भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला पूर्वी–एसियाली म्यान्मारको भ्रमण सकेर नयाँदिल्ली फर्किएका छन्। भारतको तर्फबाट म्यान्मारमा सैन्य ‘कू’पछिको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
गत फेब्रुअरीमा म्यान्मार सेनाले प्रजातान्त्रिक सरकार अपदस्थ गरी राज्य–सल्लाहकार आङ सान सुकीलगायत राजनीतिक नेतृत्वलाई नजरबन्दमा राखेको छ। सेनाले म्यान्मारको राज्यसत्ता आफ्नो कब्जामा लिएर क्रूरता प्रदर्शन गरिरहेको छ।
म्यान्मार भ्रमणका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले सत्तारुढ सैन्य परिषद्का उच्च व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। मानवीय सहायता, सुरक्षा, म्यान्मार–भारत सीमा र पछिल्लो राजनीतिक अवस्थाबारे पनि सचिव श्रृंगलाले संवाद गरेको भारतीय विदेश मन्त्रालयले दाबी गरेको छ।
म्यान्मार–भारतको सीमा झण्डै १६४० किलोमिटर सँगसँगै छ। सैन्य ‘कू’यता मणिपुर र नागाल्याण्ड हुँदै हजारौँ बर्मेलीहरू शरणका लागि भारत छिरेको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो पटक यी राज्यहरूमा भइरहेको चरमपन्थी गतिविधिबाट भारत चिन्तित देखिन्छ। रणनीतिक दृष्टिकोणले म्यान्मार भारतका लागि धेरै महत्वपूर्ण छ।
चर्चित बर्मेली नेत्री सुकीलाई एक स्थानीय अदालतले सैन्य सरकारविरुद्ध प्रदर्शन भड्काएको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। उनी यतिबेला नजरबन्दसँगै सैन्य जेलमा छिन्। लगतै, म्यान्मार सैन्य अदालतको अराजनीतिक कदमप्रति भारत चिन्तित छ।
म्यान्मार–भारतबीचको सम्बन्ध शताब्दीयौं पुरानो हो। बुद्ध धर्म दुई देशको दीगो सम्बन्धका लागि बलियो बन्धन हो। म्यान्मार–भारतमा समाज र संस्कृतिमा बुद्ध धर्मको गहिरो छाप प्रस्टै देखिन्छ।
सन् १९४८ मा बेलायती शासनको अन्त्य भएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बर्मेली कूटनीतिज्ञहरू बताउँछन्। म्यान्मार अर्थात् तत्कालीन बर्मा ब्रिटिश शासनकालमा ‘ब्रिटिश–भारत’को एक प्रान्तजस्तै मानिन्थ्यो। जसका कारण यी दुईबीचको सम्बन्ध निकै बलियो रहेको जनविश्वास छ। तर सन् १९६२ को मार्च–ताका म्यान्मार सेनाले लोकतान्त्रिक सरकारलाई ‘कू’गरी सत्ताबाट हटायो– अब दुई देशबीचको सम्बन्ध बिग्रन थाल्यो।
म्यान्मारको ‘जुन्ता–सेना’ले ४९ वर्षसम्म एकलौटी क्रूर शासन गर्यो। आजसम्म पनि सेनाले प्रजातन्त्रका लागि उठेका कैयौँ आवाजलाई बेवास्ता गरिरहेको छ।
सेनाले सत्ता कब्जा गरेदेखि नै अमेरिकालगायत पश्चिमी मुलुकहरूले म्यान्मार देशमाथि कडा आर्थिक नाकाबन्दी लगाएका छन्। हालैका वर्षहरूमा भारत–अमेरिकाबीचको निकटताका कारण म्यान्मार–भारतबीच मित्रता सहज छैन। अनेकौँ अमेरिकी धम्की र आपत्तिका बाबजुद भारतले म्यान्मारतर्फ आफ्नो हातअघि बढाएको छ।