बराहताल गाउँपालिका-७, लामाखालीका कुलबहादुर विक चार वर्ष अघिसम्म भारतमा काम गर्थे। १७ वर्षकै उमेरमा भारत गएका उनले तीन वर्ष मुम्बईमा ‘कुक’ को काम गरे।
महिनाको आठ हजार भारुमा हेल्परबाट सुरु गरेका उनी ६ महिना काम गरेपछि कुक बनेका थिए। हेल्परको काम गर्दा भाँडा माँझ्नेदेखि भान्साको सबै काम गर्थे।
तीन वर्ष काम गरेपछि कुलबहादुरको तलब १५ हजार पुग्यो। तलब त बढ्यो तर समयमा कहिल्यै पाएनन्। कहिले दुई त कहिले ६ महिनामा तलब पाउँथे। कामको भने कुनै समयसीमा नै हुँदैनथ्यो।
बिहान ८ बजेदेखि राति १ बजेसम्म पनि काम गर्ने उनी दैनिक चार सय जनासम्मलाई खाजा र खाना खुवाउँथे। समयमा सुत्न पाउनु त परको कुरा, खानाको पनि ठेगान हुँदैनथ्यो। यी सबै कष्ट काटेर पनि काम गरिरहँदा कुलबहादुरले कहिल्यै पनि मालिकबाट जस पाएनन्।
जति काम गरे पनि नेपाली कामदारलाई मालिकले हेर्ने दृष्टिकोण नै फरक। बेलाबेला कराएर होसै उडाउने, पिट्न खोज्ने जस्ता मालिकको व्यवहारले वाक्कदिक्क भएका कुलबहादुरले अन्ततः त्यहाँ काम नगर्ने निर्णय लिए।