‘डा. शेखरको उचाई बढ्यो’

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनु भएकामा हार्दिक बधाई। नेपालको राजनीतिमा लामो इतिहास बोकेको यस पार्टीमा लगातार दोश्रो पटक सभापति पदमा निर्वाचित भएपछि उहाँको जिम्मेवारी अब काँग्रेसलाई सशक्त एवम् गुटबन्दीरहित पार्टीको रुपमा स्थापित गराउनमा सफल हुनका लागि शुभकामना पनि छ। तर, गुटको राजनीतिलाई अन्त्य गर्नका लागि सर्वप्रथम देउवाले आफ्नै व्यवहार र कार्यशैलीबाट प्रमाणित गर्नुपर्छ।

कांग्रेसको विधानअनुसार लगातार दुई पटकमात्र पार्टी सभापति बन्ने व्यवस्था छ। उहाँको यो अन्तिमपटक भएकाले कांग्रेसको मूलमन्त्रलाई आत्मसात गरी पार्टी चुस्त एवम् सङ्गठित गरी पुरानो कांग्रेसको अवस्थामा पुर्‍याउनका लागि दोहाेर्‍याएर पुनः अवसर पनि पाउनुभएको छ। मुलुकमा प्रजातन्त्र स्थापनापछि कृष्णप्रसाद भट्टराई कार्यवाहक अध्यक्ष भएर पनि पार्टीलाई २०४८ सालमा बहुमत दिलाएका थिए।

गिरीजाप्रसाद कोइराला पार्टी सभापति बनेपछि २०५६ सालको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त भएकाे थियो। किशुनजी र गिरिजाबावुको पंक्तिमा आफूलाई उभ्याउनका लागि देउवालाई धेरै मेहनत गर्नुछ र पार्टीलाई वैचारिक रुपमा एक्यबद्ध बनाउन आफ्नो लामो अनुभवलाई समुचित रुपमा उपयोग गर्नुपर्छ।

प्रजातान्त्रिक समाजवादको सिद्धान्त र विपी कोइरालाको आदर्श बोकेका कांग्रेस पार्टीमा राजनीतिक विचलन आएको छ। यो विचलनलाई अन्त्य गरी पार्टीको उच्च छवि बनाउने जिम्मेवारी इमान्दारिताका साथ बहन गर्नुपर्छ। विपी, गणेशमान, किशुनजी र गिरिजाबावुको नामको आधारमा जनताले अब मत दिँदैनन्। त्यसका लागि विपीले अपनाएको बाटोमा हिँडनुपर्छ र जनताको मन जित्नुपर्छ।

अर्कोतर्फ सभापति पदका प्रत्यासी शेखर कोइराला निर्वाचनमा पराजय भएपनि एक सशक्त नेताको रुपमा उहाँको पहिचान र उचाई बढेको छ। नेपाली कांग्रेसको स्थापनाकालदेखि कोइराला परिवारको पार्टीमा वर्चस्व कायम थियो। विगत ६ बर्षको अवधिमा विपी पुत्र शंशाक पार्टीको महामन्त्री हुनुहुन्थ्यो। तर, शेखर पार्टीको सभापतिमा पराजित भएपनि परिवर्तनको पक्षधरको नेतृत्वकर्ताको रुपमा स्थापित हुनु भएको छ र कोइराला परिवारको राजनीतिक बिंडो स्वतः उहाँको काँधमा पुगेको देखिन्छ। ती परिवर्तन पक्षधरलाई समेटेर शेखर कोइरालालाई कार्यकर्ताबीच पुगेर प्रजातान्त्रिक समाजवाद कांग्रेसको मूलमन्त्रको सम्बन्धमा जागरुक गराउने दायित्व निर्वाह गर्नुपर्छ।

राजनीतिमा हारजित भइरहन्छन्। तर, वैचारिक रुपमा आफ्नो विचारमा अडिग रहेपछि पार्टीका कार्यकर्ता र जनताले पनि साथ दिने गर्छन्। पारवारिक विरासत बोकेका प्रकाशमान सिंह र विमलेन्द्र निधीले पनि कांग्रेसको महाधिवेशनमा उम्मेदवारको रुपमा उभ्याएर आफ्नो पकड कतिको छ भनेर थाहा पाउनुभएको छ। बरु सभापतिमा नउठेको भए वजन त रहन्थ्यो।

निर्वाचन दिनसम्म आफूलाई सबल, सक्षम उम्मेदवारको संज्ञा दिँदै देउवालाई हटाउनुपर्ने, पुस्ता परिवर्तन हुनुपर्ने र देउवा असफल भइसकेको आरोप लगाउने सिंह र निधीले दोश्रो चरणको निर्वाचनमा सोही देउवालाई समर्थन गर्नुभयो। उहाँहरुको विरोध व्यक्तिगत स्वार्थसंग जोडिएको पुष्टि भयो। तर, जे जस्तो भएपनि उहाँ दुवै जनाको समर्थनमा देउवा पुनः पार्टी सभापतिमा विराजमान हुनुभएको हो।

अर्कोतर्फ विरासतको राजनीतिको आधारमा मूल्याङ्कन हुँदैन भनेर मतदाताहरुले प्रमाणित गरे। विरासतको आधारमा एकपटक मौका पाउन सकिन्छ। पटकपटक मौका पाउनका लागि आफ्नो उच्च छवि आफैं निर्माण गर्नुपर्छ।

चौधो महाधिवेशनमा मतदानको आधारमा प्रकाशमान उपत्यका र विमलेन्द्र धनुषा र महोत्तरीको गुटको नेताको रुपमा सीमित भएको पुष्टि भएको छ। उहाँ दुवै जना कुनै नयाँ चिरपरिचित व्यक्तिहरु पनि हुनुहुन्न। लामो राजनीतिक इतिहास छ। प्रकाशमान र विमलेन्द्र पार्टीको महत्वपूर्ण पदका साथै पटकपटक मन्त्रीसमेत बन्नुभएको हो। दुवै जनामाथि कांग्रेसी मतदाताहरुले किन विश्वास गरेनन् भन्ने विषयहरुमा उहाँहरुले आत्म मूल्याङ्कन गर्नुपर्ने हो।

देउवा प्रधानमन्त्रीका साथै कांग्रेसको सभापति पनि हुनुहुन्छ। यसअघिको स्थानीय तहको निर्वाचनको समयमा पनि उहाँ दुवै पदमा हुनुहुन्थ्यो। तापनि, विगतको स्थानीय निर्वाचनमा कांग्रेसलाई नमीठो पराजय भोग्नुपरेको पीडा छदैँछ। नवनिर्वाचित सभापति देउवाको लागि तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्ने जिम्मेवारी पनि छ। दुई महिनापछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अत्यधिक स्थानमा जिताउनका लागि सङ्गठनलाई पारदर्शी एवम् सशक्त बनाउनुपर्छ।

विगतमा, कम्युनिष्ट र मधेशवादी दलहरुले एकापसमा अधिकांश ठाउँमा तालमेल गरेका थिए। यसपल्ट नेपाल कम्युनिष्ट पार्टी तीन टुक्रामा र मधेश केन्द्रीत दलमा पानी बारावारको अवस्था छ। तसर्थ, कांग्रेसको लागि यो सुनौलो अवसर हो।

अधिकांश ठाउँमा जित्ने सम्भावना देखिन्छ। यस्तो सुनौलो अवसरमा पनि स्थानीय निर्वाचनमा कांग्रेसको प्रदर्शन राम्रो नभएमा उहाँको क्षमतामाथि पुनः प्रश्न उठनेछ। सोको असर प्रदेश र संसदीय निर्वाचनमा समेत पर्ने भएकाले उहाँलाई गुटगत राजनीतिबाट उठेर स्वच्छ छविका जनप्रिय कार्यकर्तालाई उम्मेदवार बनाउनका लागि अग्रसर हुनुपर्छ। यसका लागि गुटगत राजनीति पूर्णरुपमा त्याग्नुपर्छ।

राजनीतिमा व्यक्तित्वको धेरै बढी प्रभाव पर्छ। नेताको आचरण, व्यवहार, बोल्नै शैली, जनतालाई आकर्षित पार्ने क्षमताका साथै सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ। नेपालको राजनीतिकमा  बामपन्थी दल जहिलेपनि सशक्त रुपमा देखिएको छ।

कम्युनिष्ट पार्टीका नेताहरुमा बोल्ने शैलीले जनता बढी आकर्षित हुने गर्छन्। त्यो भाषणमै मात्र सीमित भएपनि तत्कालका लागि पार्टीलाई फाइदा पुर्‍याउनमा महत्वपूर्ण भूमिका खेल्छन्। कांग्रेसको दोस्राे र तेस्रो पुस्ताका युवा नेताहरुमा बोल्ने शैली र व्यवहार आकर्षित पार्ने खालको छ। उहाँहरुलाई पार्टीको साङ्गठनिक संरचनामा पुर्‍याउने दायित्व कांग्रेसी कार्यकर्ताको हो।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभएन र स्वयं मतदान पनि गर्नुभएन। उहाँको अन्तर्वार्ता सुन्दा आफ्नाे समूहलाई एक ढिक्का राख्न नसकेको ग्लानी देखिन्थ्यो। आफू उम्मेदवार हुन नसकेको कारणले कसैलाई सहयोग नगर्ने देखिएपनि उहाँका नजिकका मतदाताहरु छिन्नभिन्न भएको अनुमान गर्न सकिन्छ। शेखरको लागि शशांक कोइरालाको पनि मौन समर्थन मात्र थियो।

सुजाता कोइराला त प्रकाशमानको पक्षबाट उम्मेदवार नै बन्नुभएको थियो। उपसभापति पदका उम्मेदवार महेश आचार्यले शेखरको गुटमा ठाउँ नपाएपछि एक्लै उम्मेदवार बन्नुभएको थियो। उपसभापतिमा ठाउँ नपाएकामा शेखरप्रति उहाँको गुनासो हुनसक्छ। मोरङबाटै पदाधिकारी र केन्द्रीय सदस्यहरुमा अन्य जिल्लाको तुलनामा अत्यधिक उम्मेदवार भएपछि त्यसले पनि केही असर शेखरलाई परेको देखिन्छ।

यसअघिको स्थानीय तहदेखि संसदीय निर्वाचनसम्ममा कांग्रेसको भारी पराजय भएको थियो। सो विषयलाई लिएर महाधिवेशनको बैठक बोलाउनुपर्ने माग शेखरले उठाउँदा पनि रामचन्द्र पौडेल इतर पक्षको नेता भएपनि दवाव बनाउन सकेन। उतिखेर शेखर कोइरालाले देश दौडाहाको क्रममा पार्टी सभापति पदबाट देउवाको राजीनामा माग राखेर पार्टीको महाधिवेशन डाक्नका लागि दवाव बनाएको थियो।

सोही बेलादेखि शेखरको पार्टीमा उचाईको क्रम शुरु भएको हो। चौधो महाधिवेशन निर्धारित समयमा भएको भए अहिलेजस्तो परिणाम आउने सम्भावना क्षिण थियो। प्रधानमन्त्री पदको प्रभाव त पक्कै चौधो महाधिवेशनमा परेको छ। प्रकाशमानले देउवासँग सरकारमा ठाउँ पाउने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसम्म आश्वासन पाएको कुराले पुष्टि गर्दछ।

चोरको दाग कसले हटाउने?

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेसको महाधिवेशनमा आफ्ना मनतव्य दिने क्रममा भनेका थिए, गाउँघरमा नेता पुग्दा नाम सोध्दैन, आज ‘कुन चोर’ आएको भन्छ। उनले आफ्नो मनतव्य राख्ने क्रममा राजसंस्थाको पनि कुरा उठाएका छन्।

राप्रपाप्रतिको जनताको दृष्टिकोणमा खासै परिवर्तन नभएको अवस्थामा पनि अधिकांश जनताले लिङ्देनको भनाईप्रति समर्थन जनाएको देखिन्छ। कांग्रेसको महाधिवेशनमा पार्टीका प्रतिनिधिहरुले समर्थन पनि गरेको देखिए। प्रचण्डले नेता चोर होइन भन्ने उपस्थित कांग्रेसका कार्यकर्ताको प्रतिक्रिया लिन खोज्दा अधिकांशले लिङ्देनको भनाईलाई समर्थन गरे।

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनमाथि व्यङ्गको शैलीमा भर्खरका बाच्छो बढी कुद्छन्। तर, नेतालाई चोरको संज्ञाको सम्बन्धमा उहाँले केही बोल्नुभएन। माधव नेपालले राजा फर्केर आउने विषयलाई ठाडै अस्वीकार गर्नुभयो। उहाँले पनि नेतामाथि लगाइएका आरोपको प्रतिवाद गर्नुभएन। जे भएपनि लिङ्देनको सो भनाई चर्चामा आएको हो।

यो कटु सत्य हो कि मुलुक सङ्घीयतामा गएपछि भ्रष्टाचार झन बढेको छ। स्थानीयस्तरमा व्यापक रुपमा  बजेटको दुरुपयोग भएको छ। सो कारणले जनतामा नैराश्यता छ। तर, यसको मतलब यो पक्कै होइन कि जनताले व्यवस्था परिवर्तनको पक्षमा छन्। भ्रष्टाचारमा न्यूनीकरण, निर्धारित योजनाहरु समयमा सम्पन्न र बेरोजगारीलगायतका समस्या समाधानका लागि सरकार तत्पर भएर काम गरुन् भन्ने जनताको चाहना छ।

लिङ्देनले राजसंस्थालाई जनताको मनमस्तिष्कमा स्थापित गराउनका लागि मुलुकमा भ्रष्टाचार बढेको विषय उठाएर जनतालाई उचाल्न खोजेको प्रष्ट हुन्छ। उनले आफ्नो मनतव्यको शुरवातमै राजसंस्थाको वकालत गरेका हुन्।

पञ्चायतकालमा पनि भ्रष्टाचार हुन्थ्यो। तर, उतिखेर सञ्चार माध्यम प्रारम्भिक अवस्थामा थियो। प्रेस स्वतन्त्र नहुँदा पञ्चेहरुले गरेका भ्रष्टाचारको समाचार त्यति प्रकाशित हुँदैन्थ्यो। अचेल सामाजिक सञ्जालका साथै मिडिया पनि सशक्त अवस्थामा छन्। सानातिना कुरापनि मिडियामा आउने गरेको कारणले भ्रष्टाचारलगायतका विषयमा बढी चर्चा हुने गरिएको हो। 

प्रकाशित मिति: : 2022-01-11 06:16:00

प्रतिकृया दिनुहोस्