रामेछापको सुनापति गाउँपालिका स्थायी घर भएका तेज लामाले सानै छँदा जानेका हुन्, थाङ्का लेख्न।
उनी १० वर्षको हुँदा राम्ररी थाङ्का बनाउने भइसकेका थिए। तेजको पुुस्तौनी पेशा हो, थाङका कोर्नु।
सानु छँदा उनले हजुरबुुबा र बाले थाङ्का लेखेको देख्थे। अनि टोलाएर हेरिरहन्थे।
‘उहाँहरुले थाङ्का लेखेको देख्थेँ, अनि मलाई पनि त्यस्तै लेख्न मन लाग्थ्योँ’, विगत सम्झदै उनले बिएल नेपाली सेवासँग भने।
तेजको परिवार नै थाङ्का बनाउँथ्यो। त्यसैले उनी थाङ्कामा रमाउने गर्थे। तेजलाई पढाइमा भन्दा बढी थाङ्का लेख्नमा नै रुचि थियो। त्यसैले उनले एसएलसी पढ्दै गर्दा स्कुल छाडे। अनि थाङ्का लेख्नमा चासो देखाए।
उनले थाङ्का लेख्न थाले, २०६३ सालमा। उनले परिवारकै सहयोगमा थाङका लेख्न सुरु गरेका थिए। उनलाई साथ थियो, दाजु र भतिजाको।
सेतो कपडा, कुची अनि थरिथरिका रङ्ग। थाङ्काका लागि उनले खरीद गरेका सामान।
गाउँमै व्यवसाय सुरु गरेका उनले काठमाडौंमा गएर यसलाई अघि बढाउने सोचे। अनि भक्तपुरको सूर्य विनायकमा ‘लामा थाङ्का आट्र्स’ नामको पसल खोले।
सुरुवाती दिनहरुमै व्यापारमा प्रगति भएको उनले बताए। उनीकहाँ थाङ्का किन्न बौद्धध धर्मावलम्बीहरुको बढी भीड लागेको उनलाई अझै याद छ।
‘थाङ्काको सम्बन्ध भगवान बुद्धसँग हुने भएकाले यसलाई बौद्धधमार्गीहरुले बढी किन्ने गर्छन्’, उनले भने, ‘बौद्धधमार्गीहरुले पूजाकोठामा थाङ्का चित्रलाई राख्ने गर्छन्।’
आफूले बनाएका थाङ्काले गुम्बासमेत सजाइने गरेको उनले बताए। ‘हामीले बनाएका थाङ्कालाई लामाका गुम्बामा पनि राख्ने गरिन्छ’, उनले भने।
हेर्दै राम्रो देखिने रङ्गीचङ्गीका थाङकालाई घरको भित्ता सजाउन पनि प्रयोग गर्नेगरेको उनले सुनाए। ‘कसैलाई थाङका चित्रहरु मनपर्ने गर्छ। त्यसैले घरका भित्तामा सजाउनका लागि झुण्डाउने गर्छन्’, उनले भने।
आफूले बनाएका थाङ्का सम्पर्कका आधारमा बेच्ने गर्छन्। स्वदेशमा मात्र नभई उनका थाङका विदेशमा समेत लैजाने गर्छन्। ‘अधिकांश पसलहरुले हाम्रोबाट सस्तोमा थाङ्का किन्छन्, अनि बाहिर बेच्दा महँगो मूल्यमा बेचिदिन्छन्’, उनले भने, ‘विदेशीले पनि उत्तिकै किनिरहेका हुन्छन्।’
थाङ्का लेख्न धेरै मेहनत चाहिन्छ भन्ने उनले जो–कसैले थाङ्का कोर्न नसक्ने बताए। ‘थाङ्का लेख्न लेख्छु मात्र भनेर हुँदैन, यसमा धेरै पसिना बगाउनुपर्छ’ उनले भने।
थाङ्कामा भएका चित्रहरुले फरक–फरक अर्थ दिने तेजको भनाइ छ। ‘थाङ्का चित्रले अर्थ दिने गर्छ तर कसैले बुझ्दैनन्– चित्रभित्र लकेको रहस्यमय कथा’, आफूले बनाएका थाङका देखाउँदै उनले भने।
आफ्नो पेशामा आम्दानी भए तापनि जोखिमपूर्ण रहेको उनले बताए। यो काममा लागेका मानिसको आँखामा समस्या आउने तेजले बताए। ‘थाङ्का कोर्न कहाँ सजिलो हुन्छ र? आँखा कमजोर बनाउँछ’, उनले आफ्नो अनुभव सुनाउँदै भने।
तेजकहाँ थाङ्का लेख्न सिक्न आएका अहिले १०।१५ जना प्रशिक्षार्थी छन्। जसलाई उनले नै तालिम दिइरहेका छन्। उनी सिक्न आउने मानिसलाई थाङका लेख्न अनि त्यसमा ‘सुन’ (सुनको जलप) भर्न सिकाउँछन्। जसको मूल्य लाखौँ रुपैयाँ पर्ने उनले बताए। आफूले गर्दैआएको पेशा सिकेमा कहिल्यै दुःख नहुने उनको विश्वास छ।
‘थाङका लेख्न जति गाह्रो छ, कमाइ पनि उस्तै हुन्छ । यो काम गरेपछि कहिले पैसाको आवश्यक हुँदैन’, उनले भने। नेपालमा कोरोना महामारीको त्राश फैलिँदा जनजीवन अस्तव्यस्त बन्यो। अनि लकडाउन भयो। कोहीँ कामबिहीन भए । कोहीँ खान नपाएर सडकमै आए तर तेजलाई भने यस्तो विश्वव्यापी महामारीको कुनै असर परेन। उनलाई आफ्नै कामको चटारो थियो।
‘घरभित्रै बसेर गर्ने काम हो। त्यसैले जत्ति लकडाउन भए पनि मेरो पेशामा भने केहीँ अप्ठारो आउँदैन’, उनले भने, ‘त्यत्ति कुरामा ढुक्क छु।’ आफूले देशलाई विदेशमा समेत चिनाउने काम गरे तापनि सरकारले भने वास्ता नगरेको उनको गुनासो छ। उनले भने, ‘सरकारले हामी कलाकारलाई अनि हाम्रा कलालाई सम्मान गर्नुपर्छ।’