दाङमा ५ वर्षमा नागरिकको पिउने पानीमा पहुँच बढेन
‘सिकाइका अनेक क्रियाकलाप भए। तर तीमध्ये पानीका लागि गरिएको क्रियाकलाप भने नबिर्सने छ। विद्यार्थी पनि सधैं सम्झिरहन्छन्,’ दाङ घोराहीमा रहेको गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरी भन्छन्।
एकेडेमीले गएको कार्तिक महिनामा विद्यार्थीलाई गाउँको परिवेशसँग साक्षात्कार गराउन दाङको बंगलाचुली गाउँपालिका ५ मर्पेस डाँडामा लगेको थियो। त्यहाँ कक्षा ९ का विद्यार्थीले विभिन्न क्रियाकलाप गरे।
ती क्रियाकलापमध्ये सबैभन्दा विद्यार्थीले बिर्सन नसक्ने क्रियाकलपमा पानीको अभाव हुँदा कष्ट कस्तो हुन्छ भन्ने महशुस गर्न पाए। ‘हामीले ८ दिनसम्म गाउँको आर्थिक, सामाजिक अवस्थासँग विद्यार्थीलाई साक्षात्कार गरायौँ,’ सहायक प्रधानाध्यापक गरीले भने, ‘विद्यार्थीले सबैभन्दा बिर्सन नसक्ने त्यो रह्यो जुन पानीको अभाव।’
उनका अनुसार विद्यार्थीले क्लोज क्याम्प (एकै स्थानमा बसिरहने ठाउँ) बनाएर बसेको ठाउँमा पानी थिएन। पानी ल्याउनका लागि गाउँभन्दा तल जानुपर्छ। त्यो पनि मुलको पानी होइन, अनेत्र कतैबाट पाइपमा ल्याइएको पानी हो। त्यही पानी पनि गाउँसम्म पुगेको छैन।
विद्यार्थीलाई पानी ल्याउनका लागि करिब एक घण्टा (५० मिनेट) को समय उपलब्ध गराइएको थियो। तर उनीहरुले छुट्याइएको त्यस एक घण्टाको समयमा पानी ल्याउन सकेनन्।
विद्यार्थीले मात्र होइन त्यस मर्पेस गाउँका नागरिकलाई समेत पानी ल्याउन एक तर्फीबाटो मात्र पार गर्न आधा घण्टा लाग्छ। ‘दुई दिनसम्म त विद्यार्थीले एक घण्टामा पनि पानी ल्याउन सकेनन्, पछि बानी परेपछि भने हतार–हतार गरेर एक घण्टामा विद्यार्थीले पानी ल्याउन सक्ने भएका थिए,’ सहायक प्रधानाध्यापक गरीले भने, ‘विद्यार्थीलाई मात्र होइन त्यहाँका नागरिकलाई पनि आधा घण्टा पानी ल्याउन जाने ठाउँमै पुग्न लाग्छ।’
यो त वर्षौँदेखि एउटा गाउँका नागरिकले पानीका लागि भोग्नु परेको कष्ट विद्यार्थीले पनि सिकाइका रुपमा भोग्न पाएको सानो उदाहरण मात्र हो। यस्ता पानीका लागि दाङका १० पालिकाका सयौँ नागरिकले कष्ट भोग्दै आएका छन्।
२१औँ शताब्दीमा हामी गुणस्तरीय पानीको कुरा गर्छौँ। लिटर पानीलाई महंगो महशुल तिर्नेको बहस हामी गर्ने गरेका छौँ। तर अहिले पनि कयौँ नागरिक गुणस्तरीय पानी होइन साधारण पिउने पानीको पहुँचमा पुग्न सकेका छैनन्।
पानीको पहुँचमा नपुगेका दाङकै कयौँ गाउँहरु छन्। जिल्लाकै उपमहानगरका गाउँ पानीको पहुँचमा छैन भन्ने यसअघि पनि आइसकेको कुरा हो। घोराही उपमहानगरपालिका १९ लेक गाउँमा पिउने पानीको अभाव हुँदाहुँदै पनि वर्षे तरकारी खेती गरेर केशबहादुर पुनले जीवन चलाएको विएल नेपाली सेवाले यस अघि समाचार प्रकाशित गरिसकेको छ।
घोराही बजारदेखि नजिकै रहेको यस लेक गाउँका नागरिकलाई वस्तुभाउलाई खुवाउने पानीसमेत डोकोमा बाकेर ल्याउनुपर्ने समस्या रहेको छ। वर्षामा आकाशे पानीले गुजारा चल्ने भएपनि वर्षापछि भने पानीको निकै समस्या हुने गरेको स्थानीय कृषक पुनले बताए। पानी ल्याउनकै लागि एक घण्टाको बाटो हिंड्नु पर्ने बाध्यता रहेको उनी बताउँ छन्।
यस्तै बबई गाउँपालिकाको कर्णाली उपनामले चिनिने गंगटे क्षेत्रमा पनि पिउने पानीको समस्या रहेको छ। बबई गाउँपालिकाको हापुरेदेखि पश्चिममा करिब २६ किलोमिटर दुरीमा पर्ने यस गाउँमा पानीको अभाव रहेको स्थानीय मानबहादुर गुरुङले बताए।
‘वर्षा र हिउँदमा पिउने पानीको समस्या हुन्छ। सिँचाई गर्ने पानीको पनि अभाव छ,’ उनले भने। हिउँदमा खोलामा पानीको मुहान सुक्ने र वर्षातमा भेल आउने भएकाले पानीको समस्या भएको गुरुङले बताए।देश संघीयतामा प्रवेश गरेर स्थानीय तहका जनप्रतिनिधिले काम गर्न थालेको ५ वर्ष पूरा हुन अब वर्षदिन पनि बाँकी छैन।
सामान्यतया जनप्रतिनिधिले काम गरेको ५ वर्षको अवधिमा मानिसको आधारभूत आश्यकता पानी सबैको घर–घरमा पुगेको हुनुपर्ने जो कोहीले आँकलन गरेको कुरा हो। तर विडम्बना दाङमा बितेको ५ वर्षमा सहज रुपमा पानीको पहुँचमा पुग्ने नागरिकको प्रतिशत बढ्न सकेको छैन। ५ वर्षअघि पनि जिल्लामा करिब ३५ प्रतिशत नागरिक पिउने पानीको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको थियो। अहिले पनि यो संख्या बढ्न सकेको छैन।
लुम्बिनी प्रदेश खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार दाङमा अझै करिब ३५ प्रतिशत नागरिक सहज पिउने पानीको पहुँच बाहिर छन्। ‘हाम्रो सर्वेक्षणले जल्लामा करिब ६५ प्रतिशत नागरिक सहज पिउने पानीको पहुँचमा पुगेको देखिन्छ,’ डिभिजन कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी वेदप्रसाद आचार्यले भने।
उनका अनुसार दाङका सहरी क्षेत्रभन्दा पनि ग्रामीणबस्तीहरु पिउने पानीको पहुँचमा छैनन्। बंगलाचुली गाउँपालिका, देउखुरीको राजपुर गाउँपालिकाको भारतीय सीमा नाकासँग जाेडिएका गाउँहरुमा पानी पुर्याउन सकिएको छैन।
‘यस वर्ष पानीको पहुँचमा पुग्ने नागरिकको संख्या बढ्छ’
लुम्बिनी प्रदेश खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका इन्जिनियर तथा सूचना अधिकारी आचार्यले यस वर्ष जिल्लामा पिउने पानीको पहुँचमा पुग्ने नागरिकको संख्या वृद्धि हुने दाबी गरे।
उनका अनुसार दाङमा खाने पानीका धेरै आयोजनाहरु निर्माणका चरणमा रहेका छन्। तीमध्ये यस आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने आयोजनाहरुले पानीको पहुँचमा पुग्ने नागरिकको प्रतिशत बढाउने भन्ने छ।
‘पानीका आयोजनाहरु बहुवर्षे हुन्छन्। यस आर्थिक वर्षमा सम्पन्न हुने पानीका आयोजनाहरुले धेरै नागरिक पानीको पहुँचमा पुग्नेछन्,’ उनले भने।उनका अनुसार यस आर्थिक वर्षको अन्तिमसम्म दाङमा करिब ७५ प्रतिशत नागरिक सहज पिउने पानीको पहुँचमा पुग्नेछन्।
बहुवर्षे आयोजनामा बजेट अभाव
बुहुवर्षे खाने पानीका आयोजनाहरुमा बजेटको अभाव हुने गरेको पाइएको छ। सरकारले आयोजनाका लागि बजेट घोषणा गरे पनि आर्थिक वर्षमा काम पूरा हुँदासमेत बजेट आइनपुग्दा समस्या हुने गरेको आचार्यले बताए।
साथै आयोजना समयमै सक्न विभिन्न कठिनाइ हुने गरेको उनको भनाई छ। प्राविधिक जनशक्तिको अभाव, आयोजनाका मुल तथा जग्गा विवाद जस्ता समस्याहरुले गर्दा पनि आयोजनाहरु समयमै सक्न अवरोध पुग्ने गरको छ।
यस्तै सवारी सधानको कमी, जनश्रमदान २० प्रतिशत पुर्याउन कठिनलगायतका समस्या पनि रहेको उनले बताए।
गत आ.व.मा ५ हजार बढी नागरिक लाभान्वित
गत आर्थिक वर्षमा दाङमा ७ वटा खाने पानीका आयोजना सम्पन्न भएका छन्। जुन आयोजनाबाट ५ हजार बढी नागरिक लाभान्वित भएको लुम्बिनी प्रदेश खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको तथ्यांकमा छ।
बंगलाचुली गाउँपालिका ३ स्थित काभ्रे खाने पानी आयोजना सम्पन्न हुँदा ५९८ जना, वडा नं ७ स्थित सुन्दरवस्ती खानेपानी आयोजनाबाट १८६ जना, वडा नं. ४ कमिरेचौर दाङवाङ खानेपानी आयोजनाबाट १०० जना लाभान्वित भएका छन्।
त्यस्तै घोराही १८ को सुपैलाखटी अकबरे खानेपानी आयोजनाबाट ३६१, तुलसीपुर १ छोटे खानेपानी आयोजनाबाट १०५, तुलसीपुर १० कटाहा सिम्लेधारा आयोजनाबाट १ हजार २६१ जना र राप्ती गाउँपालिका ९ स्थित बगासोती वर्षातको पानी संकलन आयोजनाबाट १ हजार ५ सय ५८ जना लाभान्वित भएको डिभिजन कार्यालयको तथ्यांकमा छ।