जसलाई पिर्के सलामीले ‘ट्रोल’ बनायो

कमल प्रभात

काठमाडौं
सबै तस्विर सामाजिक सञ्जालबाट
सबै तस्विर सामाजिक सञ्जालबाट

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो गृहजिल्ला गुल्मीमा प्रहरीबाट ‘पिर्के सलामी’ ग्रहण तस्विर सामाजिक सञ्जालमा ‘ट्राेल’ बनेकाे छ। मदाने गाउँपालिकास्थित पुर्काेटदह इलाका प्रहरीले मन्त्री झाँक्रीलाई दिएको ‘पिर्के सलामी’को तस्बिरलाई लिएर धेरैले विभिन्न टिकाटिप्पणी गरिरहेका छन्।

मन्त्री झाँक्रीले सत्ताबाहिर हुँदा यस्तो प्रचलनको खुलेर विरोध जनाउने गर्थिन्। तर, अहिले आफूमन्त्री भएर त्यही प्रचलन अवलम्बन गर्दा उनको झन् बढी आलोचना भएकाे मात्र छैन, वास्तविक तस्विरलाई ताेडमाेड गरेर ‘खिल्ली’ उढाइएकाे छ। 

मन्त्री झाँक्रीले ‘पिर्के सलामी’ सामान्य भएको बताएकी छिन्। ‘राज्यले एउटा मन्त्रीलाई दिने सुविधा मैले लिएको हो,’ बिएल नेपाली सेवासँग मन्त्री झाँक्रीले भनिन्,‘राज्यले मन्त्री पदलाई दिने सुविधा अनुसार मैले त्यो सम्मान ग्रहण गरेकी हुँ। यसलाई ट्रोल बनाइन्छ भने, मेरो भन्नु केही छैन।’

तर, यत्ति भन्दैमा उनी उम्किन पाउने वाला छैनन्। उनले विगतमा अरूलाई आलोचना गरेर उढाउने गरेका घटनाहरु अहिले पनि सामाजिक सञ्जालमा छताछुल्ल छन्।

त्यसो त ‘पिर्के सलामी’को तस्विर ‘ट्राेल’ बनेकाे यो पहिलो घटना भने होइन। यस्ता किसिमका घटनामा देशमा उच्च ओहदामा रहेका राष्ट्रपतिदेखि सामान्य जनप्रतिनिधिसमेत आलाेचित भएका छन्।

अब सुरू गराैँ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईबाट। भट्टराईले पनि ‘पिर्के सलामी’ ग्रहण गर्दा आलोचित हुनु परेको थियो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहालले वि.सं. २०७३ सालकाे प्रहरी दिवसमा चितवनको भरक्तपुर महानगरपालिकामा ‘पिर्के सलामी’ ग्रहण गर्दा चर्काे आलोचना खेप्नु परेको थियो। त्यतिबेला उनले माफी समेत मागेकी थिइन्।

त्यस्तै दुई वर्षअघि तत्कालिन नेकपा (एमाले) धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयरमा निर्वाचित परशु नेपाल एक कार्यक्रममा टेबलमाथि चढेर सलामी ग्रहण गर्दा ‘भाइरल’ भनेका थिए। उनी पनि त्यतिबेला सामाजिक सञ्जालमा ‘ट्रोल’को शिकार भए।

वि.सं.२०७६ भदौमा हुम्लामा न्यायाधीश चन्द्रकान्त पौडेलले पनि ‘पिर्के सलामी’ ग्रहण गरेका थिए। त्यसपछि उनी पनि समाजिक सञ्जालमा ‘ट्रोल’बन्न पुगेका थिए। त्यसैगरी बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले राष्ट्रपति रनिङ्शिल कार्यक्रममा टेबलमा बसेर सलामी ग्रहण गर्दा चर्काे विरोध भएको थियो।

यस्तै, केही वर्षअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा ‘पिर्के सलामी’ ग्रहण गरेका थिए। गृहनगरको एक कार्यक्रमा उनले ग्रहण गरेको यो सलामीले पनि त्यतिबेला सामाजिक सञ्जाल निक्कै तताएको थियो। उनले यसरी पटक–पटक ‘पिर्के सलामी’ ग्रहण गरेका थिए।

यसरी ‘पिर्के सलामी’को विषयले धेरै नेता, मन्त्री तथा जनप्रतिनिधिहरु आलोचित हुँदै आएका घटना धेरै छन्। यही कुराहरुले धेरैले विभिन्न गाली–गलौज समेत खानु परेको छ। जुन कुराले जनताले नेताहरुलाई हेर्ने नजरसमेत नकारात्मक हुँदै गएको छ। जुन अहिले मन्त्री झाँक्री सहनु परेको छ।

नेपालमा नराम्रा कुराले सामाजिक सञ्जालमा राम्रो स्थान पाउने गर्छन्। नेपालका अधिकांश मानिसले सामाजिक सञ्जालमा ‘भाइरल’ कुराहरुबाट आफ्नो धारण निर्माण गर्ने गर्छन्। त्यसमाथि त्यस्ता केही घटना तथा दृश्यहरुलाई ‘इडिट’ (काँटछाँट) गरेर सामाजिक सञ्जालमा राख्ने प्रचलन विगतदेखि नै छ। जुन कुराले समाजमा नराकारात्मक सन्देश मात्रै प्रवाह गरेको छैन। त्यही कुरालाई आधार मानेर धारणा बनाउँदा रहेक मानिसहरुलाई असर गरिरहेको हुन्छ।

पिर्कामाथि चढेर सलामी खाँदा जनप्रतिनिधिले आलोचना बेहोर्नु परेको कैयौं उदाहरण छन्। रातो पिर्का वा टेबलमा चढेर सलामी ग्रहण गर्ने जाे काेही अहिले पनि आलोचना हुने गरेको छ। पिर्कामाथि चढेर सलामी ग्रहण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा एकैछिनमा भाईरल बन्न पुग्छ। त्यस्तो तस्बिरमुनि गालीगलौज गरिएका ‘नेगेटिभ’ कमेन्ट मात्र भेटिन्छन्।

पिर्का, टेबल, कुर्सीलगायतमा बसेर सलामी ग्रहण गर्नु राजतन्त्रमा नौलो कुरा होइन। पहिला–पहिला राज–महाराजाहरुलाई यसरी नै सलामी दिने गरिन्थ्यो। तर, गणतन्त्रमा आउँदा यसको आलोचना हुनु स्वाभाविक हो। किनभने जनताबाट निर्वाचित प्रतिनिधिहरुले पनि राजाकै शैली अपनाएको धेरैको बुझाई छ। अर्कोतर्फ मतदातास्तरबाट सम्मानित हुनु जनप्रतिनिधिको वयक्तिक अधिकार पनि हो। तर, सबै कुराको हद हुन्छ र त्यो आम रुपमा पाच्य हुनुपर्छ। नेपालमा कुन पदमा आशिन व्यक्तिलाई कस्तो सलामी दिने भन्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ। सोही अनुसार ‘पिर्के सलामी’ पनि गलत नभएको अधिकारीहरुको भनाई छ।

‘समारोह व्यवस्थापन कार्यविधि’ अनुसार यसरी सलामी दिनु लगत नभएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँर बताउँछन्। ‘समारोह व्यवस्थापन कार्यविधि अनुसार प्रहरी कर्यालयको निरीक्षणमा रहनुभएका बेला यसरी सलामी दिनु स्वाभाविक हो,’ उनले भने।

प्रकाशित मिति: : 2022-01-04 19:50:00

प्रतिकृया दिनुहोस्