लागूऔषध कारोबारीमाथि कास्की प्रहरीको एक्सन : सेलिब्रेटी समेत फन्दामा

sketch: pinterest
sketch: pinterest

पछिल्लो समय कास्की प्रहरी लागूऔषध कारोबारीमाथि आक्रामक बन्दै गएको छ। अहिले कास्की प्रहरीको सूचीमा लागूऔषध कारोबारी मुख्य तारो बनेका छन् भन्दा फरक पर्दैन।

यसैबीच र्‍यापर आशिष राना (लाहुरे) लागूऔषध प्रयोग गरिरहेको अवस्थामा प्रहरी फन्दामा परेका छन्। प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीसहित ४ जनालाई समातेर हिरासतमा राखेको छ।

बिहीबार सार्वजनिक बिदा परेकाले थप अनुसन्धान प्रक्रिया अघि बढेको छैन। उनी कास्की प्रहरीको हिरासतमा छन्। पोखराको जाल्पारोडबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

लाहुरे हिमालय टेलिभिजनबाट प्रशारण हुने रोडिज नामको रियालिटी शो'को जर्जको भूमिकामा पनि छन्। सामाजिक सञ्जाल, युट्युबमा पनि सो कार्यक्रम निकै रुचाइएको छ। उनी युवा पुस्तामाँझ निकै रुचाइन्छन्। लाहुरे उपनामबाट र्‍याप जगतमा चर्चित रानालाई लागूऔषध प्रयोग गरिरहेको अवस्थामा भेटेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

लागूऔषधको ट्रान्जिट पोखरा

हिमाली जिल्ला मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङलगायतका जिल्ला जाने ट्रान्जिट हो, पोखरा। यी जिल्लामा जानका लागि अर्काे बाटो छैन। बाहिरबाट आँखा छलेर आए पनि बाहिरी जिल्लामा पुर्‍याउन पोखरा नछिरी अर्को विकल्प छैन। सिधै अर्को चोर बाटो फेला नपर्दा पनि लागूऔषध कारोबारी पोखरामा धेरै पक्राउ पर्ने गरेको एसपी थापाले सुनाए।

‘लागूऔषध कारोबारीको जति पनि चेन छ। गण्डकी प्रदेशका जिल्लाहरुमा जान पोखराकै बाटो पनि प्रयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘लागूऔषध कारोबारीभन्दा पनि हाम्रो प्रहरी परिचालन र बरामद गर्ने ट्रेण्डमा बृद्धि भएको हो। लागूऔषध कारोबारी गर्ने व्यक्तिहरुलाई पक्राउ गर्ने ट्रेण्ड बढेको हो।’

लागूऔषध कारोबारी कोही बिक्री गर्नकै लागि गर्ने। कोही बिक्री गरेर आउने नाफा बराबरको प्रयाेग गर्नकालागि लागि पर्ने गरेको एसपी थापाको भनाई छ।

लागूऔषध कारोबारीको समस्या पोखराको मात्रै नभई अन्य जिल्लामा पनि यसको डरलाग्दो अवस्था रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय कास्कीको पुस २ गतेसम्मको तथ्यांकमा आर्थिक वर्ष २०७८, ०७९ मा १ सय ६१ पुरुष र ८ महिला पक्राउ परेका छन्। यस्तै १ जना विदेशी पुरुषलाई पनि प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले डाइजापाम २ हजार ५२ थान,  फेनेरागन २ हजार ५५ थान, गाँजा ७४ केजी ७ सय ९१ ग्राम, ब्राउन सुगर १८ ग्राम, ५ सय ९८ मिलिग्राम, नाइट्रोभ्याट ३ सय ८२ चक्की, चरेश ८ सय ३८ ग्राम र ब्रुप्रिनर्फीन २ हजार ३७ थान बरामदमा लिएको छ। 

प्रकाशित मिति: : 2021-12-31 17:30:00

प्रतिकृया दिनुहोस्