म एसएलसी सक्काएर पूर्व भोजपुर हानिएँ। पहिलो पटक निस्केको थिएँ म रोल्पाबाट टाढाको यात्रामा। १७ हजार रुपैयाँ थमाइदिएर बाबाले पढ्न पठाउनु भयो। त्योबेला भोजपुर कसरी कुन बाटो जाने भन्ने मेरो बाबामात्र होइन, गाउँको कसैलाई थाहा थिएन।
भालेको डाकोसँगै उठेर बाबाले झण्डै तीन घण्टाको बाटो हिँडेपछि गाडी चढ्न जुगारसम्म पुर्याउनु भयो। म ट्याक्सीको छतमा चढेर तुलसीपुरबाट काँकडभित्ताको गाडीमा इटहरीबाट धरान हुँदै भोजपुरको यात्रामा लागेसी पूर्वेली बोलीमा पूर्वेली दाइहरूको मिठो गफ सुन्दै चुप थिएँ म।
मसँगै बस्नु भएको दाइले सोध्नु भयो, 'भाइको घर कता?'
मैले नि एक शब्दमा जवाफ दिएँ, 'रोल्पा।'
दाइ आश्चर्यचकित भएर मेरोभन्दा ठूलो स्वरमा बोल्नुभयो, 'रोल्पा!'
म बसेको वरिपरि सिटमा यात्रीहरू आफ्ना कुरा रोकेर मतिर हेर्न थाले कि म अर्कै ग्रहबाट आएको एलियनजस्तै। त्यत्तिकैमा पारिपट्टिको सिटमा बसेको दाइले सोधे, 'बन्दुक चलाउन आउँछ होला नि भाइ?'