ओमिक्रोन: सुदूरपश्चिम उच्च सतर्कता बढाइयो

सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। भारतको राजधानी दिल्लीमा  कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव सुदूरपश्चिम  प्रदेशमा पनि देखिएको हो।  

सुदूरपश्चिम नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन  थालेका स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहीबार  मात्रै यस प्रदेशमा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ। यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मङ्गलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो।  

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो ।  

भारतको दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या  बढेको हुदाँ   ‘ओमिक्रोन’को उच्च जोखिम रहेको  छ। सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ।  सीमानामा हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत  परीक्षणको काम भइरहेको  स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

उनले भने, “जोखिम रोक्नका लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ।” 
    
यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ।  ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । उनले भने, “सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ।”  

यसका साथै ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ।  यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन्।  यसका साथै सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ।  

भारतसँग खुल्ला सीमा नाका भएका  कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ।  विगतमा  अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ।  प्रदेशमा हालसम्म चार लाख ३५ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएकामा ४८ हजार ५१९ जनामा सङ्क्रमण भइसकेको छ।  सङ्क्रमणकै कारण यस प्रदेशमा ६१४ जनाको ज्यान गइसकेको छ।  

सुदूरपश्चिम प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पिसिआर परीक्षण र  प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत पनि परीक्षण कार्य जारी छ। प्रदेशको सबै जिल्लामा गरेर ३९२ आइसोलेसन शय्या, १३४ एचडियु, १२६ कोभिड एचडियु, ६३ आइसियु, ४८ कोभिड आइसियु श्य्या,४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन्।  

 प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी  छ।  सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ।


 

प्रकाशित मिति: : 2022-01-07 13:49:00

प्रतिकृया दिनुहोस्