सेकुवा पोलेरै जो कमाउछन् महिनाकै लाख !

मिलन के राउत

उर्लाबारी

पूर्व-पश्चिम राजमार्गसँगै उर्लाबारी- ५ मा एउटा टहरोमा छ– सुन्दर भ्याल श्रेष्ठको सेकुवा कर्नर। उनीसँगै श्रीमती मालालाई पनि ग्राहकको सत्कारमा दैनिक भ्याईनभ्याइ छ।

लयबद्ध तवरमा सिलमा उनिएका मासु पोल्न सुन्दर बिहानैदेखि खटिन्छन्।

तातो कोइलासँग पैठेजोरी खेलिरहेका उनलाई रापतापको प्रवाह छैन। मात्रै ग्राहकलाई कसरी स्वादिष्ट सेकुवाको रिसेपी टक्राउने उनी त्यसैमा तल्लिन छन्। सेकुवाका पारखीले एकपटक स्वाद लिएपछि ती उनका नियमित ग्राहक बन्ने गर्नु पनि सुन्दरको पाककलाको विशेषता हो।

एसएस भ्याल पोर्क सेकुवा कर्नर नाममा सञ्चालित होटलमा मुलत: बङ्गुरको सेकुवा नै मुख्य परिकार हो। चिकेन म:म: चना, चिउरा र पेय पदार्थहरु सहायक परिकारका रुपमा छन्।

उमेरले ३० बर्ष नाघेका सुन्दरको स्थायी ठेगाना मोरङ मिक्लाजुङ- ६ खाकरबारी हो। गाउँमा रहँदा गरिखाने मेलोको रुपमा ट्याक्टर खरिद गरेका थिए। ट्याक्टरबाट घाटा मात्रै खेपेपछि उनले त्यसलाई चटक्कै छाडेको बताउछन्।

अब नयाँ व्यवसाय के गर्ने त ? एक सन्तानका बाबुसमेत रहेका सुन्दरलाई परिवारको व्यवस्थापन पनि पेचिलो बनेको थियो। यस्तैमा बङ्गुरको सेकुवाको पारखी बढेकोप्रति उनी अनदेखा थिएनन्। करिब १५ किलोमिटरको उर्लाबारीलाई उनले कर्मभूमि बनाउने निधो गरे। परिवारसहित बसाइँ झरे। भाडाको कोठामा बस्न थालेका उनलेे उर्लाबारीको गोदावरी हस्पिटलसंगैको लाइनमा सटर कोठा लिएर सेकुवा कर्नर चलाउदैछन्।

दुई वर्ष भयो सुन्दरको सेकुवा कर्नर सञ्चालनमा आएको। 'सुरुवाती दिनमा फाट्टफुट्ट ग्राहक आउँदा कतिपय आफन्तले यस्तो व्यवसायले उँभो लागिदैन भन्थे,' सुन्दरले भने,'हरेस नखाई काममा समर्पित बनेँ, अहिले सन्तुष्ट छु।'

श्रीमतीले रिसेप्सन सम्हाल्छिन्, सुन्दर भने सेकुवा पोल्नमै व्यस्त रहन्छन्। एकजना कामदार पनि राखेका छन्। ग्राहकको खाँचो देखिदैन। दिउँसो २ बजेपछि थामिनसक्नु भीड हुन्छ। दुई वटा सटरका कोठा अचेल सुन्दर साँघुरो भैरहेका छन्।

नयाँ ठाउँमा सर्दा ग्राहकलाई अपायक हुनसक्ने भएकोले विकल्प नखोजेको सुन्दरको भनाइ छ।

दैनिक घटीमा २० देखि बढीमा २५ केजी बँगुरको मासु खपत हुने गरेको छ उनको होटलमा। कहिलेकाही त पार्टी, भोजहरुबाट अर्डर आउनाले अझ बढी परिणाममा सेकुवा खपत हुने गरेको उनलेे बताए।

यत्रो विधि मासु बेच्दा कमाई पनि त कुस्त होला नि भन्ने जिज्ञासामा सुन्दरले भने,'सबै खर्च कटाएर १ लाखजति बच्छ।'

उर्लाबारीमा घडेरी समेत खरिद गरिसकेका उनी चाडै घर बनाउने तरखरमा छन्।

उबेला बँङ्गुरको मासुभन्दा छिःछि दुरदुर गर्ने समुदायकै  सन्ततिहरु बँगुरको सेकुवाको बढी पारखी भएकोले पनि बिक्रीको माग बढेको हुनसक्ने उनी बताउँछन्।

अर्कोतर्फ खसीको मासुको सेकुवा जहीँतहीँ नपाउने, पाए पनि सर्वसाधारणलाई महँगो हुने भएकोले बँगुरको सेकुवाप्रति आकर्षण बढेको उनको निष्कर्ष छ। भन्छन्,'पहिलाजस्तो छाडा छाडेर सुँगुर पाल्ने जमाना छैन्। अहिले व्यवस्थित फार्महरुमा पालिन्छ। सुँगुरको मासु स्वस्थकर पनि हुने भएकाले यसका पारखीहरु बढेका हुन्।'

प्रकाशित मिति: : 2022-01-05 11:49:00

प्रतिकृया दिनुहोस्