अमेरिकामा ह्यारी भण्डारी: राजनीतिमा कीर्तिमानधारी, शिक्षामा विद्यावारिधि

डा. प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकी मूलधारे राजनीतिको नेपाली अनुहार ह्यारी भण्डारीले अर्को एउटा नयाँ परिचय थपेका छन्, डा. ह्यारी भण्डारी। युनिभर्सिटी अफ मेरिल्याण्ड (युएमवीसी)बाट ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा विद्यावारिधि गरेपछि उनको यो नयाँ परिचय थपिएको हो।

मंगलबार अपरान्ह विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए. ह्रयास्बोले उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरे। भण्डारीलाई डाक्टर भण्डारीका रूपमा परिचय गराउँदै प्रेसिडेन्ट ह्रयास्बोस्कीले भने, ‘मेरिल्याण्ड राज्य संसदका एक प्रभावकारी डेलिगेट भण्डारी संसदमा भएका थोरै विद्यावारिधि गर्नेमध्ये एक हुन्। उनले आफ्नो समुदायसँग सम्बन्धित विषयमा अनुसन्धान गरेर आफ्नो समुदायप्रति गुण त लगाए नै, अमेरिकी प्राज्ञिक क्षेत्रलाई पनि नयाँ विषयमा प्रवेश गराएका छन्। यसका लागि विश्वविद्यालय उनीप्रति सदैव आभारी रहनेछ।‘  प्रेसिडेन्ट ह्रयास्बोस्की अमेरिकाको प्राज्ञिक क्षेत्रकै एक सम्मानित व्यक्तित्व हुन्।   

दीक्षान्त समारोहपछि ब्रेक एन लिंक्ससँग कुरा गर्दै भण्डारीले आफ्नो एक प्रिय सपना विपना भएकोमा  खुशी व्यक्त गरे। नेपाली पहिरनमा दीक्षित भएका डा. भण्डारीले भने, ‘म यसको श्रेय मेरो जन्मभूमि नेपाल र मेरो कर्मभूमी अमेरिका अनि यहाँ रहेका सबै नेपालीमा सरोबरी बाँड्न चाहन्छु।‘

‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा गरिएको शोधका कारण पनि उनको विद्यावारिधि अमेरिकामा रहेका नेपालिका लागि महत्वपूर्ण छ। उनले पनि महत्व हुने भएकाले आफूले त्यो विषय छानेको बताउँदै अगाडि भने, ‘मैले अमेरिकामा रहेका नेपालीको राजनीतिक सहभागिता र भाषिक एकीकरणका विविध पक्षमाथि मिहीन अध्ययन गरेर केही फरकखाले निस्कर्ष निकालेको छु। निस्कर्षले अमेरिकी संस्थापनलाई अमेरिकामा रहेका नेपालीलाई हेर्ने झ्याल मात्र हैन, ढोका पनि खोलिदिएको छ भन्ने मलाई लागेको छ।‘ 

अमेरिकामा रहेका नेपालीलगायतका एसियाली अल्पसंख्यकलाई एउटै बास्केटमा राखेर सोलोडोलो किसिमले हेर्ने दृष्टिकोणमाथि आफ्नो अनुसन्धानले चुनौति खडा गरिदिएको बताउँदै उनले अगाडि भने, ‘अमेरिकी संस्थापनले एसियाली अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सही छैन। उनीहरू एसियाली अमेरिकीमा रहेको विविधताका बारेमा अनविज्ञ छन्। सबैलाई उनीहरू धनी, बाठा, शिक्षित ठान्छन्। तर, मेरो अध्ययनले त्योभन्दा फरक तस्बिर देखाएको छ।‘

आभारी छु, कृतज्ञ छु

आज म विनम्रतापूर्वक एउटा खुशीको खबर सुनाउन लागिरहेको छु- अन्तत: मैले विद्यावारिधि (पी.एचडी.) गरेँ। यसका लागि म त मात्र निमित्त हुँ। यो सबै तपाईंहरूको सहयोग, साथ र शुभकामनाले आर्जेको साझा उपलव्धी हो । म यहाँहरू सबैलाई यो उपलव्धीको हकदार ठान्छु र यसको श्रेय सबैमा सरोबरी बाँड्न चाहन्छु ।

मेरो विद्यावारिधिको विषय ‘अमेरिकी नेपालीहरूको राजनीतिक सहभागिता तथा भाषिक एकीकरण’ हो । अमेरिकामा रहेका हामी सबै नेपाली अमेरिकीहरूको साझा चासोको विषयको अध्ययनबाट केही अपत्यारिला तर गम्भीर निष्कर्षहरू पाइएको छ। जसले हामी आफैंलाई चिहाउने सानो झ्याल दिएको छ भने अमेरिकी सरकारलाई त हामीलाई हेर्ने ऐना नै दिएको छ। समयक्रममा यसका उपलव्धीहरू हामी साझा गर्ने नै छौं ।
अमेरिकामा आएपछि हामीले मूलत: यहीको राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता रहदै आएको छ । त्यही मान्यतालाई प्राज्ञिक कोणबाट हेर्न/हेराउन मेरो अध्ययनले ठूलो महत्व राख्दछ ।यहाँहरूले गर्नुभएको मायाले मलाई प्राप्त भएको पहिलो नेपाली अमेरिकी डेलिगेटको परिचयलाई यो उपलव्धीले थप विश्वसनीय, आधिकारिक र ओजपूर्ण बनाउने छ भन्ने मेरो विश्वास हो। घरदेशका हौं या परदेशका कहींका पनि नेपालीले शीर उठाएर बाँच्नुपर्छ । म मेरो कर्मबाट आफूलाई पनि र अरू कसैलाई पनि त्यस्तो हुने वातावरण बनाउन हरदिन प्रयत्न गर्ने नै छु ।

यहाँहरूको साथ, सहयोग र सद्भावको अपेक्षासहित,

एच बि भण्डारी

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ का डेमोक्रेट डेलिगेट भण्डारी अमेरिकी मूलधारको राजनीतिमा यो मानक उपलव्धी हासिल गर्ने पहिलो नेपाली-अमेरिकी हुन्। अमेरिकामा रहेको एसियाली अल्पसंख्यकमा पनि सीमान्तकृत बनाइएको नेपाली मूलको प्रतिनिधित्व गर्ने उनलाई यो प्राज्ञिक उपलव्धीले एक अनुसन्धानकर्ता-राजनीतिकर्मीका रूपमा परिचय मिलेको छ। यसले सिर्जना गर्ने विश्वसनियता र आधिकारिकताले डेलिगेट भण्डारीको अमेरिकी सार्वजनिक जीवनमा ठूलो अर्थ राख्छ।

डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य भण्डारी अमेरिकामा एसियन अमेरिकन तथा प्यासिफिक आइजल्याण्डरहरूको छाता संस्था एएपीआईको तर्फबाट मेरिल्याण्ड राज्यको दुबै संसदमा उपाध्यक्ष पनि हुन्। पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा रहेका डेलिगेट भण्डारीले अर्को वर्षको नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्। अब भण्डारी डाक्टर भण्डारीको रूपमा घरदैलोमा जानेछन्। यसले उनलाई ब्राण्डिङ गर्न थप युनिक सेलिङ पोइन्ट मिल्नेछ।

अमेरिकामा पनि पेशाले शिक्षक डा. भण्डारी २००५ अक्टोबरमा अमेरिका आउनुअघि नेपालमा पनि शिक्षण पेशामै थिए।  नेपालको पर्वतमा जन्मेका उनले आफ्नै हजुरबुबाले गाउँमा स्थापना गरेको सरकारी विद्यालयबाट कखरा सुरू गरेका थिए। गाउँमै माध्यामिक शिक्षा पूरा गरेर पोखरा रेका उनले काठमाडौ पुगेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरे। विश्वप्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा समेत अध्ययन गरेका भण्डारीले पीएचडी भने युनिभर्सिटी अफ मेरिल्याण्डबाट गरे।  

अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढेका भण्डारी सुरूदेखि नै नेपाली अमेरिकीले यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने पैरवी गर्दैआएका छन् ।

प्रकाशित मिति: : 2021-12-22 05:44:00

प्रतिकृया दिनुहोस्