वासिङ्टन डीसीमै अड्कियो अमेरिकाका लागि नेपाली राजदूतको एग्रिमो

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका  
File Photo
File Photo

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा चिसोको पारो चढ्दै जाँदा नयाँ नेपाली राजदूत आगमनको प्रतीक्षा पनि बढ्दो छ। डा. युवराज खतिवडालाई फिर्ता गर्दै नियुक्त गरिएका राजदूत डा. श्रीधर खत्रीले संसदीय सुनुवाइको खड्को पार गरे उनको एग्रिमो अझै काठमाडौंमै पुगेको छैन।

उता नेपालको संसदमा एमसीसी अड्केको बेला यता वासिङ्टन डीसीमा नेपाली राजदूतको एग्रिमो अड्केको छ। एकथरि राजनीतिक पर्यवेक्षकहरू यसलाई संजोग मात्र मान्न नसकिने बताइरहेका छन्।

अमेरिका कूटनीतिक दृष्टिकोणबाट नेपालका लागि सदैव उच्च प्राथमिकतामा रहदै आएको छ। त्यसैले यहाँ सधैं हाइप्रोफाइल राजदूत नै पठाइने गरिएको छ। तर, त्यो हाइप्रोफाइल कहिले पहुँचको आधारमा त कहिले योग्यताका आधारमा हुने गर्छ। त्यति भएर मात्र पुग्दैन, प्रस्तावित राजदूत अमेरिकाको गुड बुकमा पनि परेको हुनुपर्छ। अन्यथा, एग्रिमो काठमाडौं नै पुग्दैन।

नेपालको संसदमा एमसीसी अड्किरहेको बेला वासिङ्टन डीसीमा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. श्रीधर खत्रीको एग्रिमो जाममा परेको छ । एकथरि राजनीतिक पर्यवेक्षकहरू यसलाई संजोग मात्र मान्न नसकिने बताइरहेका छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूतको एग्रिमो अड्किनु भनेको सुखद संकेत मानिदैन। त्यसैले नेपाल सरकारले नियुक्ति गर्नुअघि नै विभिन्न चरणमा पृष्ठभूमी स्क्रिनिङका गरेर अमेरिकी राजदूताबासको कूटनीतिक च्यानलबाट पनि ग्रीन सिग्नल लिने गर्छ ।

योग्यता र पृष्ठभूमिका हिसाबले डा. खत्री एग्रिमो रोकिनुपर्ने कोटिमा पर्दैनन्। तर, पनि उनको एग्रिमो जाममा परेको छ। यसैले पनि यसलाई एमसीसीसँग जोडेर हेर्ने शंकाको सुविधा मिलेको हो।  

अमेरिकाको नेपाली डायस्पोराले भने डा. खत्रीको आगमनको प्रतीक्षा गरिरहेको छ। त्यसमा पनि नेपाली कांग्रेस निकट नेपालीमा त यो प्रतिक्षा अलि व्यग्र नै छ।

राजनीतिक रूपमै चिरा फाँटेको अमेरिकाको नेपाली डायस्पोराले धेरै वर्ष भयो कांग्रेसी पृषठभूमिको राजदूत नपाएको। यसअघि १७औं र १८औं राजदूतका रूपमा  क्रमश: डा. अर्जुन कार्की र डा. युवराज खतिवडा दुबै वामपन्थी पृष्ठभूमिका राजदूत अमेरिका आएका थिए। त्यसअघि राजदूत रहेका डा. शंकर शर्मा पछिल्लो लटमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका छन्।

प्रकाशित मिति: : 2021-12-21 05:59:00

प्रतिकृया दिनुहोस्