फिल्ममा अभिनेता बन्नुअघि खगेन्द्र लामिछाने लेखक थिए। स्कुल पढ्दा कलाकार त त्यस्तै हो, लेखकसम्म बन्न सक्छु भन्ने सोच्थे उनी। जानि नजानि कविता, कथाहरु कोर्थे। त्यस्तै ५० को दशकतिर हुनुपर्छ, प्लस टु पढ्न पोखरा आएका खगेन्द्रले उपन्यास लेखे। उपन्यास थियो ‘परदेशिएका नेपालीको मन’।
लामिछानले उपन्यास लेखेनन् मात्र, उपन्यासको पाण्डुलिपी बोकेर साहित्यकार सरुभक्त कहाँ पुगे। पाण्डुलिपी देखाए। पाण्डुलिपी पढेर छाप्न योग्य भए नभएको प्रतिक्रिया मागे।
त्यो बेला खगेन्द्रको उमेर कति नै पुगेको थियो र ! ओठामाथि जुँगाको रेखी पनि बस्न पाएको थिएन। सरुभक्तले पाण्डुलिपी पढेर पाण्डुलिपी पुर्नलेखन गर्नुपर्ने सुझाए। पुर्नलेखन गरेपछि मात्र छाप्न योग्य हुन सक्ने प्रतिक्रिया पाए। जुन आंकाक्षा बोकेर खगेन्द्र सरुभक्त कहाँ पुगेका थिएँ। त्यो त पूरा भएन नै ! उनको अहममा ठूलो चोट पर्यो। सुरुभक्तले यसो भनेर नयाँ पुस्तालाई साहित्यमा आउने ढोका नै बन्द गरिदिएको खगेन्द्रले ठहर्याए।
खगेन्द्र पनि के कम ?
स्याङ्जादेखि पढ्न पोखरा आउने बेला घरबाट लगाइ दिएको सुनको सिक्री नै बेचेर उपन्यास छापे। आफ्नै लगानीमा उपन्यास छापेर बजारमा ल्याए। केही थान बिक्रि पनि गरे। तर, अपसोच खगेन्द्रको कृतिको एउटै प्रति उनीसँग छैन। किताब प्रकाशन भएको केही समयपछि उनले किताब जलाएर खरानी पारे।
किन ?
‘सिर्जना गर्नेहरु निर्मम हुनु पनि पर्दो रहेछ। आफ्नाे सिर्जना आफैंलाई मास्र्टस पिस लाग्दो रहेछ,’ खगेन्द्रले सुनाए,‘नयाँ आउन लागेका पुस्तालाई रोक्न खोज्दै हुनुहुन्छ भनेर मैले सिक्री बेचेर किताब छापे।’
साहित्यवृतमा बेलाबेला खगेन्द्रको यो प्रसंग उप्किरहन्छ। शनिबार पोखरा थियटरको गन्धर्व नाटक घरमा आयोजित ‘गफ कन्र्सट’मा कलाकार तथा लेखक खगेन्द्र लामिछानेले अन्तर्य खोले।
पछि, उनलाई आफ्नै कृति मन परेन। अनि, जलाएर खरानी पारे। बेलाबेला साथीभाइ जमघटमा यो प्रसंग उप्किन्छ। खगेन्द्रको पहिलो कृतिबारे सोध्दा उनको जवाफ हुने गर्छ। मैले जलाई सकें। म सँग एक प्रति पनि छैन।
तर, उनको उपन्यासको प्रति साहित्यकार सरुभक्तले अझैंसम्म सुरक्षीत राखेका छन्। खगेन्द्रसँगको भेटघाटमा सरुभक्तले उनको कृति सुरक्षीत राखेको बताउँछन्। उनको यही प्रसंगलाई लिएर हाँसीमजाक पनि चल्छ।
पहिलो कृति जलाएर खरानी पारेकोमा खगेन्द्रलाई कुनै पश्चताप छैन। बरु, लेखनमा थप उर्जा मिल्छ रे ! त्यसपछि उनको कथा संग्रह ‘फूलानी’ ‘पानीफोटो’ र अन्य कथानाटकहरु प्रकाशित छन्। पशुपतिप्रसाद, टलक जंग भर्सेज टुल्के, बधशाला खगेन्द्रका चर्चित फिल्म हुन्। जीवनलाई निश्फिक्रि छाडेका खगेन्द्र आफ्नै कारण बाँगोटिंगो हिँड्ने ठान्छन्। उनीसँग सहजकर्ता सुरेश रानभाट गफिएका थिए।