त्यो दिन कस्तो होला, जब सुरेश साह झिटीगुन्टा च्यापेर आफ्नी श्रीमतीका साथ वीर अस्पतालको मूल ढोकाबाट बाहिरिनेछन्। कलंकी पुगेर रात्रि बस चढ्नेछन्। रातभरको यात्रापछि आफ्नो घर-आँगन टेक्नेछन्। महीनौंदेखि विछोडिएका लालाबालालाई स्नेहपूर्वक अँगाल्नेछन्। र, उमंग अनि फूर्तिको भावमा भन्नेछन्, ‘देख्यौं, तिमीहरुको आमालाई बचाएँ। उनी निको भइन्। अब आमा बोल्न सक्छिन्। अनि सधैंभरि तिमीहरुसँगै हुनेछिन्।’
त्यस पल उनले भुल्नेछन्, वर्षौं-वर्षदेखि अस्पतालमा बिताएका अनिंदा रातहरु। उपचारका लागि सिध्याएकाे भएभरकाे घर-बारीहरु। दुनियासँग हारगुहार गर्दै काढेकाे ऋणहरु। उनलाई खुशीले नाचौं, नाचौं लाग्नेछ। जोड-जोडले गीत गाउन मन लाग्नेछ।