धर्मान्ध सत्ताको इशारामा खास धार्मिक समुदायलाई निशाना बनाउँदै सामाजिक सद्भाव बिथोल्ने मन्द विष पस्किरहेको अहिलेको बलिउड कुनै पनि समय सीमा नाघेर नेपालतिर पनि उक्लन सक्छ।
कोभिड-१९ महामारीले झ्ण्डै दुई वर्ष मूच्र्छित फिल्म बजार (नेपाल-भारत)लाई पानी छम्किने गरी हालै रिलिज भयो, बलिउड निर्देशक रोहित शेट्टीको चलचित्र सूर्यवंशी। यसले व्यापार नभएर ओइलाएका फिल्म हल, वितरक र निर्मातासम्मलाई ब्युँतायो। लामो समयान्तरका कारण फिल्म हेर्न वैकल्पिक माध्यममा अभ्यस्त भइसकेका दर्शक कोरोनाको त्रास बाँकी नै रहेकाले हलमा नआउने हुन् कि भन्ने आशङ्का समेत मेटियो।
काठमाडौंका सिभिल मल लगायत हलमा लामै लाइन देखियो। नेपाली चलचित्र निर्माताहरूले पनि पुलकित भएर सामाजिक सञ्जालमा खुशी व्यक्त गरे। केहीले आफ्नो बजार बौराउन विदेशी फिल्मको सहारा लिनुपरेकोमा दुःख पनि प्रकट गरे।
सूर्यवंशीले व्यवसायमा बहारसँगै समाजमा फैलाएको एउटा मन्द विषबारे भने खासै बहस र चर्चा भएन। त्यो विष थियो, धार्मिक अतिवादको प्रशस्ति र एउटा खास धर्म-समुदायलाई लाञ्छित गर्ने प्रवृत्ति।