पातलो ज्यान। निन्याउरो अनुहार। काठमाडौंको ठिही छल्न रातो कुर्तामाथि पातलो ज्याकेट लगाएकी थिइन्।
छड्के भिरेको झोला हातले सम्हालिरहेकी उनी बेचैन देखिन्थिन्।
'मलाई छोरो पढाउनु छ। महिनामा दस/पन्ध्र हजारको काम कतै पाइन्छ कि भनेर खोज्दैछु,' मसिनो स्वरमा बोलिन्, 'नभए यत्तिकै लागि विदेश जानुपर्छ। त्यो पनि अवैध रूपमा।'
उनी मैयाँ तामाङ (परिवर्तित नाम) हुन्। ३५ वर्षीया मैयाँको घर सिन्धुपाल्चोक हो। हिजोआज काठमाडौंमा आफन्तको डेरामा अल्झिएकी छन्।
आठ कक्षा पढिरहेका उनका छोरा होस्टल बस्छन्। तिनै छोरा पढाउन उनी दौडधूप गरिरहेकी हुन्। यहीँ काम पाउन मुश्किल भएपछि उनी भारत हुँदै इराक जाने योजनामा छिन्।
'यहीँ छोरा पढाउन सक्ने गरी नियमित पैसा पाइने काम भए किन जान्थेँ होला र,' उनले भनिन्।
उसो त उनी पहिलोपटक यसरी अवैध रूपमा विदेशिन लागेकी होइनन्। एक दशक भयो, उनको घर खर्च परदेशको कमाइले धानेको।