बीसौं शताब्दीको पहिलो दशकसम्म लन्डन तथा न्यूयोर्कमा सहरी यातायातको साधन घोडाले तान्ने बस, ट्राम र टाँगा आदि हुन्थ्यो। सन् १९०० मा न्यूयोर्कमा दुई-चार वटा मात्र देखिने मोटरगाडीले सन् १९१३ मा घोडसवारीलाई पूर्णत: विस्थापित गर्यो।
सन् १८९० को दशकमा लन्डन र न्यूयोर्कको वातावरणीय समस्या घोडाको लादी व्यवस्थापन हुन्थ्यो। सन् १८९४ लाई त 'दि ग्रेट हर्स म्यानर क्राइसिस' भनी घोषणा गरियो। सन् १८९८ मा न्यूयोर्कमा भएको सहरी योजनासम्बन्धी प्रथम अन्तरार्ष्ट्रिय सम्मेलनको प्रमुख एजेन्डा घोडाको लादी व्यवस्थापन नै थियो। तर उक्त सम्मेलनले पनि समाधानको उपाय पहिल्याउन सकेन। करिब एक दशकमै इन्धनचालित मोटरगाडीको व्यापकताले उक्त समस्या स्वत: समाधान भयो।
प्रविधि विकास र उपयोगको ग्राफ करिब अंग्रेजी अक्षर 'एस' को आकारमा बन्छ। अर्थात् पहिले विस्तारै विकास भई एकैपटक स्वाट्टै बढेपछि संतृप्तीको अवस्था (स्याचुरेसन) मा पुग्छ। करिब एक सय वर्षअघि घोडाको लादी सहरी वातावरणीय समस्या थियो। आज जैविक इन्धनचालित गाडी प्रदूषणको कारक छ। विद्युतीय गाडीले यो समस्या छिट्टै समाधान गर्नेछ। यसरी छोटै अवधिमा प्रविधिले ल्याउने परिवर्तनलाई प्राविधिक हलचल (टेक्नोलोजिकल डिसरप्सन) भनिन्छ।