू राजाहरूभन्दा बढी ख्याति उनले कमाए।
लाउँ लाउँ, खाउँ खाउँको जीवनको पर्वाह नगरी भर्खर २२ वर्ष पुगेका लक्का जवान पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। १८०१ सालमा नुवाकोटमा पहिलो आक्रमण गरेर सुरुआत गरेको एकीकरण अभियान अटुट रूपले झन्डै ३२ वर्षसम्म चल्यो। उनको एउटै सपना थियो टुक्राटुक्रामा विभाजित भएर रहेको नेपाललाई विशाल रूप दिने। त्यही एउटै सपनालाई साकार गराउने काममा लागिपरेकै परिणामस्वरूप हो कि नेपालीको शिर ठाडो हुने गरी आज सार्वभौम स्वतन्त्र राष्ट्रको रूपमा ‘नेपाल’ लाई विश्वसामु परिचित छ। यो कार्यले नेपालको गौरव बढाउने कार्यमा जुट्न सबै नेपालीलाई समान अवसर प्राप्त भएको छ।
प्राचीनकालदेखि नै गौरवमय इतिहास रहेको नेपाललाई पुनस्र्थापना गर्न चाँडोभन्दा चाँडो नलाग्ने हो भने इष्ट इन्डिया कम्पनीको नामबाट दक्षिणमा घुसेका अंग्रेजहरूले भारतका अनेक प्रान्त र प्रदेशहरूलाई कुनै न कुनै तरहबाट आफ्नो चंगुलमा पारेजस्तै नेपाल पनि त्यसमा पथ्र्यो। यताका स–साना भुरे, टुक्रे राजा–रजौटाहरूलाई पनि उनीहरूले आफ्नो चंगुलमा पार्न बेर छैन भन्ने कुराको संकेत वरपरको भयावह वातावरण देखाएकै थियो। पृथ्वीनारायण शाहको मनमा पनि यो उब्जेको चेतनाकै कारण कसरी हुन्छ विभिन्न कालखण्डमा अनेक टुक्रामा टुक्रेको नेपाललाई एक सूत्रमा बाँध्ने काममा दिलोज्यान दिए। उनको सम्पूर्ण उर्वर जीवन त्यही उद्देश्य प्राप्तिको लागि समर्पित गरे। आफ्ना सैनिकहरूलगायत सामान्य नागरिक एवं भाइभारदारहरूलाई त्यस महान् कार्यमा प्रवृत्त गराए।