इन्जिनियरको काम के हो ?
घर, नदीमाथि बन्ने पुलपुलेसाका नक्सा कोर्ने। हाइड्रोपावरको डिजाइन गर्ने। छोटोमा भन्दा भौतिक संरचना निर्माणका लागि नक्सा कोर्ने।
हो, जतिपनि भौतिक संरचना थपिन्छन्। ती इन्जिनियरहरुकै डिजाइनमा बनेका छन्।
इन्जिनियर आकाश गुरुङ पढाईंले सिभिल इन्जिनियर हुन्। बैंगलोरमा इन्जिनियर सकाएर नेपालमै केही गरौं भनेर फर्किएका आकाश हिजोआज घरको नक्सा कोर्दैनन्। बरु, पाहुनाहरुलाई कसरी फरकपनको आभाष दिलाउने ? व्यवसाय कसरी अघि बढाउने ? त्यताको योजना बनाउँछन्। हँसिलो मुहारमा पाहुना स्वागत गरिरहेका हुन्छन्। ‘इन्जिनियरबाट पनि धेरै कुरा सिकियो,’ आकाश भन्छन्।
अन्नपूर्ण पदमार्ग अन्तर्गत हिमालयमा ‘हिमालय गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’मा रोकिनुभयो भने आकाशलाईं तपाईं भेट्नुहुन्छ। कफी बनाउँदै गरेको। पाहुनाहरुलाई स्वागत गर्दै गरेकाे अवस्थामा।
आकाशलाई सधैं भ्याईंनभ्याईं हुन्छ। हामीले केहीबेर गफिने समय माग्यौं। राति सबै पाहुना सुतिसकेपछि उनले समय निकाले।
इन्जिनियरिङ पढ्नुको एउटै उद्देश्य रहेछ आकाशको। आफ्नो गाउँठाउँमा पनि काम लाग्ला। केही नभए गाउँघरकै विकासमा आफ्नो सीप लगाउँला। केही न केही गर्नैपर्छ भन्ने थियो। ‘नेपालमा धेरै अप्सन छैन पढाईको कुरामा। करिअरवाइज कि तपाईं डक्टर बन्न पर्यो कि इन्जिनियर। छोरीहरुलाई नर्स। मैले हिजोअस्ति सुनेको एअरहोस्टेज, पाइलटहरुदेखि लिएर क्लासेजहरु हुन्छ,’ आकाश सुनाउँछन्, ‘अरु अस्पसन थिएन। भए अरुमा पनि गइन्थ्यो होला। अझैं पनि नेपालमा स्कोप त सिभिल इन्जिनियरकै छ, राम्रै होला। त्यसमाथि हाम्रो गाउँ ठाउँमा पनि काम लाग्न सक्छ भनेर गएको थिएँ।’
आकाशको प्रारम्भिक शिक्षा पोखरा कुमदिनी होम्सबाट सुरु भएको थियो। परिवारको सहयोग पाएपछि इन्जिनियर पढ्न बैंगलोर हानिए। पोखरामै पढेर धेरै विकल्प थिएन। कि, लाहुरे हुनु पर्यो। लाहुरे हुन आकाशले मन गरेनन्। अनि, सुरु भयो उनको इन्जिनियरिङ पढाईं।
पढाईं सकाए। पढाईं सकाएर नेपाल फर्किन्छु सोचेका थिए। उनी फर्किए। काम खोजे। दुई, चार वटा कन्सल्टेन्सीमा पनि गए। तर, इन्जिनियरिङ पढेपछि जे गर्छु सोचेका थिए। त्यस्तो रेस्पोन्स पाएनन्। ‘बैंग्लोरबाट आएको यो त अलि जान्ने होला भन्ने पनि भए होला। तर, प्राक्टिकल नलेज त थिएन,’ आकाश विगत सुनाउँछन्, ‘उहाँहरु दुई तीन वर्ष सिनिसयर उहाँहरुलाई धेरै थाहा थियो सिकिरहेको छ। कोअपरेट नगर्ने। त्यो भएपछि अलि मजा पनि आएन। नेपालको वातावरण पनि अलि ठिक छैन। त्यसमाथि स्यालरी पनि नहुने।’
अनि, त के थियो र !
घरको नक्सा कोर्न छोडेर उनी जीवनकै नक्सा कोर्न निस्किए। अहिले उनी यतै रमाउँछन्।
हामीले सोध्यौं, इन्जिनियरिङ पढेर यता लाग्ने सोच कसरी आयो त ?
जवाफ सरल छ, ठाउँको मायाले।
आफू जन्मे हुर्केको ठाउँको मायाले आकाशलाई गाउँमै डोहोर्यायो। बाबाले थालेको व्यवसाय छँदै थियो। उनले त्यसैलाई जमाए। ‘मलाई दुई तीन वटा देशको अप्सन दिनुस्। म आफ्नै देश गाउँ ठाउँ चुज गर्छु। एक त बाबाआमाको ठाउँ पनि हो,’ उनी सुनाउछन्, ‘बाबाले दुख गरेर खडा गर्नुभएको हो। बरु, छोम्रोङ त्यति रमाइलो लाग्दैन।’
सिभिल इन्जिनियर भए पनि नेपालमै केही गर्छु भन्ने त थियो आकाशलाई। तर, होटल व्यवसाय गर्छु भन्ने सोचेका थिएनन्।
इन्जिनियर कि व्यवसायी ?
उनलाई व्यवसायी हुनै फाप्यो। इन्जिनियरको महिनाभको कमाई। सिजनमा त आकाश एकै दिनमा कमाउछन्। ‘म यही ठाउँमा यही ठाउँमा दुख कष्ट गरे भने यहाँ त झन धेरे हुन्छ। दुई चार आइडिया लगाएँ भने त झन धेरै हुन्छ। बाबाले यो बनाई सक्नुभएको थियो,’ आकाश सुनाउँछन्, ‘यहाँ आएर एक दुई वटा टेबल थपेर केही नयाँ भिजन लगाएपछि इन्जिनियरको एक महिनाको कमाईं। यहाँ एकै दिनमा पनि हुन थाल्यो।’
हुन त इन्जिनियर हुनुभन्दा अघि आफूलाई विजनेश म्यानकै रुपमा दाँज्थे रे आकाश। दसैं छुट्टीमा बा को पछि लागेर गेष्ट हाउस हेर्न आउँथे। आएर बा'लाई काम पनि सघाउँथे। ‘बाबाले गरिरहेको छ। म किन ठूलो हुनुपर्यो भन्ने पनि लाग्यो,’ आकाश थप्छन्।
अहिले आकाशले व्यवसायको पुरानो शैली परिमार्जन गर्दै केही नयाँ पनि सुरु गरेका छन्। २९ सय २० मिटर अग्लो उचाईंमा पनि तपाईं मेसिनले बनाएको कफी सुकाउन पाउनुहुन्छ। कफीको नयाँ आउटलेट राखेर कफी पारखीको तलतल मेटेका छन्, आकाशले। वुडन र रक कम्बिनेसन गरेर डेकोरेसन गरेका छन्। ‘अहिले नेपालीमा कफीको ट्रेण्ड पनि छ। जानिनजानि सुरु गरेको छु,’ उनी भन्छन्।
पहाडै पहाडले घेरिएर खोँचमा अवस्थित हिमालयमा एउटै समस्या नेटवर्कको छ। जाडो ठाउँमा कठिन त हुन्छ नै ! इन्टरनेटको पहुँच पुगे पनि मौसम खराब भए नेटवर्कले कामै गर्दैन।
हिमालयमा बिजुली बत्तिको सुविधा भने छ। व्यवसायीको आफ्नै पहलमा प्राइभेट हाइड्रो बनेका छन्। बाबाको आँटले हाइड्रो पावर सानै भए पनि खडा गर्न सफल भएको आकाश सुनाउँछन्।
‘फाइनान्सियल्ली बलियो नहुँदा पनि आँट गरेर बाबाले गर्नुभयो। हिमालयमा अलिअन्तिममा आएको हो बत्ति। एउटैले गर्न सक्दैन। वरिपरिको होटल मिल्न पर्यो,’ उनले सुनाए।
हिमालयमा बत्ती आउँदा दुई वटा मात्र होटल थिए। अहिले थपिएर तीन वटा छन्। हाइड्रो पावर बनाउँदा अर्को होटलको सहयोग नपाएकोमा भने आकाशको चित्त दुखाई छ। होटल धनी जापानमा भएकाले हाइड्रो बनाउन खासै चासो दिएका थिएनन् रे ! ‘यहाँ दुई वटा होटल मात्र थियो। अर्को होटलको दाइ जापान। उहाँ नभएपछि वास्ता पनि भएन। खास चाहिएको त हामीलाई थियो। उहाँको सर्पोट नभएपछि बाबा एक्लैले आँटेर सुरु गर्नुभएको हो,’ उनले सुनाए।
हाइड्रो पावर बनाउन ४, ५ महिनाअघिदेखि बजेटदेखि सर्भे लगायतका काम गर्नुपर्छ। सबै काम सकाएर रेडी हुनुपर्यो। ‘त्यति गर्दासम्म पनि माथिल्लो होटलको सहयोग भएन। हेलिकप्टरबाट ढुवानी गरियो। त्यतिबेलासम्म हेलिकप्टरको रेस्क्यु गर्नेमात्र काम हुन्थ्यो। सबै रेडी हुँदा बल्ल माथिको होटल मिल्न आएको हो,’ उनी भन्छन्।
जम्मा ११ किलोवाट क्षमताको हाइड्रोबाट ७ किलोवाट बिजुली निस्किन्छ। त्यसैबाट तीन होटलले बाँडेका छन्।
आफ्नै ठाउँमा केही गरौं भन्ने सोचेर गाउँ फर्की आएका आकाशलाई हेलिकप्टर व्यवसायीले अँटेर गरेर उडान भरेको भने कत्ति मन परेको छैन। शान्त एबिसीलाई हेलिकप्टरको कर्कश आवाजले अशान्त त पारेको छ नै ! आकाशको मन पनि अशान्त बनाउँछ।