यस कारण मनपर्छ नायक भुवन केसीलाई यी पाँच फिल्म 

तेजन खड्का

काठमाडौं

नेपाली फिल्ममा सदावहार अभिनेताको रुपमा परिचित छन्, भुवन केसी। ‘जुनी’ फिल्मबाट सिनेजगतमा प्रवेश गरेका उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा राज गरिहेका छन्।

कुसुमे रुमाल, सम्झना, करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सयभन्दा बढी फिल्ममा खेलेका भुवनले धेरै सफल फिल्ममा काम गरेका छन्।

उनले पाँच वटा मनपर्ने फिल्म छान्न गाह्रो प्रश्न रहेको बताए। ‘झण्डै झण्डै पचास वर्षको इतिहासको मुल्याङकन गर्ने कुरा हो, नेपाली चलचित्रले आ-आफ्नै इतिहास बोकेका छन्। कसैले सकारात्मक त कसैले नकारात्मक छाप छोडे होला। नेपालमा चलचित्र बन्नु नै ठुलो कुरा थियो, त्यसताका’, उनले भने, ‘तर म भन्छु, त्यसमा मेरो पनि केही रोजाई छन्।’

यी हुन् सदावहार नायक भुवनलाई मनपर्ने पाँच फिल्म।

कन्यादान

त्यो बेलाको कर्मरशियल अनि हिट फिल्म हो, कन्यादान। हेर्दा दर्शकलाई एकछिन पनि बोर नहुने,फिल्म। यस फिल्मले बालविवाह, बालविुधवाको कथामा असाध्यै संवेदनशील बिषयवस्तु उठाएको थियो। एउटा विधुवाले पनि फेरि विवाह गरेर आफ्नो जिन्दगी बिताउन सकिने अधिकारको बिषयमा बोलिएको फिल्म दर्शकहरुले पनि एकदमै रुचाउनुभएको थियो।

निर्देशक प्रकाश थापाज्यू जो, नेपाली चलचित्रकाे इतिहास हुनुहुन्छ। जसले नेपाली फिल्मलाई जग बसाउन सफल हुनुभयो। चलचित्रमा पनि सबै कलाकारहरुको उत्कृष्ट अभिनय र प्रतिभा दर्शकले अत्याधिक रुचाउनुभएको थियो।

त्यसताका हिट त मेरा फिल्म कुसुमे रूमाल, चिनो, करोडपति, नेपाली बाबु पनि थिए। तर मैले अलि इज्जतका साथ कन्यादानको नाम लिनु पर्दा  नेपाली समाजमा घटेको चिजहरुलाई टपक्क टिपेर यथार्थ चित्रण गरिएको छ। व्यापारिक हिसाबले पनि हिट भएकोले मलाई यो फिल्म एकदमै मनपर्छ।

नुमाफुङ

नुमाफुङ चाहीँ यस कारणले मलाई राम्रो लागेको फिल्म हो, छुटै कथा र छुटै परिवेशमा बनेको छ। मौलिक तरिकाले लिम्बू परिवेशमा बनिएको यो फिल्मले लिम्बू समाजलाई सुक्ष्म रुपमा चिहाउने आँखीझ्याल बनेको छ।

फिल्ममा गीत अनिवार्य मानिन्छ। तर, बिना गीत मौलिक बिषयवस्तु राखिएको म्यासेजसहितको फिल्म उत्कृष्ट छ। यस फिल्ममा निर्देशक नविन सुब्बा भाईको पुरै मेहनत र नयाँ किसिमको योगदान देखेको छु। म एउटा आर्टिस र फिल्मकर्मी भएको कारणले यो फिल्मको नाम छुटाउन सक्दिनँ।

बुलबुल

बुलबुलमा कलाकारहरुको अभिनय ‘न्याचुरल’ छ। फिल्म धेरै हाइफाई नभएपनि वैदेशिक रोजगारमा आधारित रहेर विदेशमा गएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुले कस्ता-कस्ता समस्या भोग्नुपर्छ, वैदेशिक रोजगारीमा हुँदा परिवारमा आउने विचलनलाई असाध्यै राम्रोसँग पस्कन सफल भएकोले मलाई यो फिल्म मनपर्छ।

पशुपति प्रसाद

पशुपति प्रसादको कथा कतैबाट आयातित होइन। एक पुरुषले पशुपति परिसरमा भोगेका जीवनका अनेक भोगाइलाई नै चलचित्रमा देखाउन खोजिएको छ। यसैले दर्शकलाई यो कथा मौलिक लाग्छ। चलचित्रको सफल पक्ष संवाद हो। हाम्रै समाजमा रहेको कथावस्तुलाई निर्देशकले टपक्क टिपेर जसरी पस्केका छन् र मानिसलाई बाँधेका छन्, त्यो आफैँमा उत्कृष्ट छ, दिल छुने खालको छ।

जहाँ आर्यघाटमा चिता जल्दाखेरीको दुखदायी घटनादेखि लिएर एउटा पैसाको लागि गरिने तछाडमछाड बागमतीमा सुनको सिक्री लिन डाइफ गरेको मनछुने बिषयसँगै त्यसमा सबै कलाकारहरुको उत्कृष्ट अभिनयले मन परेको अर्को चलचित्र हो।

जेरी

युवा पुस्तालाई समेटेर बनाइएको यो फिल्म एकदमै मनपर्छ। युवा पुस्ता केन्द्रित फिल्म जेरीले ‘रिलिज डे’ मा उल्लेख्य मात्रामा लक्षित दर्शक पाएको थियो। युवा पुस्ताले नेपाली फिल्म नहेरेर विदेशी फिल्ममा आकर्षित हुनु, नेपाली सिनेमा राम्रो हुँदैन भनिरहेको बेलामा मल्टिप्लेक्समा फर्काएको छ।

जेरीमा धेरै नयाँ प्रतिभावान कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन्, जसले नेपाली फिल्ममा भविष्य देखेका नयाँ पिँढीहरुलाई प्रोत्साहित गरेको छ। अहिलेको पुस्ताको लागि मनपर्ने ‘लव स्टोरी’ समेटिएको र व्यापारिक हिसाबले पनि अघि रहेकाले मलाई जेरी मनपर्छ। जसले ‘युथ जेनेरसन’ लाई सिनेमा हल फर्काउन सफल भएको छ। 

प्रकाशित मिति: : 2022-01-08 09:00:00

प्रतिकृया दिनुहोस्