नेपाली नाटकको परम्परा शाही राजदरबार र श्री ३ का दरबारभित्र देखाएर सुरु भएको थियो। त्यतिबेला मञ्चको सजावट र स्टेजदेखि ध्वनि व्यवस्थापनसम्मको काममा भारतीय रङ्गकर्मीहरूको दबदबा थियो। रङ्गमञ्चमा त्यो परनिर्भरता प्रचण्ड मल्ललाई कत्ति उचित लागेन, त्यो परम्परा तोड्न रङ्गमञ्च अध्ययन गर्न उनी २०२४ सालमा रसिया गए। रसियाबाट फर्केपछि देखाइने नेपाली नाटकमा रङ्गमञ्चको सजावट, परिवेश निर्माण, पात्रअनुसारको पोसाकलगायत सबै कुरा उनले सम्हाल्न थाले। नेपाली रङ्गमञ्चलाई मौलिक आधुनिक सजावट भित्र्याउने रङ्गकर्मी प्रचण्ड मल्ल यस धर्तीबाट यही पुस २ गते सदाका लागि विदा भए।
उनको देहवसानको खबर पाएपछि परिवार भेट्न साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’सँग रातोपाटीकर्मी उनको घर पुग्यो । मीनभवनबाट अलिकति उकालो चढेपछि बायाँतर्फ उनको घर रहेछ।
फिका नीलो रङको गेट खोलेर भित्र पस्यौँ। आँगनमा टेबलमाथि सेतो दौरासुरुवाल, खैरो कोट, कालो टोपी लगाएको तस्बिरमा फूल र रुद्राक्षको माला लगाइएको थियो। तस्बिर नै बोल्छ जस्तो, हाँस्न हाँस्न खोजेको, ठूला ठूला आँखा र कान । जयश्रीराम लेखिएको कपडाले टेबल ढाकेको, टेबलमा केही फलफूल, कलश र अगरबत्ति बालिएको थियो। सबै प्राणीको पृथ्वी यात्रा यस्तै हो भन्ने मनमा लाग्यो। तपाईंको वैकुण्ठमा बास होस् भन्दै हात जोडेर श्रद्धाञ्जली अर्पण पनि गर्यौँ। केही दिन अघिसम्म रंगमञ्चकै लागि चिन्तन गर्ने प्रचण्ड मल्ल अब तस्बिरमा सीमित भएका थिए।